म्याग्दीमा सडक स्तरोन्नतिका तीन आयोजना सुरु

हिमाल प्रेस २५ मंसिर २०७९ १२:५०
4
SHARES
म्याग्दीमा सडक स्तरोन्नतिका तीन आयोजना सुरु

म्याग्दी-सदरमुकाम बेनीबजारसँगै रहेको जलजला गाउँपालिकाको मल्लाजमा सडक स्तरोन्नतिका लागि तीन वटा आयोजना सुरु भएका छन्।  जलजलाको २, ३ र ४ नं वडामा पर्ने मल्लाजका सडक स्तरोन्नतिका लागि स्थानीय, प्रदेश र संघीय सरकारमार्फत् ५० करोड बजेटका आयोजना सञ्चालन भएका हुन्।

जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले मल्लाजलाई सहरउन्मुख बस्तीको रूपमा विकास गर्ने उद्देश्यले सडक, अस्पताल भवनलगायत पूर्वाधारका आयोजना सुरु गरिएको बताए। ‘वारीबेनी मल्लाज सडक गाउँपालिका र प्रदेश सरकारको साझेदारीमा स्तरोन्नति गर्न लागिएको हो,’ उनले भने ‘भुरतुलादेखि मल्लाज हुँदै लेकफाँट जोड्ने सडके सडक डिभिजन र फड्केढुङ्गाको दोवदोवेदेखि मल्लाजसम्म सडक सहरी विकास कार्यालयमार्फत् स्तरोन्नति सुरु भएको छ।’

वारीबेनी–मल्लाज सडकको ग्रेड र घुम्ती सुधार, ढलान, नाली, ग्याबिन र मेसिनरी पर्खाल निर्माण गर्न प्रदेश सरकारले एक करोड र जलजला गाउँपालिकाले थप एक करोड बजेट विनियोजन गरेको छ। कालिका इन्फ्रास्टक्चर प्रालिले ठेक्का पाएको यो सडक दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको गाउँपालिका अध्यक्ष आचार्यको भनाइ छ। सरकारको रणनीतिक महत्वका सडक कार्यक्रममार्फत् मल्लाज–लेकफाँट सडक स्तरोन्नतिका लागि ३७ करोडमा ठेक्का पाएको रायमाझी कन्ट्रक्सन प्रालिले प्रारम्भिक चरणको कामलाई तीव्रता दिएको जलजला–३ का वडाध्यक्ष एकेन्द्र खत्रीले बताए।

मल्लाजको भुरतुलाको डिलदेखि लेकफाँटसम्म करिब १० किलोमिटर सडक सात मिटर चौडाइका दरले कालोपत्रे र ढलानका साथै नाली, पर्खाल निर्माण गर्ने, घुम्ती तथा ग्रेड सुधार गर्ने काम भइरहेको छ। ३३ महिनामा सम्पन्न गर्ने लक्ष्य रहेको यो सडकमा अहिले पाँच वटा डोजर र करिब एक सय जना मजदूरले काम गरिरहेका छन्। यसैगरी सहरी विकास कार्यालय बागलुङमार्फत् दोवदोवेदेखि मल्लाज हुँदै बाँसखर्कको सिमानासम्मको पाँच किलोमिटर सडक स्तरोन्नति गर्न ठेक्का पाएको निर्माण कम्पनीले पनि सडक विस्तारको प्रारम्भिक चरणको काम थालेको छ। यो सडकमा पाँच मिटर चौडाइका दरले कालोपत्रे गरिनेछ।

प्रकाशित: २५ मंसिर २०७९ १२:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =