विद्यार्थीले दिए काठमाडौँलाई व्यवस्थित बनाउने उपायहरू

हिमाल प्रेस १२ पुष २०७९ ११:४९
300
SHARES
विद्यार्थीले दिए काठमाडौँलाई व्यवस्थित बनाउने उपायहरू

काठमाडौँ- काठमाडौँ भ्याली लियो क्लब पुलचोक क्याम्पसले आयोजना गरेको ‘प्रस्तावः ट्रान्सफर्मिङ काठमाडौँ’ कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा राजधानीअन्तर्गत उपत्यकाभित्र रहेका तीन विद्यमान समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा बृहत छलफल भएको थियो।

काठमाडौँ उपत्यकाको प्रदूषित हावा, नदीनाला र अव्यवस्थित फोहोरलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने मुख्य तीन विषयमा समस्या र समाधानका उपायसहित अन्तिम चरणमा १३ टिमले आफ्नो प्रस्तुति दिएका थिए, जसमा विभिन्न इन्जिनियरिङ कलेजमा अध्ययनरत विद्यार्थी समूह सहभागी थिए।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले उपत्यका सफा रहनका लागि सबै नगरपालिका प्रमुखहरू मिलेर काम गर्नुपर्ने बताए। ‘इतिहासलाई हेरेर होइन वर्तमानको समस्यालाई हेरेर समाधानतर्फ हामी सबै लागौँ,’ उनले भने।

उनले विद्यार्थीहरू उपत्यकाको मुख्य फोहोर व्यवस्थापन, वातावरण प्रदूषण न्यूनीकरण र बागमती नदी सफाइ अभियानमा दीर्घकालीन समाधानतर्फ लागेकोमा खुसी व्यक्त गरे। नगरपालिकाको कार्यालयमा यस्ता उपायहरूको प्रस्ताव लिएर आउनेलाई सहयोग गर्न आफू पछि नहट्ने उनले बताए।

उपत्यकामा विकराल बन्दै गएको फोहोरको समस्या केही हदसम्म व्यवस्थित हुँदै गएको हो कि अनुमान गर्न सकिन्छ। कुहिने र नकुहिने फोहोर छुट्याउने नगरपालिकाको निर्णय कार्यान्वयन हुँदै गएको छ। यस्तै बागमती नदीको दूषित पानीमा मिसाइएका फोहोर र विभिन्न कलकारखाना उद्योग र घरबाट निस्किने ढल नदीमै मिसाइदिँदा नदी दुर्गन्धित बनेको छ।

अर्को मुख्य समस्या भनेको वायु पदूषण हो। सहरमा बढ्दो सवारीसाधनको चापले यसै ध्वनि प्रदूषण र वायु प्रदूषणले अनेकौँ रोगहरू निम्त्याइरहेको छ। यिनै मुख्य समस्यालाई दीर्घकालीन समाधान कसरी गर्ने भन्नेबारे इन्जिनियरिङ अध्ययनरत विद्यार्थी समूहले आफ्नो प्रस्तुति दिएका थिए। प्रस्तुति दिनेमध्ये उत्कृष्ट तीन समूहलाई नगद पुरस्कार र प्रमाणपत्रको व्यवस्था पनि गरिएको थियो।

यसमा पुल्चोक क्याम्पसका ‘ड्रीमर्स’ टिम विजय भएको छ। काठमाडौं उपत्यकाभित्रका अव्यवस्थित कबाडी सामानको व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा आफ्नो प्रस्तुति दिएको ड्रीमर्स समूह विजयी भएको हो। उनीहरूले अनावश्यक सामानहरूको मोबाइल एपमार्फत बिक्रीवितरण प्रणालीलाई प्राथमिकताका साथ समाधान गर्दै आएको बताएका थिए। साथै उनीहरूले पुराना सामानहरूको पुनः प्रयोग के मा गर्न सकिन्छ भन्नेलाई पनि व्याख्या गरेका थिए। रोसन झा यस समूहका प्रमुख हुन्, अन्य प्रतिनिधिमा स्मृति कार्की, सुजाता चौधरी र युनिज कार्की थिए।

बागमती नदीलाई कसरी सफा गर्न सकिन्छ भन्ने विषयलाई प्राथमिकता दिएका पुल्चोक क्याम्पसकै विद्यार्थी समूह ‘प्रवाहिनी’ दोस्रो भयो। उनीहरूले बागमती नदीलाई सफा राख्न नगरपालिकाको समन्वयमा समूह बनाएर त्यहाँको फोहोर निकाल्ने जस्ता उपायबारे जानकारी दिए। विप्लव आचार्यले प्रतिनिधित्व गरेका उक्त समूहमा असिम कार्की र अनिल पौडेल पनि थिए।

तेस्रो हुने समूहमा ‘असेस’ समूहका विद्यार्थी रहेका छन्। उक्त समूहले प्लास्टिकजन्य फोहोरको प्रयोगलाई कसरी न्यूनीकरण गर्ने र प्रयोग भएका प्लास्टिक पुनः प्रयोग गरेर केके बनाउन सकिन्छ भन्ने प्रस्तुतिलाई प्राथमिकता दिएका थिए। दीक्षा दाहाल समूहको प्रमुख थिइन् भने उनीसँगै अन्य सहभागी कुशल बन्साल, आस्था रिसाल र अनुराग झा थिए।

सम्पूर्ण समूहले आफूले गर्न लागेका कामलाई नगरपालिकासँग समन्वय गरेर अभियमनलाई निरन्तरता दिईरहेको आयोजकले जनाएको छ।

पहिलो चरणमा आवेदन आएकामध्येबाट उत्कृष्ट २५ समूहले प्रस्तुत गरेका विचारमार्फत् अनलाइन प्रणालीबाट १४ समूह छानिएको आयोजकले जानकारी दिएको छ।

प्रकाशित: १२ पुष २०७९ ११:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 12 =