सन्दर्भ : राष्ट्रिय मेलमिलाप दिवस

बीपीको स्वदेश फिर्तीमा भारतीय चलखेल र अमेरिकी चासो

सन्तोष खडेरी १६ पुष २०७९ ६:५८
बीपीको स्वदेश फिर्तीमा भारतीय चलखेल र अमेरिकी चासो

बीपी कोइराला नेपालको प्रजातान्त्रिक व्यवस्थाका नायक हुन्। प्रजातन्त्रका लागि उनले आजीवन अथक संघर्ष गरे। ब्रिटिस उपनिवेशविरुद्ध भारतीय स्वतन्त्रता आन्दोलनका क्रममा उनी सन् १९४२ देखि ४५ सम्म भारतीय जेलमा बन्दी पनि भए।

नेपाली कांग्रेसको गठनसँगै नेपालको राणा शासनविरुद्धको आन्दोलनमा सन् १९४७ र १९४८–४९ गरी दुईपटक जेल परेका थिए। २००७ सालमा नेपालमा प्रजातन्त्र आएलगत्तै अन्तरिम सरकारमा नौ महिनासम्म उनी गृहमन्त्री भएका थिए।

२०१५ सालमा सम्पन्न मुलुकको पहिलो आमनिर्वाचनबाट दुई तिहाई बहुमत प्राप्त गरी उनी २०१६ जेठ १३ मा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री भए। त्यसको १८ महिनामा तत्कालीन राजा महेन्द्रले सैन्यबलका आधारमा उनलाई अपदस्थ गरी जेल पठाएका थिए। बिना कुनै मुद्दा र सुनुवाइ लगातार आठ वर्षसम्म जेलमा राखेपछि २०२५ कात्तिक १४ मा उनी रिहा भए। रिहा भएलगत्तै भारत निर्वासित भएका उनी त्यसको अर्को आठ वर्षपछि अर्थात् २०३३ सालमा नेपाल फर्किएका थिए। नेपाल फर्किँदा उनलाई विमानस्थलमै पक्राउ गरिएको थियो।

आठ वर्ष थुनापछि २०२५ (सन् १९६८) सालमा उनी रिहा हुनासाथ भारत गए। थुनामुक्त भएलगत्तै बीपीले राजासँग भेट गर्ने कोसिस गरे तर सफल भएनन्। थुनालगत्तै आफ्नो उपचारका लागि उनी बम्बई (अहिलेको मुम्बई) पुगेका थिए।

त्यहाँ पनि आफैँ एक कदम अगाडि बढेर लन्डनबाट बम्बई ओर्लिएका राजालाई स्वागत गर्न विमानस्थल पुगेका थिए। भेट गर्ने इच्छा व्यक्त गर्दा राजाले भेट्न अस्वीकार गरे। राजा काठमाडौँ र बीपी विराटनगर आए। जहाँ उनले क्रान्तिकारी भाषण गरे।

त्यसपछिको स्थिति केही असहज भयो। उक्त भाषणले काठमाडौँमा नकारात्मक प्रतिक्रिया पायो। त्यसलाई गलत रूपले व्याख्या गरी राजालाई उचाल्ने र बीपीलाई तर्साउने खेल चल्यो।

बीपीले गिरिजाप्रसाद कोइरालालाई काठमाडौँ पठाएर बुझ्न लगाए। गिरिजाले राजालाई भेट्न खोजे। तर राजाले भेट दिएनन्। त्यसपछि प्रधानमन्त्री सूर्यबहादुर थापालाई भेटे। ‘भाषणका कारण तपाईंको दाजु फेरि समातिन सक्नुहुन्छ’ भनेर थापाले उल्टै गिरिजालाई तर्साए। त्यसपछि बीपी फेरि भारततर्फ लागे।

२०१७ सालमा राजाले प्रजातन्त्र मासे। बीपीसहित अरू नेता जेल परे पनि सुवर्णशमशेर भने कलकत्तामा थिए। कलकत्ताबाटै उनको नेतृत्वमा कांग्रेसले राजा महेन्द्रको शासनविरुद्ध अर्को संघर्ष सुरु गर्‍यो। भारतीय भूभागमा बसेर गरिने संघर्षमा भारतीय समर्थन रह्यो।

सन् १९६२ मा भारत र चीनबीच सीमायुद्ध भएपछिको बदलिँदो परिस्थितिमा नेपाली कांग्रेसको उक्त आन्दोलन विफल भयो। भारतले नेपाली कांग्रेसले थालेको राजाविरुद्धको संघर्षमा सघाउनेभन्दा पनि राजासँग मिलेर अगाडि बढ्ने रणनीति अख्तियार गर्‍यो।

सन् १९६८ को मेमा सुवर्णशमशेरले कलकत्ताबाट राजासँगको संघर्ष त्याग्ने र उनको कदमलाई समर्थन मिल्ने व्यहोराको वक्तव्य निकालेका थिए। बीपी र गणेशमानले सो वक्तव्यको समर्थन गरेर रिहा भएका थिए। समर्थन गर्न नमानेका कृष्णप्रसाद भट्टराई भने थप केही समय नेपालको जेलमा रहे।

बीपी भारत पुगेपछि उनमा फेरि क्रान्ति गर्ने सोच पलायो। त्यसका लागि आर्थिकदेखि हतियारसम्म जुटाउन उनले भारतलाई मात्र होइन युरोपेली मुलुकलाई समते गुहारे। भारतको सहयोगबिना अन्य युरोपेली मुलुकले केही गर्न नसक्ने तर भारतले सहयोग गर्‍यो भने आफूहरूको आवश्यकता नपर्ने उनीहरूको भनाइ थियो।

भारत पुगेको दुई वर्षपछि सन् १९७० अगस्तमा बीपीले समाजवादी सम्मेलनमा भाग लिन र उपचार गर्न युरोप जान नेपाल सरकारसँग राहदानी माग गरे। तर उनलाई नेपालले राहदानी नदिएपछि भारत सरकारले जारी गरिदिएको ट्राभल डकुमेन्टका आधारमा उनले युरोपका केही मुलुकको भ्रमण गरे।

नेपालमा क्रान्ति गर्नका लागि केही हतियार जुटाए। तर सन् १९७१ मा पाकिस्तानको विभाजन र बंगलादेश उदय हुन लागेपछि भारतको अनुरोधमा बीपीले जम्मा गरेका ती हतियार बंगलादेशीलाई दिएका थिए।

सन् १९७२ जनवरीमा राजनीतिका कुटिल खेलाडी अनुभवी राजा महेन्द्रको अकस्मात् निधन भयो। अनुभवविहीन नवयुवक वीरेन्द्र राजगद्दीमा बसे। देशभित्र दलविहीन पञ्चायती शासन व्यवस्था त्यति लोकप्रिय र सर्वस्वीकार्य थिएन।

पाकिस्तानको विभाजनबाट बंगलादेशको उदय र सिक्किमको भारतमा विलयपछि परिस्थितिले जटिल मोड लिएको थियो। इन्दिरा गान्धी भारतमा त चुनौतीविहीन भइन् नै विश्वका शक्तिराष्ट्रको स्वार्थ आपसमा बाझिँदा त्यसको लाभ उठाउँदै उनी सर्वशक्तिमान भएर निस्किइन्।

सन् १९७२ जनवरीमा राजनीतिका कुटिल खेलाडी अनुभवी राजा महेन्द्रको अकस्मात् निधन भयो। अनुभवविहीन नवयुवक वीरेन्द्र राजगद्दीमा बसे। देशभित्र दलविहीन पञ्चायती शासन व्यवस्था त्यति लोकप्रिय र सर्वस्वीकार्य थिएन।

पञ्चायत व्यवस्थाप्रति आस्थावान् जनप्रतिनिधि रहे पनि शासनसत्ताको केन्द्रबिन्दु राजदरबार थियो। राजा महेन्द्रका पालामा शक्तिशाली राजदरबार सचिवालय राजा वीरेन्द्रको पालामा झनै शक्तिशाली भयो।

राजदरबारका सचिव नै असली शासकजस्ता थिए। त्यही बेला नेपाली कांग्रेसको सशस्त्र क्रान्तिको केही स्वरूप नेपालमा देखिन थाल्यो। सन् १९७३ जुनमा नेपाली कांग्रेसको अगुवाइमा ३० लाख रुपैयाँ बोकेको विमान विराटनगरबाट अपहरण भयो।

सन् १९७४ मा कोसी अञ्चल प्रहरी कार्यालयमा ग्रिनेड हमला र त्यही डिसेम्बरमा ओखलढुंगा काण्ड भयो। नेपालको पञ्चायती शासनविरुद्ध नेपाली कांग्रेसले सशस्त्र चुनौती दिएको थियो। जसका नेता एकातिर भारतमा शरण लिएर बसिरहेका थिए। अर्कोतिर भारतमा इन्दिरा गान्धीको शासन व्यवस्था विश्वमानचित्रबाट कुनै देशको भूगोल नै परिवर्तन गर्ने गरी चरम उत्कर्षमा थियो।

भारत सरकारको प्रत्यक्ष हस्तक्षेपमा भएको पाकिस्तान विभाजनबाट बंगलादेशको उदय र त्यसपछि सिक्किम विलयको संकेत स्पष्ट देखेकाले नै होला राजा वीरेन्द्रले आफ्नो राज्याभिषेक समारोहमा नेपाललाई ‘शान्ति क्षेत्र घोषणा गरियोस्’ भन्ने प्रस्ताव अगाडि सारे।

इन्दिरा गान्धीको सर्वशक्तिमान छविलाई समेत चुनौती दिने गरी भारतभित्र केही आन्तरिक परिस्थिति बदलिए। त्यसपछि उनले सन् १९७५ जुनमा भारतमा आन्तरिक आपत्काल घोषणा गरिन्। त्यसपछि उनले धमाधम आफ्ना विरोधीहरूलाई पक्राउ गरी जेलचलान गर्न थालिन्।

त्यसपछिको अवस्था झन् असहज र भयावह भयो। ओखलढुंगा काण्डको असफलतापछि बीपीको पनि क्रान्तिप्रतिको धारणामा केही परिवर्तन भयो। भारतमा उनको घनिष्ठ सम्बन्ध सत्तारुढ कंग्रेसका नेतासँगभन्दा बढी प्रतिपक्षी समाजवादीसँग थियो। बीपीका नजिकका समाजवादी नेता जयप्रकाश नारायण २६ जुन १९७५ मा गिरफ्तार भए। उनको कमजोर स्वास्थ्य अवस्थाका कारण पाँच महिनापछि उनी रिहा भएका थिए।

बीपीले नेपाल पुगेपछि इन्दिरा गान्धीको छलकपट, दोधारे व्यवहार र अन्योलपूर्ण वातावरणबाट मुक्त भएकाले हलुंगो ठानेको छु भनी उल्लेख गरेकाले उनले त्यहाँ त्यति सहज महसुस गरिरहेका थिएनन् भन्ने बुझिन्छ।

दक्षिण एसियाली मुलुकका नेतासँग प्रायः भारतीय राजनीतिक नेतृत्वले भन्दा पनि सुरक्षा एवं खुफियातन्त्रले सम्बन्ध राख्ने गर्छ। अधिकांश समयमा भारत सरकारले तिनै सुरक्षा एवं खुफिया एजेन्सीकै योजनालाई कार्यान्वयन गर्छ। आपत्काल लागेपछिको अवस्थामा भारतमा रहँदा बीपीलाई तिनै एजेन्सीले कतै कुनै प्रभाव वा दबाबमा पारेका थिए कि भन्ने पनि बुझिन्छ। त्यतिबेला बीपीलाई कुनै अदृश्य शक्तिले नेपालको सत्तामा पुर्‍याइदिन्छौँ भनेको भन्ने भनाइ अन्य समकालीन नेताहरूका भनाइ एवं लेखबाट बुझिन्छ।

तर त्यतिबेला बीपीलाई पहिलेजस्तै भारतमा स्वतन्त्रतापूर्वक यथावत् तरिकाले बस्न दिएका थिए त? भन्नेमा सन्देह देखिन्छ। स्वयं बीपीले नेपाल पुगेपछि इन्दिरा गान्धीको छलकपट, दोधारे व्यवहार र अन्योलपूर्ण वातावरणबाट मुक्त भएकाले हलुंगो ठानेको छु भनी उल्लेख गरेकाले उनले त्यहाँ त्यति सहज महसुस गरिरहेका थिएनन् भन्ने बुझिन्छ।

आफू भारत निर्वासनमा हुँदा देशको अस्तित्व खतरामा देखेरै त्यसको रक्षाका लागि उनी फर्किएका हुन् त? उनको विज्ञप्तिमा त्यसको केही छनक पाइन्छ। तर त्यसलाई प्रमाणित गर्न उल्लिखित उतिखेरका घटनाक्रमको विश्लेषणभन्दा अरू थप भरपर्दो आधार छैन।

नेपालमा पनि बीपीविरुद्ध विमान अपहरणदेखि अन्य घटनामा राजकाज विद्रोहका मुद्दा लाग्ने अवस्था थियो। उनलाई नेपालमा फाँसीको सजाय पनि हुन सक्थ्यो। यस्तै परिस्थितिमा उनी नेपाल फर्किएका थिए। जसलाई हामीले उनको राष्ट्रिय मेलमिलाप नीतिका रूपमा बुझ्ने गर्छौँ।

त्यसअघिसम्म नेपालमा जनताको प्रजातान्त्रिक अधिकारका लागि कांग्रेसको संघर्ष थियो। त्यसपछि नयाँ आयामका रूपमा कांग्रेसलाई देशको अस्तित्वको रक्षा गर्ने दोहोरो जिम्मेवारी आएको थियो। उनी आफ्नो जीवन दाउमा राखेर नेपाल फर्किएका थिए। जबकि बीपीको त्यस निर्णयमा उनका सहकर्मीहरूसमेत सहमत थिएनन्।

सन् १९७६ को अक्टोबरका अन्तिमतिर उनी नेपाल फर्किने चर्चा थियो। बीपी किन र केका लागि कसरी फर्किँदैछन् भन्ने कुरामा धेरैको चासो थियो। त्यतिखेर आमवृत्तमा चलेको चर्चालाई लिपिबद्ध गरी नेपालस्थित अमेरिकी दूतावासले आफ्नो सरकारलाई पठाएको रहेछ। दिल्लीस्थित अमेरिकी दूतावासले समेत त्यस्ता केही चर्चा पठाएको रहेछ।अमेरिकी अभिलेखका आधारमा त्यतिबेलाका केही सार्वजनिक चर्चाका आधारमा प्रस्तुत आलेख तयार पारएको हो।

नेपालमा पञ्चायतका ‘हार्ड लाइनर’ मानिने डा. तुलसी गिरी प्रधानमन्त्री थिए। राजा वीरेन्द्र अरू कांग्रेस कार्यकर्तालाई आममाफी दिन तयार थिए। तर सशस्त्र आक्रमणमा संलग्न रहेका राजकाजविरुद्धका अभियुक्तलाई भने कानुनअनुसार नै कारबाही हुने भन्नेमा निश्चित थिए।

भारतमा विस्फोट र विध्वंसको अभियोगमा त्यहाँका नेता जर्ज फर्नान्डिस पक्राउ परेका थिए। उनले पश्चिमी युरोपबाट अवैध हतियार ओसारपसारमा बीपीको समेत संलग्नता छ, त्यस्तै नेपालको विमान अपहरणको रकम त्यसमा प्रयोग र सोही हतियार नेपाल भित्रिएको बयान दिए भारतमा बीपीलाई अप्ठ्यारो पर्ने चर्चा पनि थियो।

एकथरी भनाइअनुसार बीपी आफ्नो कमजोर स्वास्थ्य अवस्थाका कारण नेपाल फर्किन चाहन्थे। किनकि उनले आफ्नो जीवनको बाँकी समय नेपालमा व्यतीत गर्न र देह यहीँ त्याग्न चाहन्थे। अर्कोथरी बीपी नेपालमा बढ्दो चिनियाँ प्रभावबाट चिन्तित थिए। त्यसैले नेपाललाई कम्युनिस्ट पोल्टामा जानबाट रोक्न चाहन्थे।

बीपीनजिकका भारतीय समाजवादी नेता जयप्रकाश नारायणको टिप्पणी थियो, ‘बीपीको भारतसँग यति मोहभंग भइसक्यो कि उनी अब कुनै भारतीयको तुलनामा नेपालका निरंकुश शासकलाई मान्न तयार छन्।’

एकथरीले प्रधानमन्त्री गिरीलाई उकासिरहेका थिए- बीपीलाई शान्तिपूर्वक यहाँ फर्किन दिने हो भने अर्को दिन उनीहरूले सत्ता आफैँ लिन्छन्। त्यसैले उनीहरूलाई सहज फर्किन दिनु हुँदैन। नेपाल आउनासाथ कडा कारबाही गर्नुपर्छ।

जयप्रकाशको यो भनाइ र बीपी इन्दिरालाई नेता मान्नुभन्दा आफ्नै देशका राजालाई नेता मान्छु भनेर फर्किएका हुन् भन्ने भनाइ आज पनि चर्चाको विषय छ।

बीपीको नेपाल फिर्ता हुनुमा भारतले नेपालमा राजनीतिक संकट सिर्जना गर्न चाहेको भन्ने भनाइमा कुनै दम नभएको त्यतिबेलाको अमेरिकी विश्लेषण थियो।

एकथरीले प्रधानमन्त्री गिरीलाई उकासिरहेका थिए- बीपीलाई शान्तिपूर्वक यहाँ फर्किन दिने हो भने अर्को दिन उनीहरूले सत्ता आफैँ लिन्छन्। त्यसैले उनीहरूलाई सहज फर्किन दिनु हुँदैन। नेपाल आउनासाथ कडा कारबाही गर्नुपर्छ। त्यस्तै नेपाल सरकारले बीपीलाई फेरि गुपचुप रूपमा भारत फर्काउँछ भन्नेको पनि कमी थिएन।

तर नेपालस्थित अमेरिकी दूतावासले नाम उल्लेख नगरेको बीपीका नजिकका कांग्रेस कार्यकर्तालाई उधृत गर्दै लेखेको छ, प्राप्त जानकारीअनुसार राजा बीपीलाई क्षमादान दिने पक्षमा छैनन्। उनीविरुद्ध केही अभियोग छन्। उनी नेपाल फर्किएपछि नेपालको कानुनअनुसार मुद्दा चल्नेछ र उनले त्यसको सामना गर्नुपर्नेछ।

बीपीलाई फाँसीको सजाय हुन सक्नेसम्मको राजकाजविरुद्धको अभियोग लगाइए पनि उनको प्राणहरण गरिनेछैन भन्नेमा धेरै जना विश्वस्त थिए। किनकि बीपीको प्राणहरण नै गर्ने किसिमको जोखिम मोल्न पञ्चायत सरकार पनि तयार थिएन।

आफू गिरफ्तार हुने र मुद्दा चल्नेमा भने बीपी विश्वस्त भएर फर्किएका हुन्। नेपाल फर्किनुअघि उनले एउटा सार्वजनिक अपिल गरे। त्यसलाई कांग्रेसका आम कार्यकर्तामाझ पुस्तिका नै छपाएर पुर्याए।

१३ डिसेम्बरमा दिल्लीस्थित अमेरिकी दूतावासका अधिकारीले भारतीय विदेश मन्त्रालयका अधिकारीसँग नेपाली कांग्रेसको गतिविधि र बीपीबारे जिज्ञासा राखेका थिए। तर जवाफमा उनीहरूको गतिविधिलाई भारत सरकारले नजिकबाट नियालिरहेको मात्र बताएका थिए।

१६ डिसेम्बरमा बीपी र गणेशमान सिंह इन्डियन एअरलाइन्सको विमानबाट २० डिसेम्बरमा काठमाडौँ फर्कने खबर विश्वस्त स्रोतमार्फत अमेरिकी पक्षले प्राप्त गरेको थियो। उनीहरूलाई आफू विमानस्थलबाटै गिरफ्तार हुनेमा विश्वस्त भएकाले कार्यकर्तालाई न्यानो लुगाफाटासहित विमानस्थलमा बोलाएका छन् भन्ने थियो।

बीपी २० डिसेम्बरमा नेपाल फर्किएनन्। उनी नफर्कनुका कारणमा पहिलो नेपाली पक्षले भारतीय पक्षलाई बीपीलाई नेपाल जान नदिनु भन्ने आग्रह गरेको र दोस्रोमा स्थानीय कांग्रेस कार्यकर्ताले उनलाई नफर्कन आग्रह गरेको भन्ने थियो। नेपालस्थित भारतीय दूतावास र धेरै नेपालीले भने बीपी आफ्ना कार्यकर्ताको शक्ति सामथ्र्य परीक्षणका लागि फर्किन्छन् भन्ने थियो।

अन्ततः २८ डिसेम्बरमा बीपीले पटनामा सञ्चारकर्मीमाझ आफू ३० डिसेम्बरका दिन नेपाल फर्किने जानकारी गराए। यो जानकारी दिल्लीस्थित अमेरिकी दूतावासले नेपालस्थित अमेरिकी दूतावास र वासिङ्टनस्थित स्टेट डिपार्टमेन्टलाई गराएको थियो। (नेपाल र दिल्लीस्थित अमेरिकी दूतावास र वासिङ्टनस्थित स्टेट डिपार्टमेन्टको बीचमा भएका विभिन्न पत्राचार।)

३० डिसेम्बर १९७६ का (१५ पुस २०३४) दिन पटनाबाट बीपी, गणेशमान, शैलजा आचार्य, नीलाम्बर पन्थी, रामबाबु र खुमबहादुर खड्का शाही नेपाल वायुसेवा निगमको जहाजबाट काठमाडौँका लागि उडे।

पारिवारिक सदस्य, मित्र एवं अन्य धेरै कार्यकर्तासहित जयप्रकाश नारायण बीपीलाई बिदा गर्न आफैँ पटना विमानस्थल पुगेका थिए। उनीहरूलाई लिएर उडेको विमान बिहान साढे ११ बजे काठमाडौँमा अवतरण भयो।

बीपीलाई स्वागत गर्न कृष्णप्रसाद भट्टराईलगायत धेरै कांग्रेस नेताकार्यकर्ता, समर्थक, आफन्त, परिवारजनसहित पत्रकारसमेत विमानस्थलबाहिर उपस्थित थिए।

विमान अवतरण हुनासाथ धावनमार्गको टाढाको कुनातिर लगियो। बीपीसहित चार जनालाई त्यहीँ ओरालियो। उनीहरूकै लागि बनाइएको एउटा पालमा सबैलाई लगियो। केही बेरमा उनीहरूलाई त्यहाँ छुट्याइयो। त्यहाँबाट बीपी र गणेशमानलाई एउटा जिपमा राखेर सुन्दरीजल बन्दीगृहतर्फ लगिएको थियो। अन्यलाई अर्कोतर्फ लगियो। उनीहरूसँग आउने सबै गिरफ्तार भए।

‘बीपी र गणेशमानलाई सुन्दरीजल जेलमा राखिएको छ। उनीहरूलाई जेलमा मानवीय व्यवहार गर्न सरकारले निर्देशन दिएको भए पनि कडा सुरक्षा पहरामा राखिएको र कसैसँग कुरा गर्न पूर्ण निषेध गरिएको छ।

बेलुकी उनीहरूलाई कारबाहीका लागि हिरासतमा लिएको जानकारी त राष्ट्रिय समाचार समितिको बुलेटिनबाट जारी भयो। तर कहाँ राखिएको छ भन्नेबारे भने कुनै जानकारी गराइएन। त्यतिबेला राजा वीरेन्द्र आफ्नो पश्चिम नेपाल भ्रमणका क्रममा पोखरामा थिए। राजाको सवारीका लागि प्रधानमन्त्री गिरीसमेत त्यतै थिए।

उनीहरूलाई नियन्त्रणमा लिएको पाँच दिनसम्म पनि कहाँ राखिएको छ भन्ने वास्तविकता अमेरिकी दूतावासले समेत पाएको रहेनछ। दूतावासले ३ र ७ जनवरी १९७७ मा पठाएको तारमा उल्लेख गरिएको अवस्था यहाँ उल्लेख गरिएको छ।

‘एकथरीले उनीहरूलाई राजाको सामुन्नेमा उपस्थित गराउन पोखरा लगेको भन्छन्। अर्कोथरीले भने उनीहरूलाई नियन्त्रणमा लिएर काठमाडौँको कुनै स्थानीय जेलमा राखेको भन्छन्।

भोलिपल्ट अखबारमा बीपी, गणेशमान र अन्य समर्थकलाई आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिइएको छ भन्ने समाचार प्रकाशित भएको थियो।

पोखरामा राजाका साथमा रहेका प्रधानमन्त्री गिरीले राष्ट्रविरोधी तथा विध्वंसको अपराधमा पक्राउ परेका बीपी तथा उनका सहयोगीविरुद्ध कानुनअनुसार उचित कारबाही गरिने बताए। यस्ता मानिसहरू आफ्नो राजनीतिक स्वार्थ पूरा गर्नका निमित्त मुलुक बिक्री गर्न पनि पछाडि पर्दैनन् भन्ने गिरीको भनाइ छ। त्यस्तै बीपी नेपाल फर्किनुको भित्री उद्देश्य भने दरबार र सरकारले थाहा पाउन सकेको छैन।’

७ जनवरीको अर्को तारमा उल्लेख छ : ‘बीपी र गणेशमानलाई सुन्दरीजल जेलमा राखिएको छ। उनीहरूलाई जेलमा मानवीय व्यवहार गर्न सरकारले निर्देशन दिएको भए पनि कडा सुरक्षा पहरामा राखिएको र कसैसँग कुरा गर्न पूर्ण निषेध गरिएको छ। यहाँ बीपीले तयार गरेको पर्चा छरेर प्रदर्शन गर्ने एकसयजति समर्थक प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको छ। दरबार र सरकारले बीपीको नेपाल फिर्तीबाट कांग्रेसले के प्रतिफल प्राप्त गर्न चाहन्छ भन्नेबारे केही प्रकाश पार्न सकिरहेका छैनन्।

सरकार बीपीलाई कारबाही गर्ने पक्षमा छ तर दरबार भने राजतन्त्र र पञ्चायतलाई समर्थन गरेमा उनलाई स्वतन्त्र रहन दिने पक्षमा छ। बीपी राजासँग भेटेर आफ्ना कुरा राख्न चाहन्छन् र उनी कुनै पनि हालतमा पञ्चायतलाई समर्थन गर्न तयार हुने छैनन्। उनीहरूलाई ‘सार्वजनिक सुरक्षा कानुन’अन्तर्गत थुनामा राखिएको छ।

राज्यविरुद्ध गतिविधि गर्नेलाई न्यायिक इजलास गठन गरी राजद्रोहको आरोपसहित इजलाससमक्ष छिट्टै पेस गरिनेछ। यहाँका अधिकांश अखबारले बीपीको चर्को आलोचना गरिरहेका छन्।’ (नेपालस्थित अमेरिकी दूतावास र वासिङ्टनस्थित स्टेट डिपार्टमेन्टको पत्राचार ३ /७ जनवरी १९७७)

बीपी नेपाल फर्किँदा विमानस्थलबाटै गिरफ्तार भएर सुन्दरीजल बन्दीगृहमा बन्दी हुन पुगेका थिए। तर उनले बन्दीगृहको वातावरणमा आफूलाई हलुंगो भएको उल्लेख गरेका छन्। उनी त्यतिबेला सुन्दरीजल बन्दीगृहमा रहँदा लेखेको डायरीमा लेखेका छन् :
‘इन्दिरा गान्धीको छलकपट, दोधारे व्यवहार र त्यहाँको अन्योलपूर्ण वातावरणबाट मुक्त भएकोमा मलाई हलुंगो भइरहेको छ।’ (फेरि सुन्दरीजल जेल डायरी २०३३–३४)

कांग्रसले संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंहलगायतका नेता लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ का रुपमा मनाउँदै आएको छ।

प्रकाशित: १६ पुष २०७९ ६:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast