पेले : विश्व फुटबलका ‘सदाबहार राजा’

हिमाल प्रेस १५ पुष २०७९ ९:०२
8
SHARES
पेले : विश्व फुटबलका ‘सदाबहार राजा’

काठमाडौँ- पेलेको निधनमा विश्वका विभिन्न देशका राष्ट्रप्रमुख, कलाकार, फुटबलर आदिले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। विश्व फुटबल इतिहासमा तीन पटक विश्वकप जित्ने एक्लो खेलाडी पेलेको शुक्रबार बिहान ब्राजिलको साओ पाओलोमा निधन भएको थियो।

यसपल्टको विश्वकप विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले सामाजिक सञ्जाल इन्स्टाग्राममा पेलेसँग खिचेको तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘पेलेको आत्माले शान्ति पाओस्।’

इंग्ल्यान्डका सर्वकालिन महान् खेलाडी बबी चाल्र्टनले पेले जादुमयी खेलाडी भएको र उनीसँग सँगै खेलेको अनुभव सम्झिँदा गर्व महसुस हुने बताएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले सामान्य पृष्ठभूमिबाट उदाएका पेलेको सफलताको कथा सबैका लागि प्रेरणदायी रहेको बताए। ‘खेलकुदले विश्वलाई जोड्छ। पेले सामान्य पृष्ठभूमिबाट आए, फुटबल लेजेन्डका रुपमा स्थापित भए। मानिसले चाहेमा जे पनि गर्नसक्छ भन्ने उदाहरण दिए पेलेले,’ बाइडनले भनेका छन्।

‘फुटबल खेल्ने महान् खेलाडीमध्ये एक थिए पेले। फुटबलको मात्र नभई समस्त विश्व खेलकुदले चिनेको व्यक्ति हुन् पेले। उनलाई खेलकुदको शक्ति थाहा थियो। खेलकुदले कसरी विश्वभरका मानिसलाई एकठाउँमा ल्याउन सक्छ भन्ने थाहा थियो उनलाई,’ अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले सामाजिक सञ्जालमा लेखेका छन्।

इंग्लिस फुटबल संघले राष्ट्रिय रंगशाला वेम्बलीमा पेलेको सम्मानमा ब्राजिलको झण्डा फरहाउने जानकारी दिएको छ। ‘फुटबल मन पराउनेले पेलेलाई मन पराउँछ। उनको अद्भुत खेल शैलीले विश्व फुटबललाई प्रेरणा दिएको हो। हामी यो घडीमा समस्त ब्राजिल र ब्राजिलियन फुटबल संघको साथमा छौँ,’ इंग्लिस फुटबल संघले भनेको छ।

सन् १९७० को विश्वकपमा पेलेसम्मिलित ब्राजिलसँग हारेको इंग्लिस टिमका सर जियोफ हस्र्टले पेले विश्व फुटबलको सर्वकालिन महान् खेलाडी भएको बताएका छन्। ‘मैले सामना गरेका खेलाडीमध्ये उनी सबैभन्दा उत्कृष्ट थिए। उनी सर्वकालिन महान् खेलाडी भएकोमा शंका छैन। धन्यवाद पेले, तिम्रो आत्माले शान्ति पाओस्,’ चाल्र्टनसँग विश्वकप खेलेका हस्र्टले भनेका छन्।

कतार विश्वकपमा पेलेको गोल कीर्तिमान बराबर गरेका नेयमारले आजको दिनमा फुटबललाई कला मानिनुको कारण पेले नै भएको विचार व्यक्त गरेका छन्। विश्व फुटबलमा १० नम्बरको जर्सी स्थापित गर्ने श्रेय पनि पेलेलाई दिएका छन्।

‘पेले नभएको भए १० नम्बर जर्सी फगत एउटा नम्बरमा सीमित हुने थियो। उनी उदाउनुअघि फुटबललाई एउटा सामान्य खेल मानिन्थ्यो। तर आज फुटबल कला हो, मनोरञ्जनको सबैभन्दा बलियो माध्यम हो। उनले समस्त अश्वेत समुदायलाई प्रेरणा दिए। ब्राजिललाई विश्वभर चिनाए। उनले धर्ती छाडेका छन्, तर उनको जादु यही छ,’ नेयमारले भने।

पेलेको पूर्वक्लब सान्तोसले पेलेलाई श्रद्धाञ्जली दिँदा एउटा मात्र शब्दको प्रयोग गरेको छ, ‘अनन्त’। ब्राजिलियन फुटबल संघले पेलेलाई फुटबलको राजा भनेको छ। ‘गरिब पृष्ठभूमिबाट आएको एक अश्वेत केटो, पेलेले प्रमाणित गरे सबैले आफ्ना लागि बाटो बनाउन सक्छन्। उनले आफ्ना पितालाई वाचा गरेका थिए ब्राजिललाई विश्वकप जिताउँछु भनेर। आखिरमा उनले ब्राजिललाई तीन पटक विश्वकप विजेता बनाए,’ ब्राजिल फुटबल संघले लेखेको छ।

क्रिस्टियानो रोनाल्डोले पेलेलाई फुटबलका अनन्तकालीन राजा भनेका छन्। ‘पेलेको निधनले विश्व फुटबल कति दुःखी बनेको छ भनेर वर्णन गर्ने कुनै शब्द छैन। व्यक्तिगत रुपमा म उनीसँग नजिक थिए। मलाई उनी माया गर्थे। उनप्रति मेरो सम्मान थियो। उनलाई विश्व फुटबलले बिर्सने छैन,’ रोनाल्डोले भनेका छन्।

विश्वकपमा गोल गर्ने दोस्रो किशोर खेलाडी किलियान एम्बाप्पेले फुटबलका राजा पेलेले धर्ती छाडे पनि उनको विरासत यही रहने लेखेका छन्। इंग्ल्यान्डका पूर्वकप्तान ग्यारी लिनेकरले पेलेलाई इश्वरीय क्षमता भएको फुटबलर मानेका छन्। ‘उनले जसरी खेले, त्यसरी थोरैले मात्र खेल्न सकेका छन्। उनले त्यो सुन्दर विश्वकप ट्रफी तीन पटक उचाल्न पाए। उनले हामीलाई छाडेर गएका छन्, तर उनको सम्झना रहिरहनेछ,’ लिनेकरले भनेका छन्।

जर्मनीका विश्वकप विजेता कप्तान फ्रान्ज बेकनबावरले विश्व फुटबलले सर्वकालिन महान् व्यक्ति गुमाएको अभिव्यक्ति दिएका छन्। ‘मैले अद्वितिय मित्र गुमाएको छु,’ अमेरिकी क्लब न्युयोर्क कसमसमा पेलेसँगै खेलेका बेकनबावरले भने।

फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोले सामाजिक सञ्जाल टुइटरमा लेखेका छन्, ‘खेल। राजा। अनन्तकालिन।’ ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले यस्तो लेखेका छन्, ‘आशा छ पेलेले स्वर्गमा कौउटिन्होलाई भेट्ने छन्। यी दुईले सान्तोसमा जादु देखाएका थिए। उनको वरपर गारिन्चा, डिडी, निल्टन सान्तोस, सोक्रेट्स, म्याराडोना पनि हुनेछन्। एउटा कुरा चाहिँ पक्का हो, पेले जस्तो नम्बर १० कोही हुने छैन।’

प्रकाशित: १५ पुष २०७९ ९:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − one =