महात्मा गान्धी स्मृति दिवस

बीपीको रिहाइका लागि पहल गर्न कृष्णप्रसाद भट्टराईले गान्धीसँग गरेको त्यो अनुनय

हिमाल प्रेस १६ माघ २०७९ १५:०८
642
SHARES
बीपीको रिहाइका लागि पहल गर्न कृष्णप्रसाद भट्टराईले गान्धीसँग गरेको त्यो अनुनय

सन् १८६९ को २ अक्टोबरमा जन्मिएका महात्मा गान्धीको ३० जनवरी १९४८ मा नयाँदिल्लीमा गोली हानी हत्या भएको थियो। भारतीय स्वतन्त्रता आन्दोलनका अग्रणी व्यक्तित्व एवं अहिंसात्मक आन्दोलनका लागि संसारभरका आदर्श गान्धीलाई  विश्वभर विशेष रूपमा स्मरण गरिन्छ।

गान्धीलाई आदर्श मान्ने नेपालीको संख्या पनि धेरै छ। २००७ सालताका नेपालमा राणाविरोधी आन्दोलनमा सहभागी नेपाली कांग्रेसका नेताका लागि त गान्धी बढी नै आदर्श पुरुष थिए। राणाविरोधी आन्दोलनमा नैतिक समर्थन जुटाउन बीपी कोइराला लगायतका नेपाली नेताले गान्धीसँग भेट गरेका थिए।

नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष बीपी कोइरालाले समेत प्रजातान्त्रिक आन्दोलनप्रति नैतिक समर्थन हासिल गर्ने उद्देश्यले गान्धीसँग भेट गरेका थिए। बीपी कोइरालाले आफ्नो आत्मकथामा गान्धीको हत्या हुनु दुई दिनअघि २८ जनवरी १९४८ मा दिल्लीस्थित बिरला हाउसमा भेटेको उल्लेख गरेका छन्। त्यति बेला अखबारमा प्रकाशित समाचारलाई आधार मान्ने हो भने बीपीले बिरला हाउसमा गान्धीलाई उनको निधन हुनुभन्दा दुई महिना २५ दिनअगाडि ५ नोभेम्बर १९४७ मा गान्धीलाई भेटेका थिए। (दी इन्डियन एक्स्प्रेस, ७ नोभेम्बर १९४८)

समाचारअनुसार नेपाली राष्ट्रिय कांग्रेसका कार्यकारी अध्यक्ष बीपीले नेपाली कांग्रेसले आगामी दिनमा कस्तो कदम उठाउने सम्बन्धमा गान्धीसँग परामर्शका लागि पनि भेटेका थिए। डा. राममनोहर लोहियाको साथमा रहेका बीपीले त्यसै दिन प्रधानमन्त्री जवाहरलाल नेहरूलाई समेत भेटेका थिए। (दी इन्डियन एक्स्प्रेस, ७ नोभेम्बर १९४८)

सन् १९४७ को जनवरीमा गठन भएको नेपाली राष्ट्रिय कांग्रेसले त्यसलगत्तै सोही मार्चको सुरुतिर भएको विराटनगर जुट मिल हडतालमा सहभागिता जनायो। हडतालमा सहभागी हुन अध्यक्ष बीपी स्वयं विराटनगर पुगेका थिए। उनी त्यहीँ पहिलोपटक राणा सरकारबाट गिरफ्तार भई काठमाडौँ जेलचलान भएका थिए।

पद्मशमशेर जबरा प्रधानमन्त्री थिए। बीपी लगभग त्यहाँ ६ महिनासम्म जेलमा बसेका थिए। जेलमा बिरामी परेर उनको स्वास्थ्यमा गम्भीर समस्या आयो। उनलाई छुटाउन राणा सरकारसँग पहल गरिदिन भारतमा रहेका नेताकार्यकर्ताले नेहरूदेखि गान्धीसम्मलाई भेटेका थिए। त्यसै क्रममा कृष्णप्रसाद भट्टराई (२०१५ सालमा पहिलो संसद्को सभामुख, २०४६ सालमा बहुदलीय व्यवस्था पुनर्स्थापना भएपछि प्रधानमन्त्री र २०५६ मा समेत प्रधानमन्त्री) लगायतले गान्धीलाई कलकत्तामा तीनपटकसम्म भेटेका थिए।

यो सामग्री त्यही भेट स्मरण गरी गान्धीको निधनलगत्तै कृष्णप्रसाद भट्टराईले युगवाणीमा प्रकाशित गरेको लेख, तत्कालीन समयका पत्रपत्रिका एवं अन्य संस्मरणात्मक पुस्तकमा आधारित रहेर तयार पारिएको हो।

जेलमा राखिएका बीपीको स्वास्थ्य अवस्था अगस्टसम्म आउँदा साह्रै खराब भइसकेको थियो। बीपीलाई जेलमा रहँदा घाँटीको समस्या पुनः देखिएको थियो। दुई वर्षअघि मात्र उनको घाँटीमा क्यान्सर भएपछि मुम्बईको टाटा अस्पतालमा उपचार गरिएको थियो। घाँटीमा समस्या बल्झिँदा समर्थकहरू उनको स्वास्थ्यलाई लिएर आत्तिन थालेका थिए।

बीपीका पिता कृष्णप्रसाद कोइरालाको पनि जेलमा निधन भएको थियो। राणाशाहीले बीपीलाई पनि उनकै पिताकै नियतिमा पुर्‍याउलान् कि भन्ने भय समकालीन नेताहरूमा थियो। त्यसैले उनीहरूले भारतमा नेहरूदेखि गान्धीसम्मलाई भेटेर बीपीको गम्भीर स्वास्थ्य अवस्थाको जानकारी गराई रिहाइका लागि पहल गरिदिन अनुरोध गरिरहेका थिए।

भारतमा समाजवादी नेताहरू जयप्रकाश नारायणदेखि डा. राममनोहर लोहियासम्मले पनि बीपीको रिहाइका लागि पहल गरिरहेका थिए। राणा शासकले नेहरू र गान्धीको भनाइ मान्ने तर आफूहरूको नमान्ने हुनाले पनि होला नारायण र लोहियाले समेत नेहरू र गान्धीसँग नेपालका नेताहरूलाई भेट्ने व्यवस्था मिलाइदिएका थिए।

बीपी नेपालको जेलमा रहँदा मातृकाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, बालचन्द्र शर्मालगायतका नेपाली राष्ट्रिय कांग्रेसका नेताकार्यकर्ता भारतमा सक्रिय थिए। उनीहरूले बीपीको रिहाइको पहल गरिदिन भन्दै भारतका नेताहरूसँग भेट गरिरहेका थिए।

सन् १९४७ को अगस्ट तेस्रो साता भारत स्वतन्त्र भएपछि पश्चिम बंगालमा दंगा भड्किएको थियो। गान्धी दंगाग्रस्त क्षेत्र बेलियाघाटमा थिए। उनले दंगा नियन्त्रण गर्न हिन्दु–मुस्लिम दुवै समुदायसँग निरन्तर छलफल चलाउनेदेखि ती दंगाग्रस्त क्षेत्रको भ्रमणसमेत गरिरहेका थिए। बीपीको रिहाइको पहल गरिदिन भन्दै लोहियाको पत्र लिएर कृष्णप्रसाद भट्टराईसहित नेपाली राष्ट्रिय कांग्रेसका थप तीन जना सदस्य गान्धीलाई भेट्न बेलियाघाट पुगेका थिए। थप तीन जना सदस्यहरूमा कृष्णप्रसाद भट्टराईका अनुसार एकजना गणेशमान सिंह र बीपी कोइरालाका अनुसार एकजना बालचन्द्र शर्मा थिए। र तेस्रो व्यक्ति को थिए भन्ने थाहा हुन सकेको छैन।

गान्धी त्यस्तो तनावग्रस्त अवस्थामा रहँदा पनि नेपालीहरूलाई सहजै भेट दिएका थिए। कृष्णप्रसाद भट्टराईले मिति उल्लेख नगरेको भए पनि त्यति बेला प्रकाशित एउटा समाचारअनुसार २२ अगस्ट १९४७ मा भट्टराई अन्य तीनजना सहित त्यहाँ पुगेका थिए। (दी बम्बे क्रोनिकल २३, अगस्ट १९४७)

नेपालको आन्दोलनमा गान्धीले आशीर्वाद दिएकाले पनि बीपीलाई छुटाउन गान्धीबाट सहायता पाउन सकिन्छ भन्ने विश्वासका लोहियाको पत्र लिएर कृष्णप्रसाद त्यहाँ पुगेका थिए। आफूहरू त्यहाँ अति जरुरी कामले आएको भनेपछि गान्धीका सेक्रेटरीले अन्य सबै भेटघाट स्थगित गरी उनीहरूलाई तत्काल गान्धीसमक्ष पुर्‍याएका थिए।

गान्धी भुइँमा बिछ्याएको सेतो खद्दरमाथि बसिरहेका थिए। त्यही कोठामा अर्कोतिर बंगालका निवर्तमान प्रधानमन्त्री सोहराबर्दी पनि रहेछन्, जसलाई पहिले कृष्णप्रसादले चिनेनन्। भित्र पस्नेबित्तिकै कृष्णप्रसादले गान्धीलाई नमस्कार गरी लोहियाले लेखेको पत्र दिए। पत्र पाउनासाथ गान्धीले कृष्णप्रसाद को हौ भनी सोधेछन्। लोहियाले पत्रमा कृष्णप्रसादको नाम लेखी यिनले नेपालको तत्कालीन अवस्था र र बीपीका विषयमा विस्तृत रूपमा बताउन सक्नेछन् भनी लेखेकाले गान्धीले उनको नाम सोधेका रहेछन्।

त्यसपछि भट्टराईले गान्धीलाई नेपाल र बीपीको तत्कालीन अवस्थाबारे जानकारी दिए। भट्टराईले उपचारमा नेपालमा उपयुक्त चिकित्सा उपचार अभावसहित नेपालीका लागि बीपीको आवश्यकताबारे गान्धीलाई बताएका थिए। अनि गान्धीले भनेछन्, ‘यसमा म त तपाईंको के सहायता गर्न सक्छु र? जवाहरलाल नेहरूले पो सरकारी तवरबाट सहायता गर्न सक्छन्।’

जवाफमा कृष्णप्रसादले भनेछन्, ‘जहावारलाल नेहरूको सद्भावना त छँदैछ। तपाईंको पत्रले नेपालका राणा शासकको मन फेर्न सक्ला कि भन्ने हाम्रो विश्वास छ। त्यसैले तपाईंले एउटा पत्र लेखिदिनुभयो भने शासकहरूमा प्रभाव पर्नेछ। जनतामा पनि नैतिक साहस बढ्नेछ।’

गान्धीले बीपी पहिले पटनामा बसेको बताएछन्। उनले भनेछन्, ‘त्यसो भए मैले यो लेखुँ कि कोइरालाजीलाई छाडिदेऊ। उनी छुटेपछि पटनामा आई बस्नेछन् र नेपालभित्र पस्ने छैनन्।’

त्यसबारे कृष्णप्रसादले लेखेका छन् ‘त्यसपछि अब हामीले के भन्ने? हाम्रो हृदयमा कर्तव्य र प्रेमको भीषण द्वन्द्व मच्चिन थाल्यो। कोइरालाजीलाई नछुटाउनुको अर्थ हो उहाँको निश्चित मृत्यु, छुटाउने प्रयत्न गर्दा गान्धीजी यस्तो भन्नुहुन्छ। हामी दुईजनाले विचारको मौन आदानप्रदान गर्‍यौँ। एक मिनेटमै मैले निश्चय गरेँ। गणेशमानजीको मुखमा हेर्दा पनि दृढताको साथ उही भाव थियो।

अन्तमा कर्तव्यको विजय भो। मैले भने ‘बापू’ यस्तो सर्त राखी छुट्नु त एउटा प्रतिबन्ध मानीकन छुट्नु हो। माफी मागेकै जस्तो भो। सन् १९४२ को आन्दोलनमा यस्तो प्रकारको सर्त मानी छुट्ने देशप्रेमीहरूको जनताले कस्तो इज्जत गरेथ्यो। यसले गर्दा आन्दोलनको नैतिक बल कहाँसम्म कमजोर हुन गएथ्यो? त्यो मैले के तपाईंलाई बताउन पर्छ र? बापूले उत्तर दिनुभयो, ‘मेरो कानबाट अझ त्यसको प्रभाव हराएको छैन। हो, यो त अलि नराम्रो भो।

सम्भवतः बापूले हाम्रो परीक्षा लिनुभएको थियो। हामी बापूको प्रथम परीक्षामा सफल भयौँ। अनि गान्धीजीले भन्नुभयो, ‘यसरी पत्र लेखे कसो होला नि? अहिले कोइरालाजीलाई छाडिदेऊ। उनको पिताको पनि नजरबन्दी अवस्थामा मृत्यु भएको हुनाले यदि उनी पनि जेलैमा मरे भने जनतामा सरकारप्रति ठूलो घृणा बढ्नेछ। उनको जुन बिमारी छ त्यसको चिकित्सा केबल बम्बईमा मात्र हुनाले उनी निश्चित छ कि बम्बई नै जानेछन्। फेरि नेपाल गए भने त्यत्रो फौजी पुलिस तिम्रो हातमा छ। जहिले खुसी लाग्छ उनलाई तिमीले समात्न सक्दछौ। (युगवाणी वर्ष १ अंक २, ०५ फेब्रुअरी १९४८)

गान्धीको कुरामा कृष्णप्रसादले समर्थन जनाए। गान्धीले पुनः उनलाई सोधे, मेरो कुरा बुझ्यौ? बुझेँ भन्दा के बुझ्यौ भनी पुनः दोहोर्याउन लगाए। कलकत्तामा रहेका आफ्ना अन्य साथीहरूसँग सल्लाह गरी भोलि पुनः आउन भन्दै गान्धीले कृष्णप्रसाद लगायतलाई बिदा गरे। रातको १० बजे उनीहरू त्यहाँबाट निस्केका थिए।

भोलिपल्ट अपराह्न ३ बजेतिर पुनः कृष्णप्रसाद लगायतका अन्य नेताहरू गान्धीलाई भेट्न बेलियाघाट पुगे। त्यहाँ पुग्नासाथ गान्धीले सोधे, ‘तपाईंहरूले के निश्चय गर्नुभयो।’ कृष्णप्रसादले जवाफ दिए, ‘तपाईंले पत्र लेखिदिनुपर्यो।’ त्यसपछि गान्धीले भने, ‘म पत्र लेखिदिन्छु। त्यो पत्र लिएर तपाईं नेपाल जानुस् र त्यही आसयको तार पनि त्यहाँ दिनुहोला। ल, तपाईँहरूको रेल कति बजे छुट्छ? भोलि आएर पत्र लिएर जानुस्।’ कृष्णप्रसादले साथीहरूसँग सल्लाह गरी बेलुकी ६ बजे रेल छुट्ने जानकारी गराए। गान्धीले भोलि दिउँसो कुनै समय आई पत्र लिएर जान आग्रह गरे। गान्धीले उनीहरू उठ्दै गर्दा पत्र श्री ५ महाराजाधिराज, श्री ३ महाराज पद्मशमशेर वा पूर्वप्रधानमन्त्री राजर्षि महाराज जुद्धशमशेर कसलाई लेख्ने भनेर सोधे। जवाफमा जुद्धशमशेरको अब केही नचल्ने भएकाले पद्मशमशेरलाई लेख्न भन्दै उनीहरू त्यहाँबाट फर्किए।

त्यसपछि कृष्णप्रसादले अर्को एकजना साथमा लगेर नेपाल जाने तयारी गर्न थाले तर यता बीपी कोइराला जेलबाट रिहा भएको समाचार पाए। अर्को दिन कृष्णप्रसादलगायत गान्धीलाई भेट्न फेरि बेलियाघाट पुगे। सेक्रेटरीले गान्धी अति जरुरी पत्र लेख्न व्यस्त भएकाले भेट्न नसक्ने जानकारी गराए। तर कृष्णप्रसादले सेक्रेटरीलाई भनेछन्, ‘त्यही पत्रका विषयमा म आएको, गान्धीजीलाई मेरो नाम भनिदिनुस्, उहाँले बोलाउनुहुनेछ।’ (युगवाणी वर्ष १ अंक २, ०५ फेब्रुअरी १९४८)

तत्काल गान्धीले कृष्णप्रसादलाई भित्र बोलाए। उनले गान्धीलाई बीपी छुटेको तार देखाए। त्यसबाट उनले गान्धीको मुखमा सन्तुष्टिको स्पष्ट आभा देखे।

कृष्णप्रसादको धारणा त नेहरूले पद्मशमशेरलाई तार पठाएकाले बीपी रिहाइ भएछन् भन्ने रहेछ। यता नेपालमा गान्धीले पद्मशमशेरसमक्ष बीपीको रिहाइका लागि पत्र पठाएपछि पद्मशमशेरले बीपीलाई रिहा गरे भन्ने चर्चा छ। तर स्वयं पद्मशमशेरले बीपी कोइरालासँगको भेटमा आफूले गान्धीको अपिल सुनेर नभई डाक्टरहरूको सुझावअनुसार उनलाई रिहा गरेको बताएको प्रसंग पनि बीपीले आत्मवत्तान्तमा उल्लेख गरेका छन्।

बीपी थुनामा रहँदा उनको रिहाइका लागि भारतमा गान्धी, नेहरू, जयप्रकाश नारायणदेखि राममनोहर लोहियासम्मले पहल गरेका थिए। राणाहरूमाथि नैतिक दबाब परेकै थियो। कृष्णप्रसाद भट्टराईका अनुसार त उनीहरूले बीपी रिहा हुँदासम्म गान्धीले पद्मशमशेरलाई लेख्ने भनेको पत्र पाएकै थिएनन्। तर गान्धीको पत्र पाएर होइन कि त्यो नपाएरै पद्मशमशेरले सोही २३ अगस्टमा बीपीलाई रिहा गरेका थिए।

पुन: प्रकाशित


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 5 =