ग्लोबल आइएमईमा गाभियो बीओके, २५ गतेदेखि एकीकृत कारोबार

हिमाल प्रेस २१ पुष २०७९ १६:०४
8
SHARES
ग्लोबल आइएमईमा गाभियो बीओके, २५ गतेदेखि एकीकृत कारोबार

काठमाडौँ– ग्लोबल आइएमई बैंकमा बैंक अफ काठमाण्डू (बीओके) गाभिएको छ। बीओके गाभिएर बन्ने ग्लोबल आइएमई बैंकले २५ गतेदेखि एकीकृत कारोबार गर्ने भएको छ।

एकीकृत कारोबारका लागि डाटा सार्नुपर्ने भएकाले बीओकेले २२ देखि २४ गतेसम्म तीन दिन बैंकिङ कारोबार बन्द गर्ने भएको छ। ग्लोबल आइएमई सेवा चल्ने भए पनि अवरोध भने हुन सक्ने जनाइएको छ।

दुवै बैंकले मंसिर २३ गते विशेष साधारणसभा गरेर एकापसमा गाम्भे/गाभिनेसम्बन्धी प्रस्ताव पारित गरेका थिए। उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ। ग्लोबल आइएमई बैंकले बीओकेलाई १ः१ को सेयर स्वाप रेसियोमा मर्ज गर्न लागेको हो।

यसअघि मर्जरपछि ग्लोबल आइएमई बीओकेको नामबाट कारोबार गर्ने सहमति भए पनि अहिले ग्लोबल आइएमई बैंकको नामबाट कारोबार गर्न दुवै बैंक सहमत भएका छन्।

मर्जरपश्चात् बैंकको शाखा सञ्जाल ३६५ र एटीएम ३२८ पुग्नेछन्। मर्जरपश्चात् बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा ग्लोबल आइएमई बैंकका रत्नराज बज्राचार्य बन्नेछन्। बीओकेका सीईओ श्रवणलाल मास्के वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत हुनेछन्।

सञ्चालक समितिमा ग्लोबल आइएमई बैंककातर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँच जना र बीओकेका दुई जना रहने सहमति भएको छ।

प्रकाशित: २१ पुष २०७९ १६:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 9 =