बीपी र डिल्लीरमणबाटै सुरु भएको थियो कांग्रेसमा दुई धार

विवेक विवश रेग्मी १६ पुष २०७९ १६:११
74
SHARES
बीपी र डिल्लीरमणबाटै सुरु भएको थियो कांग्रेसमा दुई धार

नेपाली कांग्रेसको आन्तरिक प्रतिस्पर्धामा सधैँजसो एउटा कुरा उठ्छ, जुन हो दुई धार। पछिल्लो समय देखिएको दुई धारमध्ये एक धारको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाले गरिरहेका छन्। अर्को धारको नेतृत्व डा. शेखर कोइरालाले गरिरहेका छन्।

कांग्रेसमा यसअघि पनि विभिन्न गुट-उपगुट सक्रिय रहँदै आएका छन्। २०४८ सालको आमनिर्वाचनपछि कांग्रेसको आन्तरिक कचिङ्गलले गर्दा ३६ से समूह जन्मिएको थियो।

कांग्रेसको आन्तरिक चुनावमा वडा तहदेखि नै दुई धारबीच चुनाव हुँदै आएकाले पनि यो पार्टीमा स्थापनाकालदेखि नै विभिन्न गुट-उपगुट अस्तित्वमा रहँदै आएको स्पष्ट हुन्छ।

पछिल्लो केही साताअघि मात्रै पनि कांग्रेसको संसदीय दलको नेताका लागि दुई धारमै चुनाव भयो।

बेलाबेला कांग्रेसभित्र चर्चा हुने गर्छ, गुटको अन्त्य आवश्यक। तर कांग्रेसमा अहिले मात्रै दुई धार भएको भने होइन। पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको जीवन कथामा आधारित रहेर तयार पारिएको ‘मेरा नौ दशक, सूर्यबहादुर थापा, पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री’ पुस्तकमा उल्लेख भएअनुसार नेपाली कांग्रेसमा दुई धार विश्वेश्वरप्रसाद कोइराला (बीपी) र डिल्लीरमण रेग्मीको पालादेखि सुरु भएको हो।

इटहरीको जनता बहुमुखी क्याम्पसमा प्राध्यापन गराउँदै आएका गणेश पौडेलले २०६५ सालदेखि २०७१ सम्म सूर्यबहादुरको जीवनका कथाहरू ३१० घण्टा समय लगाएर रेकर्ड गरे। सोही रेकर्डका आधारमा हरिबहादुर थापाले सम्पादन गरेर बुकहिलबाट केही महिनाअघि पुस्तक प्रकाशन भएको हो।

पुस्तकको गत असोज ६ गते पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवासहित पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा.बाबुराम भट्टराई, माधवकुमार नेपाल र झलनाथ खनालले लोकार्पण गरेका थिए।

२ वैशाख २०७२ मा निधन भएका थापाको जीवनकथा ३८६ पृष्ठको छ। जसमा ऐतिहासिक तस्बिर पनि समेटिएका छन्। प्रकाशित पुस्तकमा धेरैजसो बाहिर नआएका र गुमानम तथ्यहरू समेटिएका छन्।

२०१५ को आमनिर्वाचनपछि भने संसदीय दलको नेता छान्ने क्रममा बीपीले सुवर्णशमशेरमाथि शंकाको दृष्टिले हेरेको पुस्तकमा उल्लेख छ। तर अध्ययनशील र कम बोल्ने सुवर्णले बीपीलाई श्रद्धा गर्थे।

‘देशमा जनचेतना फैलिँदो थियो। राणा शासक पनि लचिलो बनिरहेथे। उता नेपाली राष्ट्रिय कांग्रेसमा भने किचलो सुरु भयो,’ पुस्तकमा लेखिएको छ, ‘विश्वेश्वर जेल परेका बेला डिल्लीरमण रेग्मी कार्यवाहक सभापति बनाइएका थिए। विश्वेश्वर जेलमुक्त भएपछि उनले पद छाडेनन्। केदारमान व्यथितहरूले सम्झाउन प्रयास गरे तर रेग्मीले सुन्नै चाहेनन्।’

त्यसबेला विश्वेश्वरले आफ्नो अनुपस्थितिमा कार्यवाहक दिइएको भएकाले ‘पद ग्रहण गरेको हुँ’ भनेर लेखे पनि रेग्मीले नमानेपछि कांग्रेस दुई समूहमा विभाजित भयो।

दुई समूहमा विभाजित भएपछि बालचन्द्र शर्मा, गणेशमान सिंहलगायत बीपीतिर लागेका थिए भने रेग्मीतिर भने पुष्पलाल, तेजबहादुर कंसाकार लागेका थिए। बीपीको समूहलाई भारतीय समाजवादी पार्टीले साथ दिँदा रेग्मी समूहलाई भने भारतीय कम्युनिस्टले साथ दिएको थियो।

‘कांग्रेसमा किचलो, मोहनशमशेरको उदय’ उपशीर्षकमा लेखिएको छ, ‘नेपालका राजनीतिक पार्टीहरूप्रति हिन्दुस्तानका राजनीतिक दलहरूको दृष्टिकोण पनि प्रस्ट भयो।’

कांग्रेसमा मात्रै किचलो नभई राणा शासकहरूबीच पनि किचलो रहेको पुस्तकमा उल्लेख छ। जसमा भनिएको छ, ‘राणा शासकहरू हार्डलाइनर र सफ्टलाइनर गरी दुई भागमा विभाजित थिए, चन्द्रशमशेरका खलक बबरशमशेर र जुद्धशमशेरका छोरा बहादुरशमशेर।’

यद्यपि २००६ चैत १४ गते कांंग्रेसले संयुक्त वक्तव्य जारी गर्दै पार्टी एक हुने औपचारिक घोषणा गरेको थियो। ‘चैत २७ मा कलकत्तामा सम्पन्न सम्मेलनमा नेपाली राष्ट्रिय कांग्रेस (बीपी समूह) का अध्यक्ष मातृकाप्रसाद कोइराला र नेपाल प्रजातन्त्र कांग्रेसका अध्यक्ष मोहनविक्रम शाहले एकीकृत पत्रमा हस्ताक्षर गरे,’ पुस्तकमा उल्लेख छ, ‘अनि नेपाली कांग्रेसको जन्म भयो, जसको सभापतिमा मातृकाप्रसाद कोइराला, महामन्त्रीमा महेन्द्रविक्रम शाह छानिए, दुवै कांग्रेसबाट चारचार जना गरी आठजना सदस्यमा छानिए।’

२००३ सालमा बीपी र देवीप्रसाद सापकोटाहरूले अखिल भारतीय राष्ट्रिय कांग्रेसलाई सम्मेलन गरी नेपाली राष्ट्रिय कांग्रेस बनाइयो। जसमा टंकप्रसाद र डिल्लीरमण रेग्मीहरू थिए। नेपाली राष्ट्रिय कांग्रेस र सुवर्णहरूको नेपाल प्रजातन्त्र कांग्रेस मिलेर २००६ चैतमा नेपाली कांग्रेस बन्यो। जसको नेतृत्व मातृकाप्रसाद कोइरालाले गरे।

यसअघि २००४ भदौदेखि बीपी र डिल्लीरमणबीच खटपट भएको देखिन्छ। पुस्तकमा उल्लेख भएअनुसार पछि बीपी र मातृकाप्रसादबीच पनि पार्टी नेतृत्व लिने विषयमा ठूलै विवाद देखिन्छ।

२०१५ को आमनिर्वाचनपछि भने संसदीय दलको नेता छान्ने क्रममा बीपीले सुवर्णशमशेरमाथि शंकाको दृष्टिले हेरेको पुस्तकमा उल्लेख छ। तर अध्ययनशील र कम बोल्ने सुवर्णले बीपीलाई श्रद्धा गर्थे।

त्यसो त डिल्लीरमण रेग्मीले पहिल्यै राष्ट्रिय कांग्रेस पार्टी गठन गरेका थिए। २०१० असोजमा राजा त्रिभुवन बिरामी भएर कलकत्ता हुँदै स्विट्जरल्यान्ड जानुअघि काठमाडौँ आएका बेला राजाले ‘राष्ट्रिय स्वार्थका लागि एकजुट हुन’ आह्वान गरी बीपीले नेतृत्व गरेको नेपाली कांग्रेससँग मोर्चा बनाउन आइपुगेका हुन्। २०१० मै रेग्मीसहित टंकप्रसाद, भद्रकालीहरूसँगै मन्त्री बन्दा कांग्रेस भने सरकार बाहिरै रह्यो।

पाँच व्यवस्था र पाँच राजाको शासन भोगेका र पाँचपटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापाको आत्मकथामा आधारित रहेर तयार गरिएको पुस्तकमा ८ खण्ड छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − one =