त्रिविको ४८ औँ दीक्षान्त समारोहमा १० हजार विद्यार्थी दीक्षीत

हिमाल प्रेस २३ मंसिर २०७९ १९:१५
346
SHARES
त्रिविको ४८ औँ दीक्षान्त समारोहमा १० हजार विद्यार्थी दीक्षीत

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा १० हजार भन्दा बढी विद्यार्थी दीक्षित भएका छन्। ६० औँ ग्रेसलिष्टअनुसार ०७८ साल असार १ गतेदेखि ०७९ साल जेठ ३१ गतेसम्म विद्यावारिधि, एमफिल, स्नातकोत्तर, स्नातक तह उत्तीर्ण ६२ हजार २ सय ६७ जना विद्यार्थीमध्ये फारम भरेका १० हजारभन्दा बढी विद्यार्थी समारोहमा सहभागी भएका हुन्।

समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् त्रिवि कुलपति शेरबहादुर देउवाले राष्ट्रको समृद्धिमा आवश्यक जनशक्ति उत्पादनमा त्रिविले गुणस्तरीय शिक्षामा जोड दिँदै आएको बताए।

‘त्रिवि ६ दशक पार गरेको जेठो र विद्यार्थी संख्याका हिसाबले पनि ठूलो विश्वविद्यालय हो। यसले नेपालको शिक्षाको विषयमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ। त्रिविले गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ,’ देउवाले भने।

राष्ट्रको समृद्धिमा उपयोग भई गर्व गर्न लाएक दक्ष जनशक्ती उत्पादनमा जोड दिने पनि देउवाले विश्वास व्यक्त गरे।

समारोहमा विभिन्न संकायका कानुन, व्यवस्थापन, मानविकी तथा समाजशास्त्र, शिक्षाशास्त्र ,इन्जिनियरिङ अध्ययन संस्थान, कृषि र पशु विज्ञान अध्ययन संस्थान, चिकित्साशास्त्र अध्ययन संस्थान, वनविज्ञान अध्ययन संस्थान, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका विद्यार्थीरूलाई क्रम मिलाएर राखिएको थियो।

कुलपति देउवाले विभिन्न पदक प्राप्त गर्ने विद्यार्थीलाई पदकसहित प्रमाण पत्र वितरण गरेका थिए।

कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालको विश्वविद्यालयको भूमिकालाई सशक्त बनाउन जरुरी रहेको बताए।

‘शिक्षालाई अनुसन्धानको कार्य र सामाजिक विकासका कार्यसँग जोड्न जरुरी छ। विश्वविद्यालयलाई विश्वभर योग्य जनशक्ती उत्पादन गर्ने केन्द्रको रूपमा विकास गर्नुपर्छ,’ उनले भने, ‘शिक्षालाई सिपसँग र सिपलाई रोजगारीसँग जोड्न जरुरी छ।’

त्रिवि समयसापेक्ष शिक्षा र दुरशिक्षाको अवधारणाअनुसार अघि बढ्न आवश्यक रहेको र देशको प्रशासन, राजनीतिलाई व्यवस्थित गर्न शिक्षामा सुधारको प्रयास भएको मन्त्री पौडेलले बताए।

नेपालबाट वर्षैपिच्चे ठूलो संख्यामा विद्यार्थीहरू उच्च शिक्षा अध्ययनका लागि बाहिरिने प्रवृत्तिले देशको अर्थतन्त्रमा नकारात्मक असर परिरहेको र ती विद्यार्थीहरूलाई त्रिविमा नै आकर्षण गरी रोकथाम गर्न सकिने उल्लेख गरेका छन्।

त्रिवि एमफिल तहमा सर्वोत्कृष्ट अंक प्राप्त गरेबापत प्राध्यापक संघ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वणर्पदक व्यवस्थापन संकायका विद्यार्थी दुर्गादत्त पाठकले प्राप्त गरेका छन्।

यस्तै एमबीए तहमा सर्वोत्कृष्ट अंक प्राप्त गरेवापत स्कूल अफ म्यानेजमेन्ट किर्तिपुरकी छात्रा रिस्ता श्रेष्ठले ३ दशमलव ९५ सीजीपिए ल्याउदै इन्द्र भक्त श्रेष्ठ पदक प्राप्त गरेकी छन्। त्रिवि भौतिकशास्त्र केन्द्रीय विभागका विद्यार्थी टिकाराम भण्डारीले सीजीपिए ४ ल्याउदै त्रिवि चान्सलर पदक, प्राध्यापक संघ स्वर्ण पदक, रामप्रसाद मानन्धर स्वणर् पदक प्राप्त गरेका छन्।

सकुन महर्जनले एमए पुस्तकालय विज्ञानमा सर्वप्रथम भएर शान्ति नारायण पदक, विवेक अधिकारी एमए अंग्रेजीमा सर्वप्रथम भएर नरेन्द्रमणि आचार्य पदक, डा. मोहन लाखे स्वणर्पदक प्राप्त गरेका छन्।

यस्तै कविता ज्ञवालीले एमएससी रसायनशास्त्र विषयमा सर्वप्रथम अंक ल्याएवापत अमृत पदक, एमबीएसमा प्रथम भएवापत रोहन खरेलले गुञ्जमान सिंह स्वर्ण पदक, अर्थशास्त्र केन्द्रीय विभागका रोहन व्यञ्जनकारले तारापद चौधरी पदक, खगेन्द्रमान सिंह प्रधान पदक, चन्द्रराज ढुंगेल स्मृति पुरस्कार प्राप्त गरेका छन्।

यस्तै ८ जना विद्यार्थीले स्नातक तहमा सार्वोत्कृष्ट अंक ल्याए वापत पदक प्राप्त गरेका थिए। चन्द्रकला रानाले पक्लिहवा क्याम्पसबाट स्नातक तहमा सर्वप्रथम भएवापत भाईस चान्सलर पदक प्राप्त गरेकी छन्।

बीएचएममा सर्वोत्कृष्ट भएर अन्जली लामाले प्रितम चित्रकार पुरस्कार, सिभिल इन्जिनियरिङको स्नातकमा सर्वप्रथम भएवापत शिवराज पन्त स्मृति पुरस्कार, बीएएलएलबीमा सर्वोत्कृष्ट अंक ल्याएबापत प्रियंका पोखरेलले लोकराज ज्ञवाली स्वणर्पदक प्राप्त गरेकी छन्।

यस्तै पाटन क्याम्पसका राम गौतमले पिपल्स क्याम्पस तिर्थरत्न बज्राचार्य पदक, तीनवर्षे विएतर्फ विनीता निरौलाले ज्ञान प्रसाद पुरस्कार, करिश्मा अग्रवालले बीबीएसतर्फ छत्र बहादुर पदक, बीएड परीक्षामा महिलातर्फ सर्वोत्कृष्ट अकं ल्याउने प्रिया कुमारी झाले सुशीलादेवि शर्मा पुरस्कार पाएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 6 =