नयाँ प्रशिक्षकको खोजी भइरहँदा निडर मोरोक्कोसँग भिड्दै ब्राजिल

हिमाल प्रेस ११ चैत २०७९ १५:५६
10
SHARES
नयाँ प्रशिक्षकको खोजी भइरहँदा निडर मोरोक्कोसँग भिड्दै ब्राजिल

काठमाडौँ- विश्वकप २०२२ पछि टिटेले राजीनामा दिएसँगै ब्राजिल फुटबल टिम प्रशिक्षकविहीन छ। पाँच पटकको विश्वकप विजेताले नयाँ प्रशिक्षक कसलाई नियुक्त गर्छ, टुंगो छैन। यद्यपि यो दौडमा रियल म्याड्रिडका कार्लो एन्सिलोट्टी अगाडि छन् भनिँदैछ।

ब्राजिलकै कतिपय खेलाडीले सार्वजनिक रूपमा एन्सिलोट्टी आफ्नो टिमका लागि उपयुक्त प्रशिक्षक हुने बताइरहेका छन्। यसले पनि इटालेली प्रशिक्षक म्याड्रिडबाट ब्राजिल जाने अनुमान लगाउन गाह्रो छैन।

तर तत्कालका लागि ब्राजिलकै २० वर्षमुनिको टिमका प्रशिक्षक रामोन मेनेजलाई सिनियर टिम पनि जिम्मा लगाइएको छ। उनको नेतृत्वमा ब्राजिल आइतबार बिहान मोरोक्कोसँग आमनेसामने हुँदैछ। विश्वकपमा बिर्सनलायकको प्रदर्शन गरेको ब्राजिलका लागि यो खेल सन् २०२३ को पहिलो हुनेछ।

कतारी भूमिमा सम्पन्न विश्वकपको सेमिफाइनलमा पुगेको मोरोक्कोविरुद्धको खेल ब्राजिलको ताजा सुरुवात हुनेछ। यो ताजा अभियान सुरु गर्ने जिम्मा मेनेजको काँधमा छ। मेनेज हाइप्राफोइल प्रशिक्षक होइनन्, तर उनकै नेतृत्वमा ब्राजिलले गत जनवरीमा २० वर्षमुनिको दक्षिण अमेरिकी प्रतियोगिता जितेको थियो।

मेनेज सिनियर टिमको स्थायी प्रशिक्षकमा नियुक्त हुने सम्भावना न्यून छ। तर यो तथ्यले उनलाई केही फरक पारेको छैन। उनी यसै भन्छन्। यति हुँदाहुँदै पनि मेनेजलाई स्थायी प्रशिक्षक बन्ने इच्छा र सम्भावनाबारे सोधिएको थियो।

आइतबार मोरोक्कोलाई पराजित गरे अनि आगामी मेमा इन्डोनेसियामा हुने २० युवा विश्वकपमा ब्राजिलले राम्रो गरे मेनेजलाई सिनियर टिमको जिम्मेवारी दिने सम्भावना छ? यो प्रश्न पनि थपियो। तर उनले यी प्रश्नको स्पष्ट जवाफ दिएनन्। वा दिन चाहेनन्।

‘यो खेल नै मेरा लागि ठूलो अवसर हो। यो अवसरमा आफूलाई प्रमाणित गर्न म आतुर छु,’ ५० वर्षीय मेनेजले भने, ‘मेरा लागि मात्र होइन, हरेक खेलाडीका लागि ब्राजिलको टिममा समेटिनु महत्त्वपूर्ण अवसर हो। ब्राजिलको जर्सी लगाउन पाउँदा हामी सबै गर्व महसुस गर्छौँ।’

यो खेलका लागि कप्तान चुनिएका कासेमिरोले एन्सिलोट्टीको तारिफ गरे। रियलमा एन्सिलोट्टीको प्रशिक्षणमा खेलेका कारण उनीसँग सम्बन्ध राम्रो भएको कासिमिरोको भनाइ थियो। तर खेलाडीका नाताले एन्सिलोट्टी वा अन्य सम्भावित नयाँ प्रशिक्षकबारे अनावश्यक टिप्पणी गर्न नहुने कासिमिरोले स्पष्ट पारे।

‘प्रशिक्षक मात्र होइन, उनी मेरा मित्र पनि हुन्। विश्व फुटबलमा मैले सम्मान गर्ने व्यक्तिहरूमध्ये उनी पनि एक हुन्। उनीसँग गर्दा मैले सधैँ रमाइलो अनुभव गरेँ, कैयौँ कुरा सिकेँ पनि,’ कासिमिरोले भने, ‘तर उनी हाल रियलसँग आबद्ध छन्। मैले उनलाई र उनी आबद्ध क्लबलाई सम्मान गर्नुपर्छ। फेरि हामीसँग अहिले प्रशिक्षक मेनेज छन्।’

ब्राजिलेली फुटबल संघ (सीबीएफ) ले चाहेजस्तो प्रशिक्षक नभेटे मेनेज स्थायी प्रशिक्षक हुनसक्ने सम्भावना रहेको पनि कासिमिरोको भनाइ थियो। ‘हामी सबै खेलाडी मेनेजलाई सम्मान गर्छौँ। राष्ट्रिय टिमको जिम्मा लिएका प्रशिक्षकलाई आदर नगर्ने कुरै आउँदैन,’ कासिमिरोले भने।

ब्राजिलको टिममा नेयमार, एलिसन लगायतका खेलाडी छैनन्। नेयमार घाइते छन् भने विश्वकप खेलेका लिभरपुलका गोलरक्षक एलिसनलाई टिममा राखिएको छैन। नेयमारको अनुपस्थितिमा म्यानचेस्टर युनाइटेडका एन्टोनी, टोटनहमका रिचारलिसन, रियलका भिनिसियस र रोड्रिगोलगायतले ब्राजिलको अग्रपंक्ति सम्हाल्नेछन्।

नडराई खेल्ने मोरोक्कोको उद्घोष

विश्वकपमा पुग्ने पहिलो अरब टिम बनेको मोरोक्कोका प्रशिक्षक वालिद रेग्रागुईले आफूहरू नडराई ब्रजिलसँग प्रतिस्पर्धा गर्ने बताएका छन्। उनले विश्वकपमा भन्दा भयरहित भएर खेल्ने मौका मोरोक्कोसँग रहको उनको भनाय थियो।

‘विपक्षी बलियो छ भन्दैमा हामी आफ्नो खेल शैली र मानसिकता परिवर्तन गर्दैनौँ। विश्वकपमा हामी कतपिय क्षणमा निडर हुन सकेनौँ। तर यो मैत्रीपूर्ण खेलमा हामीले गुमाउनुपर्ने केही छैन,’ पोर्चुगल र स्पेनजस्ता बलिया टिमलाई पन्छाउँदै मोरोक्कोलाई विश्वकपको अन्तिम चारमा पुर्‍याएका रेग्रागुईले भने।

मोरोक्कोले विश्वकपमा गरेको प्रदर्शनले अरब समुदाय मात्र होइन समग्र अफ्रिका नै उत्साहित बनेको थियो। त्यो उत्साह अझै पनि बाँकी रहेको रेग्रागुईको आशा छ। टान्जियर सहरस्थित इबन बाटौटा रंगशालामा हुने यो खेलको सबै टिकट बिक्री भइसकेको छ।

‘समर्थक हाम्रा लागि १२ औँ खेलाडी हुनेछन्। घरेलु समर्थकका अगाडि हामी ब्राजिलमाथि जित दर्ता गर्न चाहन्छौँ। यो सफलता हाम्रा लागि राष्ट्रिय गौरवको विषय हुनेछ,’ रेग्रागुईले भनेका छन्। इबन बाटौटा रंगशालामा झन्डै ६५ हजार समर्थक भेला हुने विश्वास गरिएको छ।

मोरोक्कोका कप्तान रोमेन साइसले आफूहरू ब्राजिलविरुद्ध अनिवार्य जितको खोजीमा हुने बताए। ‘विश्वकै उत्कृष्ट टिमहरूमध्येको एक ब्राजिलसँग भिड्दा हाम्रो मस्तिष्कमा जितबाहेक अरू केही हुनेछैन। जित्न सके हाम्रा लागि त्यो ठूलो सफलता हुनेछ। जित हासिल गरेर हामी समर्थकसँग खुसीयाली मनाउन र रमाउन चाहन्छौँ,’ साइसले भने। विश्वकप १९९८ मा सहित यी दुई टिम हालसम्म दुई पटक आमनेसामने भएका छन्। दुवै पटक ब्राजिल विजयी भएको थियो।

प्रकाशित: ११ चैत २०७९ १५:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =