लोकतन्त्र ‘कू’ भएको स्मृतिमा आज कालो दिवस मनाइँदै

हिमाल प्रेस १ पुष २०७९ ८:१९
4
SHARES
लोकतन्त्र ‘कू’ भएको स्मृतिमा आज कालो दिवस मनाइँदै

काठमाडौँ- प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज (शुक्रबार) देशभर कालो दिवसका रूपमा मनाइँदैछ।

विसं २०१७ पुस १ गते पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए।

नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपीलगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो।

सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बीपीलगायतका नेतालाई बन्दी बनाइएको हो । यही जेल पछि सुन्दरीजल बन्दीगृहका नामले चिनियो।

यहीँ बसेर बीपीले ‘दोषी चश्मा’ कथा संग्रह बाहेकका साहित्यको रचना गरेका थिए। ‘दोषी चश्मा’ कथा संग्रह विसं २००८ मै प्रकाशन भइसकेको थियो।

‘दोषी चश्मा’ कथा संग्रह प्रकाशनपछि राजनीतिमा व्यस्त भएका बिपीलाई सुन्दरीजल बन्दीगृह साहित्य रचना गर्न वरदान सावित भएको थियो। यही बन्दीगृहबाट यौन मनोविश्लेषणवादी धाराका दर्जनौँ कृति नेपाली साहित्यले पाउन सक्यो।

यसैगरी जेलमा बस्दा विसं २०१७ देखि २०२५ सम्मका दैनिकीको संग्रह ‘जेलजर्नल’, विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दीगृहमा थुनेपछि लेखिएको दैनिकीको संग्रह ‘फेरि सुन्दरीजल’, ‘आफ्नो कथा’ लगायत रचना २०१७ साल पुस १ गतेको शाही कूपछि नै नेपाली साहित्य जगत्ले पाएको हो।

पुस १ गतेको घटनापछि बीपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरू गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचनलगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो। विसं २०६१ भदौ २४ गते बन्दीगृहलाई बीपी संग्रहालय रूपमा घोषणा गरिएको छ।

प्रकाशित: १ पुष २०७९ ८:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + twelve =