महोत्तरीका थारु र मगर बस्तीमा माघेसंक्रान्तिको चहलपहल

पूजाविशेष सामग्री बजारमा सर्वसाधरणको भिड

हिमाल प्रेस २१ पुष २०७९ १६:३४
8
SHARES
महोत्तरीका थारु र मगर बस्तीमा माघेसंक्रान्तिको चहलपहल फाइल तस्बिर।

महोत्तरी– मधेसमा माघेसंक्रान्ति पर्व नजिकिएसँगै यहाँका आदिवासी थारु र मगर समुदायको बस्तीमा चहलपहल बढेको छ। पर्वको तयारीमा हिन्दू धर्मावलम्बी अन्य जातजाति सबै लागे पनि यसलाई मुख्य पर्व नै मान्ने तराईका आदिवासी थारु र मगर बस्तीमा यो पर्वको चहलपहल बढेको हो। महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रको बोलीचालीमा यो पर्वलाई ‘तिलासक्रायत’ र ‘मकर सक्रायत’ पनि भनिन्छ।

यस भेगका थारु बस्तीमा अहिले पर्वका लागि सबै आफ्नो सावगासअनुसार माछाको सिद्रा, खसी, हाँस, कुखुरासहितका मासु परिकारको जोहो भइरहेको छ। पर्वमा मासु खास परिकार बन्ने भएपछि थारु बस्तीमा केही दिन पहिलेदेखि नै यसको जोहोको तयारी बढेको हो। हुनेखानेले तत्काल पर्व सामग्रीको बन्दोबस्त गरे पनि गरिब किसानका लागि केही दिन पहिलेदेखि नै तयारीले तताउने गर्छ। अहिले बाक्लो हुस्सुले डम्म ढाकेर चिसो निकै बढे पनि थारु बस्ती भने पर्वको चहलपहलमा लागिसकेका छन्।

छोरीचेली, ज्वाँइचेला, भाञ्जाभाञ्जी र नजिकी इष्टमित्र पर्वमा डाकिने थारु जातिको परम्परा छ। ‘अब पवनी (पर्व) आई त हाल्यो’ धमाधम चिउराका लागि धान निफन्न व्यस्त भंगाहा नगरपालिका-७ मेघरोलकी नगिनासिंह थारु भन्छन्, ‘सबै कुराको जोगार (जोहो) मा लाग्नु पर्‍यो नि।’ पर्व नजिकिएसँगै थारु बस्तीका घरघरैजसो सरदाम (पर्वका लागि आवश्यक वस्तु) जुटाउने चटारो बढेको नगिना बताउँछन्।

यस्तै जिल्लाको बर्दिवास, औरही र गौशाला नगरपालिका क्षेत्रमा सघन बसोबास रहेका मगर समुदायमा पनि माघेसंक्रान्ति पर्वको तयारी बढेको छ। मगर जातिमा पनि माघेसंक्रान्ति पर्वमा छोरीचेली, ज्वाँइचेला, भाञ्जाभाञ्जी र मितमितिनी र नजिकी इष्टमित्रलाई चाडमा डाक्ने चलन छ। महोत्तरीका उत्तरीक्षेत्रका बर्दिबास र गौशाला नगरपालिकाका सबैजसो बस्तीमा मगर समुदायको बाक्लो बसोबास छ।

यसैगरी बर्दिबासका केही बस्ती, गौशाला, भंगाहा र रामगोपालपुर नगरपालिका क्षेत्रमा थारु बसोबासको बाहुल्यता छ। पर्व नजिकिँदै गर्दा थारु र मगर बस्तीमा टाढाटाढा काममा गएका घर फर्किन थालेका छन्। जिल्लामा भंगाहा नगरपालिकाका सबैजसो बस्ती थारु बसोबास बाहुल्यताका छन् भने गौशाला नगरपालिकाका निगौल, बिसरपुर, बर्दिबासको मेघरोल र रामगोपालपुर नगरपालिकाको विश्वम्भरपुरमा थारु बसोबासका बस्ती हुन्।

थारु र मगरबाहेक हिन्दू परम्परा मान्ने अन्य जातजातिमा पनि यो पर्वको तयारी बढेको छ। पर्व नजिकिँदै गर्दा बजारमा पर्व विशेषका सामग्रीको बजार जमेको छ। यो पर्वमा खास महत्त्वको मानिने तिल, सख्खर (मिठ्ठा), चिउरा र मुरीको बजार बाक्लै जमेका छन्। पर्वका लागि केही दिन पहिलेदेखि नै तील, चिउरा, मुरी (विशेष प्रकारको चामलबाट बनाइने भुजा) र जुनेलो (अन्न विशेष) भुटेर सख्खरको खुँदोमा मिसाइलाई (लड्डु) बनाउने परम्परा छ। यसमा सबैभन्दा बढी तयारी तीलको लाईका लागि गरिन्छ।

‘चिउरा, मुरी र जुनेलो त एकसरो भुटेर मिठ्ठामा मोलेर लाई बनाए भयो, तर तील त झञ्झटिलो छ’, गौशालाको निगौल बस्तीकी रासवती थारु भन्छन, ‘तील त एक साता पहिले नै केलाउने, भिजाएर फल्ने (बाहिरी कालो बोक्रा निकाल्ने) सुकाउने काम सकेपछि मात्र लाई बन्न सक्छ।’

तिलासक्रायत पर्वमा तील, चिउरा, जुनेलो र मुरीका लाई (लड्डु) बनाएर कूलदेवतालाई चढाइ इष्टजनसँगै खाने, ख्वाउने मैथिल परम्परा छ। यो परम्पराले अहिले पर्वविशेषमा चाहिने सामग्रीको बजार जमेको हो। अहिले तील र सख्खरको राम्रो मूल्य पाउने आसमा उखु किसान धमाधम सख्खर बनाएर बजार पुर्‍याउन व्यस्त छन्।

यस्तै तिल उत्पादक किसानको पनि उत्पादित तिल बजार पुर्‍याउने व्यस्तता छ। चिउरा र मुरीका बजार भने पुस २५ पछि जम्नेछन्। यस्तै पर्वमा खाइने कन्दमूल (पिँडालु, तरुल र सुठुनी) को बजार पुस मसान्तताका जम्ने किसान बताउँछन्। -राससको सहयोगमा

प्रकाशित: २१ पुष २०७९ १६:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 11 =