भक्तपुर प्रशासनद्वारा सेवाग्राहीलाई घरमै नागरिकता वितरण

हिमाल प्रेस १७ पुष २०७९ २०:२५
भक्तपुर प्रशासनद्वारा सेवाग्राहीलाई घरमै नागरिकता वितरण

काठमाडौँ– जिल्ला प्रशासन कार्यालय भक्तपुरले एक सेवाग्राहीलाई घरमै पुगेर नागरिकता परिचय पत्र वितरण गरेको छ। मध्यपुर थिमि नगरपालिका ४ बस्ने १९ वर्षीया सुप्रिना श्रेष्ठलाई प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा नेतृत्वको टोलीले घरमै पुगेर नागरिकता प्रदान गरेको हो।

हिँड्डुल गर्न, बस्नबोल्न नसक्ने सुप्रिया अशक्तताका कारण जिल्ला प्रशासन कार्यालयसम्म जान नसक्ने जानकारी पाएपछि प्रजिअ शर्माले आफैँ घरमै पुगेर नागरिकता प्रदान गरेकी हुन्। अशक्तहरूलाई घरदैलोमा नै सेवा उपलब्ध गराउने सरकारी नीतिअनुरुप सुप्रियालाई घरमै पुगेर नागरिकता प्रदान गरेको प्रजिअ शर्माले बताइन्।

‘सेवाग्राहीले सहज र सरल तरिकाले सेवा पाउनुपर्छ भन्ने सरकारी नीति हो। सोहीअनुरूप अशक्त र असह्यलाई घरदैलोमा सेवा प्रदान गर्दै आएका छौं,’ उनले भनिन्।

नागरिकता प्रदान गर्न प्रजिअ शर्मासँगै सहायक प्रजिअ माधव शर्मा, मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, प्रशासकीय अधिकृत उर्मिला खतिवडा, नागरिकता फाँटका नायव सुब्बा विमल काफ्लेको टोली सुप्रियाको घर पुगेको हो। सो अवसरमा नगर प्रमुख श्रेष्ठले प्रशासनको कार्यको प्रशंसा गर्दै जनतालाई सहज र सरल रूपमा सेवासुविधा उपलब्ध गराउन नगरपालिका पनि प्रतिबद्ध रहेको बताए।

प्रकाशित: १७ पुष २०७९ २०:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =