पेले : ब्राजिलका सच्चा दूत

हिमाल प्रेस १५ पुष २०७९ १७:०३
20
SHARES
पेले : ब्राजिलका सच्चा दूत

आफ्ना अगाडि उभिएका साना फुटबलरहरूलाई सम्बोधन गर्दा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनलाई यति चाहिँ थाहा थियो, यी उनलाई हेर्न आएका होइनन्। ‘म रोनाल्ड रेगन,’ सम्बोधनको सुरुमै रेगनले भने। उनले आफ्नो परिचय त दिए, तर उनीसँगै उभिएका अर्का व्यक्तिको परिचय दिन आवश्यक थिएन।

किनभने उनी थिए पेले।

पेलेले भेटेको पहिलो अमेरिकी राष्ट्रपति थिएनन्, रेगन। त्यसअघि उनले तीन राष्ट्रपतिलाई भेटिसकेका थिए। यो सिलसिला रिचार्ड नेक्सनबाट सुरु भएको थियो। जब जब पेलेलाई भेट्थे, अमेरिकी राष्ट्रपति ब्राजिलका यी महान् खेलाडीले विश्व फुटबलमा पुर्‍याएको योगदानबारे चर्चा गर्थे।

८२ वर्षको उमेरमा शुक्रबार धर्ती छाडेका पेले ब्राजिलका सच्चा दूत थिए। ब्राजिलले गर्व गर्ने धेरै कुरा छन्। तीमध्ये पेले पनि एक हुन्। ब्राजिलले गर्व किन नगरोस् जबकि पेलेले १७ वर्षको उमेरमा आफ्नो देशलाई विश्वकप विजेता बनाएका थिए। सन् १९५८ अघि ब्राजिलले विश्वकप नै जितेको थिएन।

त्यही बेलादेखि पेले ब्राजिलको राष्ट्रिय परिचयको हिस्सा बनेका हुन्। उसो त एउटा कुनै पनि देशको राष्ट्रिय परिचयमा एउटा व्यक्तिको महत्त्व कति हुन्छ भन्न गाह्रो छ। सायद यो बहसको विषय हो। तर पेले बाँचुन्जेल विश्वका प्रसिद्ध र शक्तिशाली व्यक्तिहरूमाझ रहे। उनी आफैँ पनि सधैँ विश्वका प्रख्यात व्यक्तिहरूको सूचीमा रहिरहे। दोस्रो विश्वयुद्धपछि विश्वमा आफ्नो स्थान खोजिरहेको ब्राजिलका अगुवामध्येका एक थिए पेले।

पेलेले सन् १९५८ को विश्वकप खेल्न स्विडेन जाँदाको अनुभव पटकपटक स्मरण गरेका थिए। त्यसबेला स्विडेनमा ब्राजिललाई चिन्ने मान्छे असाध्यै थोरै भेटेर पेलेको मन अमिलो हुन्थ्यो। पेलेलाई लाग्थ्यो, आफू जन्मिएको देश ब्राजिल विश्वकै सबैभन्दा राम्रो देश हो। तर युरोप पुगेपछि उनले थाहा पाए, ब्राजिलबारे ज्ञान राख्ने मान्छे धेरै रहनेछन्।

उसो त पेले ब्राजिलबारे जे सोच्थे, त्यो धेरैजसो ब्राजिलियनलाई मान्य थिएन। कारण? सन् १९५० को विश्वकप फाइनल। आफैँले आयोजना गरे विश्वकपको फाइनलमा ब्राजिल उरुग्वेसँग हारेको थियो। यो नतिजाले धेरैजसो ब्राजिलियनको मनमा परेको थियो, हामी त कमजोर रहेछौँ। र यो विचार फुटबलमा मात्र सीमित थिएन।

हुन त ब्राजिलियन लेखक नेल्सन रोड्रिगेजले विश्वकप खेल्न स्विडेन गएको ब्राजिल कमजोर नभएको आफ्ना लेखहरूमा उल्लेख गरेका छन्। पेले र उनी जस्तै युवा खेलाडीले भरिएको ब्राजिल उत्साहित भएर स्विडेन ओर्लिएको लेखेका छन्। ‘ब्राजिलसँग पेले छन्। उनी जत्तिकै प्रतिभावान् खेलाडी अरू पनि छन्। यसकारण ब्राजिल सामान्य टिम होइन। ब्राजिलसामुन्ने पर्दा अरू टिम डराउनेछन्,’ रोड्रिगेजले त्यसबेला लेखेका थिए।

ब्राजिलले यस्तोबला विश्वकप जित्यो जतिबेला ऊ विश्व फुटबलमा पहिचानको खोजीमा थियो। यही विश्वकपले पेलेलाई संसारभर चिनायो। त्यसपछि त उनी ब्राजिलको पर्याय नै भइहाले। ब्राजिल यतिमै रोकिएन। सन् १९६२ र १९७० मा विश्वकप विजेता बन्यो। तीपल्ट विश्वकप जितेपछि पेलेको व्यक्तित्व स्वतः स्थापित भयो। फुटबल मैदानमा सफल भइरहेको ब्राजिलले आर्थिक क्रान्ति पनि गरिरहेको थियो। ब्राजिलको साम्बा संगीतले विश्व बजार पिटिरहेको थियो।

जबजब पेलेबारे चर्चा गरिन्छ, उनको सामाजिक पृष्ठभूमि चर्चाको हिस्सा बन्छ। पश्चिमी दुनियाँमा दास प्रथा हटाउने अन्तिम देश हो ब्राजिल। त्यहाँ सन् १८८८ मा दास प्रथा हटेको थियो। त्यसको ठ्याक्कै ५२ वर्षपछि जन्मिएका थिए पेले। दास प्रथा हटे पनि ब्राजिलको अश्वेत समुदायको जीवनस्तर उकासिएको थिएन। तब त पेले सानो हुँदा जुत्ता पालिस गर्ने काममा लाग्नुपर्‍यो।

यसकारण उनको उदय ब्राजिलको समस्त अश्वेत समुदायका लागि गर्वको कुरा थियो। सायद गर्वभन्दा बढी आवश्यकता थियो। हुन त पेले आफ्नो सामाजिक पृष्ठभूमिबारे खासै चर्चा गर्दैन थिए। आफ्नो करियरमा पेलेले रंगभेदी व्यवहारको सामना गर्नुपर्‍यो कि परेन, यसबारे बोलेको पनि सुनिएन। तर उनी बेलाबखतमा के चाहिँ भन्थे भने ब्राजिल एक रंगभेदी लोकतान्त्रिक देश हो। पेलेले राजनीतिक रंग पनि देखाएनन्। ब्राजिलमा तानाशाही व्यवस्था हुँदा पनि पेलेले त्यसको विरोध गरेनन्। न त फुटबललाई प्रयोग गरेर समाजमा आफ्नो पकड बलियो बनाउने सेनाको उद्देश्यविरुद्ध केही बोले।

‘त्यसबेला उनलाई अश्वेतले सबै कुरा स्वीकार गर्नुपर्छ भन्ने लागेको थियो होला। उनको चरित्र आमअश्वेतको जस्तै थियो, जो ‘यस सर’ भनेर खुरुखुरु आफ्नो काम गर्थे। तर पेलेले के बुझेनन् भने उनको एक शब्दले ब्राजिलमा ठूलो महत्त्व राख्ने थियो,’ ब्राजिल राष्ट्रिय टिममा पेलेसँगै खेलेका पाउलो सेजार लिमाले भनेका छन्।

पेलेका अरु साथी भने यस्तो सोच्छन्, ‘पेले विश्व फुटबलमा छाउनु भनेको सबै अश्वेत ब्राजिलियनले पहिचान पाउनु थियो। पेले त्यसबेलको तानाशाही व्यवस्थाविरुद्ध लड्न सक्ने स्थितिमा थिएनन्। किनभने त्यसले उनलाई खतरामा पार्थ्यो।’

सन् १९६६ को विश्वकपमा ब्राजिल समूह चरणबाटै बाहिरियो। इंग्ल्यान्डमा भएको त्यो विश्वपकमा पेलेले भने जस्तो खेल्न सकेनन्। त्यहाँ विपक्षी टिमका खेलाडीको प्राथमिक रणनीति हुनथ्यो, पेलेमाथि अनगिन्ती फउल गर्ने। दिक्क बनेका पेलेलाई लाग्यो यही नै अन्तिम विश्वकप हो। त्यसकारण उनले चार वर्षपछिको विश्वकपमा खेल्ने इच्छा गरेनन्। ३० वर्ष पुग्न लागेकाले उनले नयाँ खेलाडीलाई मौका दिन आग्रह गरिरहे।

तर त्यसबेला ब्राजिलको सत्ता लिएको सेना चाहन्थ्यो, पेले जसरी हुन्छ विश्वकप खेल्न मेक्सिको जाऊन्। पेले आफ्नो इच्छाविपरीत विश्वकप खेल्न गए। मेक्सिकोमा ब्राजिलले विश्वकप जित्छ भनेर न त उनी आफैँले, न त समर्थकले आशा गरेका थिए।

फाइनलमा इटालीलाई ४–१ ले हराउँदै ब्राजिल तेस्रो पटक विश्वकप विजेता बन्यो। उपाधि दाबेदार नमानिएको ब्राजिलियन टिम ट्रफी बोकेर फर्कदा देशभर हर्षबढाइँ हुने नै भयो। घरेलु राजनीतिका कारण अप्ठ्यारोमा परेको ब्राजिललाई खुसी हुने कारण चाहिएको थियो। त्यो कारण बने पेले र उनका साथीहरू।

‘मैले ब्राजिलका लागि फुटबलको माध्यमबाट योगदान गरे। जति सक्थे त्यति गरे। देशका लागि मेरो योगदान राजनीतिज्ञहरूको भन्दा बढी रह्यो जस्तो लाग्छ,’ पेलेले आफ्नोबारे नेफ्लिक्सले निर्माण भएको वृत्तचित्रमा भनेका छन्।

पेले आफू मात्र उदाएनन्, ब्राजिलको फुटबललाई पनि उकासे। १५ वर्षका पेलेलाई डेब्यु गराएको सान्तोस विश्वभर चिनियो। स्टार पेलेसम्मिलित सान्तोस केही महिनाका लागि युरोप भ्रमणमा निस्किन्थ्यो। त्यहाँका ठूला ठूला क्लबसँग खेल्थ्यो। तिनै खेलका कारण युरोपका क्लबले ब्राजिललाई चिन्न थाले, पेलेलाई मान्न थाले।

जति पटक युरोप भ्रमणमा गए पनि पेले घर फर्किन्थे। फेरि उनीसँग विकल्प पनि थिए। किनभने उनलाई ब्राजिलले राष्ट्रिय सम्पत्ति घोषणा गरेको थियो। जसकारण उनी ब्राजिलबाहिरका क्लबबाट खेल्न पाउँदैन थिए। सान्तोससँग आबद्ध भइरहे पनि उनलाई विभिन्न कम्पनीसँग प्रायोजन सम्झौता गर्न छुट थियो। पेलेलाई विश्व फुटबलमा ‘स्पोर्ट स्पोन्सरसिप’ भित्र्याउने खेलाडी पनि मनिन्छ। ब्राजिलका मुख्य सहरहरूमा टाँगिएका विभिन्न वस्तुका विज्ञापनमा पेले हुन्थे।

पेलेका साथी भन्थे, ‘पेले फुटबलमा मात्र होइन, सामान बेच्न पनि माहिर छन्।’ सन् १९७५ मा भने उनी ब्राजिलबाट निस्किए, अमेरिकी क्लब न्युयोर्क कस्मससँग अनुबन्धित भए। तीन वर्षका लागि सम्झौता गरेका उनलाई ६० लाख अमेरिकी डलर दिइयो। आजका दिनमा त्यो सम्झौतालाई तीन करोड ४० लाख अमेरिकी डलरबराबर मानिन्छ।

अमेरिकी लिगमा खेल्न सुरु गर्दा पेले ३४ वर्ष भइसकेका थिए। करियरको उत्तरार्धमा पुगिसकेका उनलाई अनुबन्ध गर्नुको एउटै कारण थियो, नाम। पेले खेलाडी मात्र होइन, ब्राजिललाई विश्वभर चिनाउने दूतमा रूपान्तरण भएका थिए। उनी अब मैदानभित्र भन्दा बढी बाहिर व्यवस्त हुन थाले। विश्वका ठूला ठूला कम्पनीका मालिकसँग हिँडडुल गर्थे। विभिन्न देशका राष्ट्रपतिहरूसँग भेटघाट गर्थे। उनले आह्वान गर्दा गृहयुद्ध रोकिन्थे।

ब्राजिल पहिचानको खोजीमा थियो। पहिचान फुटबलले दिलायो। अनि यो पहिचानको केन्द्र बने पेले।

प्रकाशित: १५ पुष २०७९ १७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast