काभ्रेका कृषकलाई कृषि सामग्री हस्तान्तरण

हिमाल प्रेस १४ पुष २०७९ २१:०३
26
SHARES
काभ्रेका कृषकलाई कृषि सामग्री हस्तान्तरण

काभ्रे– काभ्रेका नमोबुद्ध नगरपालिकाले किसान, कृषि फार्म र सहकारी संस्थालाई विभिन्न प्रकारका कृषि सामग्री वितरण गरेको छ। नगरपालिकाले नगरपालिकामा सञ्चालित फलफूल तथा तरकारी मूल्य शृङ्खला विकास परियोजना (भिसिडिपी)को आर्थिक सहयोगमा प्लाष्टिक टनेल, प्लाष्टिक पोखरी, थोपा सिँचाइ सेट, मल्चिङ प्लाष्टिक, क्रेटलगायतका सामग्री वितरण गरेको हो।

सो क्रममा पाँच कृषक, कृषि फार्म तथा सहकारीलाई विभिन्न कृषि सामग्री वितरण गरेको नगरपालिकाले जनाएको छ। छनोट भएका लाभग्राहीलाई कृषि शाखाले आज आयोजना गरेको कार्यक्रममा नगर प्रमुख कुनसाङ लामाले सामग्री हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा मेयर लामाले अनुदान पाउने कृषक, फार्म र सहकारी संस्थालाई कृषि उत्पादनका क्षेत्रमा अझ थप उदाहरणीय काम गरेर देखाउन आग्रह गरे।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिव लम्सालले राम्रो उत्पादन गर्ने कृषकलाई नगरपालिकाले पुरस्कृत गर्ने बताए। नगरपालिकाको कृषि समितिका संयोजकसमेत रहेका वडा ३ का वडाध्यक्ष रमेश तिवारीले नगरपालिकाले कृषकलाई प्रत्यक्ष रूपमा लाभान्वित र प्रोत्साहित हुने खालको विभिन्न कार्यक्रम तय गरिएको बताए।

कृषि शाखाका प्राविधिक सहायक नवीन अधिकारीका अनुसार परियोजनाअन्तर्गत वडा २, ५ र ८ मा बाँसको प्लाष्टिक टनेल, मल्चिङ प्लाष्टिक, ड्रिप सेट र प्लाष्टिक पोखरी निर्माण कार्यक्रम सञ्चालन भइरहेको छ। जसमध्ये परियोजना सुहाउँदो हावापानी, भूगोल र खेती गर्ने कृषकलाई छनोट गरेर सामग्री वितरण गरेको कृषि शाखाले जनाएको छ।

टटलेटार ‘एक घर, एक धारा’ खानेपानी आयोजना अन्तिम चरणमा

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा २ टटलेटारका बासिन्दालाई खानेपानी उपलब्ध गराउनका लागि ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरिएको छ।

खानेपानीको समस्या झेल्दै आएका यहाँका बासिन्दालाई खानेपानी उपलब्ध गराउन बागमती प्रदेश सरकारको ५० लाख रूपैयाँ र नमोबुद्ध नगरपालिकाको प्राविधिक सहयोगमा सुरु गरिएको अभियान अन्तिम चरणमा पुगेको छ।

पार्कोटे-टटलेटार खानेपानी तथा सरसफाइ आयोजनाले डिप बोरिङमार्फत खानेपानी उपलब्ध गराउन थालनी गरेको अभियान अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ।

निर्माणका क्रममा पाइपलाइन विस्तारका लागि प्राविधिक स्टिमेट तयार गरी निर्माण काम अगाडि बढाएको स्थानीय उपभोक्ता दीपेन्द्र पौड्यालले बताए। आयोजना पूर्णरूपमा सम्पन्न गर्नका लागि अपुग बजेट व्यवस्थापनका लागि नगरपालिकालाई अनुरोध गरिएको उनले बताए।

प्रकाशित: १४ पुष २०७९ २१:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 8 =