संसद् अधिवेशनको सबै तयारी पूरा : सचिवालय

हिमाल प्रेस २४ पुष २०७९ १९:०२
4
SHARES
संसद् अधिवेशनको सबै तयारी पूरा : सचिवालय

काठमाडौँ– सोमबार (भोलि) अपरान्ह १ बजेका लागि आह्वान गरिएको संघीय संसद्को पहिलो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। संघीय संसद सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले संघीय संसदको पहिलो अधिवेशनको सबै तयारी पूरा पूरा भएको जानकारी दिए।

अधिवेशनका लागि आवश्यक प्रशासनिक, व्यवस्थापकीय र प्राधिविक पक्षका सबै कामहरू पूरा गरिएको उनले बताए। संघीय संसदअन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैको बैठक भोलि एकसाथ बस्दैछ। प्रतिनिधिसभा बैठकका लागि सर्वदलीय बैठक र राष्ट्रियसभा बैठकका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर पहिलो अधिवेशनका लागि आवश्यक निर्णय गरिएको र सोही बैठकको निर्णयअनुसार संघीय संसद् सचिवालयले आवश्यक व्यवस्था मिलाएको सहायक प्रवक्ता धमलाको भनाइ छ।

‘भोलिदेखि संघीय संसद्को अधिवेशन सुरु हुँदैछ। दुवै सभाका बैठकहरू १ बजेबाट एकसाथ सुरु हुन्छन्। सचिवालयले यसका लागि सबै तयारी पूरा गरेको छ। यस पटक केही नयाँ दलहरू पनि निर्वाचित भएर आएको अवस्था छ,’ उनले भने,’ माननीयज्यूहरूलाई आवश्यक पर्ने सवारी साधनलगायत स्रोत सामग्रीबारे सरकारसँग त्यसबारे पहल गरिरहेका छौं। माग गरेका छौं।’

स्रोत, साधनको आधारमा भवनहरू बनाउन सकिने अवस्था रहेको बताउँदै उनले साजसज्जा, सरसफाइ र अधिवेशनअघि र पछिको सम्पूर्ण तयारी भएको उनले जानकारी दिए।

संघीय संसद सचिवालयले सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरूलाई दलीय प्रतिनिधित्वको आधारमा बस्न मिल्ने गरी सिटको व्यवस्था गरिएको पनि जानकारी गराएको छ। तर स्थान अभावका कारण सबै दलका संसदीय दलका नेताहरूलाई पहिलो लहरमा राख्ने गरी सिटको व्यवस्था भने गर्न नसकिएको सहायक प्रवक्ता धमलाले बताए।

अधिवेशनमा सबै दलका संसदीय दलका नेताहरूले बोल्ने कार्यसूची तय गरिएको छ। संघीय संसदमा सांसदहरूका लागि ईहाजिरी गर्ने व्यवस्था मिलाइएको छ। भोलिबाट परीक्षणका लागि राष्ट्रियसभामा सुरु हुने र परीक्षण पछि दुवै सदनमा त्यसलाई लागू गर्ने योजना तय गरिएको पनि संघीय संसद सचिवालयले जनाएको छ।

प्रकाशित: २४ पुष २०७९ १९:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + twelve =