काठमाडौँ– नेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ संक्रमण दर ८४ प्रतिशतले घटेको।
नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो।
सन् २००० को तुलनामा सन् २०२१ मा ८४ प्रतिशतले एचआइभीको नयाँ संक्रमणमा कमी आएको जनाइएको छ।
सन् २००० मा चार हजार तीन सय ७० जना र सन् २०२१ मा छ सय ८० जना नयाँ संक्रमित फेला परेका छन्।
राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सुधा देवकोटाले संक्रमितलाई उपचार प्रक्रियामा ल्याइएकाले सर्न कम भएको बताइन्।
सन् २००० को तुलनामा सन् २०२१ मा ८४ प्रतिशतले नयाँ संक्रमित कम भएको उनले जानकारी दिइन्।
‘हामीले संक्रमितको पहिचान गरेर उपचार पद्दतिलाई राम्रो बनाएका छौं,’ उनले भनिन्, ‘सबै संक्रमित उपचारमा आउने भएका र सर्न पनि कम भइरहेकाले नयाँ संक्रमित कम हुँदै गएका छन्।’
उनका अनुसार हरेक वर्ष नयाँ संक्रमित कम हुने गरेका छन्। यस्तै सन् २०२१ सम्म नेपालमा ३० हजार व्यक्ति एचआइभी संक्रमित रहेका छन्।
कुल संक्रमितमध्ये शुन्य दशमलव १२ प्रतिशत संक्रमण वयस्क मानिसमा र १४ वर्षभन्दा मुनिका बालबालिका ४५ जनामा एचआइभी संक्रमण भएको तथ्यांकले देखाएको छ।
यस्तै २०२१ सम्ममा नेपालमा २१ हजार ७ सय २३ संक्रमितले एन्टिरेट्रो भाइरस (एआरभी) उपचार लिइरहेका छन्, त्यो संख्यम कूल एचआइभीको ७२ प्रतिशत मात्र हो।
निर्देशक डा देवकोटाले अझै पनि उपचारबाट बाहिर रहेका करिब पाँच हजार संक्रमितलाई उपचारमा ल्याउने हो भने सरकारले तोकेको लक्ष्य पूरा हुने बताइन्।
‘अझै पनि करिब पाँच हजार सङक्रमित उपचारभन्दा बाहिर रहेका छन्,’ उनले भनिन्,’हामी ती संक्रमितको पहिचान गरेर उपचारमा ल्याउने प्रयासमा रहेका छौं।’
उपचार गरी भाइरल लोड ठिक भएका संक्रमितहरू समाजमा घुलमिल हुनका लागि वातावरण बनाउने अभियानमा आफूहरू रहेको उनले बताइन्।
‘उपचारपछि ठिक भइरहेका सङ्क्रमितलाई जीविकोपार्जन गर्नेसम्बन्धी कार्यक्रम हामीले ल्याउने तयारी गरेका छौँ,’ उनले भनिन्, ‘स्वस्थ भएका संक्रमित आफैं केही गर्न सकिन्छ कि भनेर स्वावलम्बन बनाउने तयारीमा हामी रहेका छौं।’
एचआइभी संक्रमितमाथि अझै पनि समाजमा लाञ्छना र भेद्भाव रहेकाले यस्तो व्यवहार हटाउन आवश्यक रहेको उनको भनाइ छ।
सन् २०२१ मा पाँच सय १० जनाको एड्सबाट मृत्यु भएको तथ्यांकले देखाएको छ। सन् २००७ मा एक हजार सात सय ६५ जनाको एड्सका कारणले मृत्यु भएको छ। यो संख्या सन् २००७ भन्दा २०२१ मा ७१ प्रतिशतले कम हो।
केन्द्रका निर्देशक डा. देवकोटाले सबैलाई उपचारमा ल्याइएको हुनाले मृत्यु दरमा कमि आएको बताइन्।
उच्च जोखिममा को ?
नेपालमा एचआइभी संक्रमितमध्ये उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रो लिंगी र रोजगारीका लागि विदेशमा रहेकाहरू रहेका छन्।
तीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने र पुरुष समलिंगी यौनकर्मीमा संक्रमण दर अरू जोखिम समूहभन्दा उच्च रहेको छ।
सन् २०२० को राष्ट्रिय सर्वेक्षणअनुसार सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेमा ३ प्रतिशतका दरले एचआइभी संक्रमण रहेको पाइएको छ।
यस्तै सन् ०१७/१८ मा गरिएको सर्वेक्षणमा महिला यौनकर्मीमा दुई दशमलव दुई प्रतिशत र पुरुष समलिंगीमा छ दशमलव दुई प्रतिशतका दरले एचआइभी संक्रमण रहेको पाइएको छ।
प्रदेश १, लुम्बिनी तथा सूदूरपश्चिमका जिल्लामा गरिएको सर्वेक्षणले भारतमा काम गर्ने नेपालीमा एचआइभी संक्रमण एक प्रतिशतभन्दा कम रहेको पाइएको छ।
नेपालमा राष्ट्रिय एचआइभी रणनीतिक योजना २०२१–२०२६ ले निर्देश गरेअनुसार उच्चजोखिममा रहेका समूह जस्तै- सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी र तिनका ग्राहक, पुरुष समलिंगी तथा तेस्रो लिंगी र रोजगारीमा रहेकाहरू र तिनका दम्पती, जेलमा रहेका कैदीका लागि एचआइभी रोकथाम कार्यक्रम एवम् संक्रमित र प्रभावितका लागि उपचार, हेरचाह तथा सहयोग कार्यक्रम सञ्चालन भइरहेको छ।
योजनाअनुसार नेपालमा सन २०३० सम्ममा एड्स तथा एचआइभीलाई अन्त्य गर्ने रणनीति रहेको छ।
अहिले अनुमानित एचआइभी संक्रमितमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, ९५ प्रतिशतको उपचार गर्ने र एआरटी सेवा लिइरहेकामध्ये ९५ प्रतिशतको भाइरल लोड सप्रेसन हासिल गर्ने तथा नयाँ संक्रमितलाई ९० प्रतिशतले कम गर्ने सरकारको योजना छ।
अहिले ६१ जिल्लाका ८४ एआरटी सेन्टरबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध रहेको छ। देशका सबै जिल्लामा आमाबाट बच्चामा हुने संक्रमण रोकथाम गर्न समुदायमा आधारित कार्यक्रम सञ्चालन भइरहेको छ।
संक्रमण रोक्ने चुनौती
नयाँ एचआइभी संक्रमण रोक्न तथा हालसम्म सेवा नपाएका जोखिम समूहलाई प्राथमिकतामा राखी समयमा नै गुणस्तर सेवाको पहुँच पुर्याउनुपर्ने, प्रदेश एवम् स्थानीयस्तरमा प्रयोगशालासम्बन्धी सेवाको क्षमता अभिवृद्धि गर्नुपर्ने, मानव संशासन, बजेट, पूर्वाधारको विकास गर्न जरुरी रहेको बताइएको छ।
यस्तै एचआइभीका नयाँ संक्रमितहरूलाई उपचारका लागि रेफरको व्यवस्था गरी यथाशीध्र उपचारको व्यवस्था गर्नुपर्ने, एचआइभी संक्रमितलाई प्राथमिकतामा राखी सिकिस्त संक्रमित र स्वस्थ संक्रमित केन्द्रीत उपचार केन्द्र सञ्चालन गर्नुपर्नेजस्ता चुनौती रहेका छन्।
बिहीबार (आज) डिसेम्बर १ तारिख नेपालसहित विश्वभरि नै ३५औँ विश्व एड्स दिवस ‘एड्स अन्त्यका लागि समानताको सुनिश्चतता’ भन्ने नाराका साथ मनाइँदै छ।
यो पनि पढ्नुहोस्: