फोहर व्यवस्थापन नगर्दा बस्ती नै दुर्गन्धित

हिमाल प्रेस ११ पुष २०७९ ७:३२
4
SHARES
फोहर व्यवस्थापन नगर्दा बस्ती नै दुर्गन्धित फाइल तस्बिर।

बागलुङ- बागलुङको जैमिनी नगरपालिकाले फोहर व्यवस्थापनमा ध्यान नदिँदा सिंगो बस्तीमै दुर्गन्ध फैलिएको छ।
नगरपालिकाको व्यापारिक तथा प्रशासनिक केन्द्र कुश्मीसेराबाट निस्केको फोहर सडक छेउमै फाल्ने, प्लाष्टिक र बोटलसमेत जलाउने गर्दा जैमिनी –१ को टारलगायतको बस्ती दुर्गन्धित बन्दै गएको स्थानीयको भनाइ छ।

कुश्मीसेरादेखि जैमिनीघाट जाने सडकको पोक्चे भन्ने स्थानमा सडक छेउमै फोहर फालिएको छ भने प्लाष्टिक र बोटल जलाउँदा त्यहाँदेखि माथि रहेका बस्तीका मानिस प्रदूषित धुँवाले हैरानी खेप्न बाध्य भएका छन्।

प्लाष्टिक र बोटलबाट निस्कने धुवाँ मानिसको स्वास्थ्यको लागि निकै हानिकारक मानिन्छ। जैमिनी –१ कुश्मीसेराका स्थानीय शोभाखर शर्माले फोहर व्यवस्थापनको माग गर्दै नगरपालिकामा २३ बुँदे मागपत्र बुझाए पनि त्यसको सुनुवाइ नभएको बताए।

उनले भने, ‘कुस्मीशेराको फोहर जति सबै जथाभावीरुपमा ठेउले खोलामा फालिएको छ, सडक छेउमा पनि सर्वत्र छरिएको छ, फोहर व्यवस्थापनमा तत्काल ध्यान नदिए यहाँ थप जटिलता निम्तिन सक्छ, नगरपालिका यसप्रति उदासिन बनेको छ।’

साँघुरो बजारमा भए पनि जनघनत्व बढी हुँदा फोहर पनि बढीनै हुने गरे र फोहर व्यवस्थापनमा नगरपालिकाले खासै चासो नदिएको बजार व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन पदमबहादुर श्रीषले गुनासो गरे।

उनले बजारवासीले फोहर व्यवस्थापनमा पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको बताए। ‘बजारको फोहर अव्यवस्थित रुपमा अत्रतत्र छरिएर फालिएको छ, यसको गन्धले वरपर पुग्न पनि सकिँदैन, त्यो नजिकको बस्तीमा त बसी नसक्नुहुन्छ गन्हाएर, फोहर व्यवस्थापन गर्नतर्फ लाग्नुपर्ने हो, एउटा निश्चित स्थान बनाउनुपर्ने हो’, श्रीषले भने, ‘कुहिने र नकुहिने सबै एकै ठाउँ छ, सिसा पनि त्यहीँ, छ प्लास्टिक पनि एकै ठाउँ छ।’

उनले फोहर व्यवस्थापनको विषय महत्वपूर्ण भएको उल्लेख गर्दै दीर्घकालीन समाधान खोजिनुपर्ने बताए। दिनदिनै बजारमा जनसंख्या बढी रहेको फोहर पनि बढ्दै गइरहेको उनको भनाइ छ।

प्लाष्टिक र बोटल जलाउँदा पर्यावरणमा समेत नराम्रो असर पर्ने स्वास्थ्यकर्मी बताउँछन्। जैमिनी नगर प्रमुख नरबहादुर पुनले सडक छेउमा नै स्थानीयले फोहर थुपार्दा दुर्गन्ध फैलिएको बताउँछन्। स्थानीयले सहीरुपमा फोहरको व्यवस्थापन नगरी जथाभावी फाल्दा बस्तीमै दुर्गन्ध फैलिन थालेको प्रमुख पुनले बताए। फोहर व्यवस्थापनका लागि हालसम्म कुनै पनि पहल नभएको उनी बताउँछन्।

प्रकाशित: ११ पुष २०७९ ७:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =