नेता दम्पती मिलेर महिलालाई घरनिकाला!

हिमाल प्रेस १६ मंसिर २०७९ १७:५१
852
SHARES
नेता दम्पती मिलेर महिलालाई घरनिकाला! हिमालय राई र महेश राई

काठमाडौँ- महिला हिंसाविरुद्धको १६ दिने अभियान जारी रहेका बेला एक नेता दम्पती मिलेर महिलामाथि हिंसा गरेको घटना सार्वजनिक भएको छ। नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म जारी रहने अभियानमा लैंगिक समानतायुक्त समाज निर्माणका लागि दबाब दिने उद्देश्य राखिएको छ।

यसै बेला लोग्ने र सौता मिलेर आफूलाई घरबाट निकाला गरिएको भन्दै एक महिलाले न्यायको याचना गरिरहेकी छन्।  महिलालाई घरबाट निकाला गर्ने पतिपत्नी दुवै राजनीतिक दलका नेता हुन्।  आफूले न्यायका लागि उजुरी गर्दा राजनीतिक पहुँचकै कारण प्रहरी प्रशासनले सहयोग नगरेको पीडित महिलाको गुनासो छ।

यस्तो छ घटना

भोजपुर साल्पासिलिछो गाउँपालिकाका तत्कालीन अध्यक्ष महेश राई विवाहका लागि लमीसहित हिमालय राईलाई हेर्न ललितपुर पुगे। २०७८ साउन २६ गते हिमालयका दाजुको घरमा भेटेका उनीहरू दुवैले एकअर्कालाई मन पराए।

तीन दिनपछि ललितपुरस्थित एक मलमा भेटघाट गरेर विवाह गर्ने सहमति भयो। सहमतिअनुसार मंसिर १३ गते आफन्त तथा इष्टमित्रको उपस्थतिमा विवाह भयो। हिमालयका अनुसार बूढानीलकण्ठ नगरपालिका-१० कपनस्थित महेशको घरमा उनलाई भित्र्याइएको थियो। महेश भोजपुर जाने र फुर्सदका समयमा कपनस्थित घरमा आउजाउ गर्थे।

हिमालय कपनस्थित घरमै बस्थिन्। फागुन १६ गते कामका लागि बाहिर गएर साँझ ६ बजे फर्कँदा आफूलाई सधैँका लागि गेट बन्द गरिएको हिमालयले बताइन्।  ‘काम गर्ने बहिनीलाई ढोका खोल्न आग्रह गर्दा माथिबाट माया राईले म महेशकी श्रीमती हुँ भन्दै तँ को होस् चिन्दिनँ भनेर घरमा आउन दिइनन्,’ उनले भनिन्। त्यसपछि प्रहरी लिएर आफन्तको साथमा जाँदा  कांग्रेसका नेता भएको भन्दै महेशले प्रहरीलाई पनि धम्क्याएको उनको भनाइ छ। ‘प्रहरीले पनि सहयोग नगरेकाले म हालसम्म बाहिरै बस्नुपरेको छ,’ उनले भनिन्।

उनी न्यायका लागि कहिले प्रहरी कार्यालय त कहिले अदालत धाइरहेकी छन्। पहिले प्रहरीले जाहेरी लिन नमानेको र अहिले जिल्ला सरकारी वकिलको कार्यालय बबरमहलले मुद्दा चलाउन नमानेको उनको भनाइ छ। ‘कानुनको गलत व्याख्या र राजनीतिक प्रभावमा पीडकलाई उन्मुक्ति दिइएको छ,’ उनले भनिन्।

पुरानो मितिमा विवाह दर्ता!

महेशकी जेठी श्रीमती सरस्वती राईको २०७८ जेठ २८ गते निधन भइसकेको छ। उनकी एक छोरी छिन्। उनले हिमालयसँग विवाह गरेको तीन महिनामा अर्कीसँग बिहे गरेर पुरानो मितिमा विवाह दर्ता गराएको आरोप लगाइएको छ।

हिमालयका अनुसार माया राईसँग पछि बिहे गरे पनि महेशले राजनीतिक शक्ति प्रयोग गरेर २०७८ मंसिर २ गते विवाह गरेको प्रमाणपत्र बनाएका छन्। माया कांग्रेस केन्द्रीय सदस्यसमेत हुन्। पहुँचका कारण आफूलाई घरबारविहीन बनाइएको हिमालयको आरोप छ।

बहुविवाहको जाहेरी दर्ता गर्न लाग्दासमेत आफूलाई राज्य, प्रहरी प्रशासन र वकिल कार्यालयबाट सहयोग नभएको उनले बताइन्। आफूसँग बिहेको फोटो, भिडियो रहेको भन्दै त्यसलाई सरकारी निकायहरूले बेवास्ता गरेको उनले बताइन्।

यता महेशले आफ्नो बिहे हिमालयसँग नभएको बताउँदै आएका छन्। सरकारी वकिल कार्यालय काठमाडौँको बयानमा पनि उनले हिमालयसँग भएका फोटोहरू पूजाको कार्यक्रमको भएको बताएका छन्।

त्यसमा उनले मायासँग मंसिर २ गते बिहे भएको बताएका छन्। ‘२०७८ मंसिर १३ गते मलाई वीरबल राई र प्रेमकुमार राईले पूजाको कार्यक्रम छ भनी ललितपुर महानगरपालिका वडा नं. २७ सुनाकोठीस्थित प्रेमकुमार राईको घरमा बोलाएको र सो बेलामा म र वीरबल भोजपुर जिल्लाबाट महासमिति सदस्य भएर आएकाले सम्मान गरेको अवस्थाको फोटोहरू हुन्। उक्त फोटो भिडियोहरू विवाहको होइन,’ बयानमा उनले भनेका छन्।

जिल्ला सरकारी वकिल कार्यालयले पनि २०७८ मंसिर २ गते नै मायासँग बिहे गरेको प्रमाणपत्रबाट पुष्टि भएकाले बहुविवाह कसुरमा मुद्दा नचलाउने निर्णय गरेको छ। हिमालय र उनका आफन्तले भने यथेष्ट प्रमाण हुँदाहुँदै पनि राजनीतिक प्रभावमा परेर मुद्दा चलाउन नमानेको आरोप लगाएका छन्।

लमी मालती राईले हिमालय र महेशको विवाहको साक्षी भएको बताएकी छन्। ‘महेश राईले मेरो श्रीमानसँग विवाह गर्ने कुरा गर्नुभएको रहेछ, बहिनी (हिमालय) लाई देखाइयो, मन पराएपछि बिहे भएको हो,’ उनले भनिन्।

प्रकाशित: १६ मंसिर २०७९ १७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − three =