हेटौंडामा चक्कु प्रहार आरोपीलाई प्रहरीले उन्मुक्ति दिएको आरोप

प्रहरी भन्छ- खोजीकार्य जारी छ

हिमाल प्रेस ९ पुष २०७९ १७:४७
12
SHARES
हेटौंडामा चक्कु प्रहार आरोपीलाई प्रहरीले उन्मुक्ति दिएको आरोप चक्कु प्रहारबाट न्यौपानेको पाखुरामा लागेको चोट।

हेटौंडा– हेटौंडाका एक व्यवसायीमाथि चक्कु प्रहार गर्नेहरूलाई प्रहरीले प्रकन आनाकानी गरेको भन्दै पीडित पक्षले दु:ख व्यक्त गरेको छ। हेटौंडा-२ स्थित बागमति प्रदेशको अर्थ मन्त्रालय भवनअगाडि स्थानीय व्यवसायी दानिल न्यौपानेमाथि चक्कु प्रहार भएको २ हप्ता बितिसक्दा पनि आरोपीलाई प्रहरीले पक्राउ गर्न नसकेको पीडित पक्षले जनाएको छ।

हेटौंडाका हेमन्त थापा मगर, असीम बर्तौला, सुवर्ण लामा र रामकुमार रायमाझी (हारा)ले चक्कु प्रहार गरेको न्यौपाने पक्षले आरोप लगाएको छ। चक्कु प्रहारबाट शरीरको ७ ठाउँमा चोट लागेका न्यौपाने हाल काठमाडौँस्थित अस्पतालमा उपचारत छन्।

घटना भएको पर्सिपल्ट (मंसिर २७) गते न्यौपानेका परिवारले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ज्यान मार्ने उधोगमा जाहेरी दिएका थिए। उक्त जाहेरी प्रहरीले दर्ता गरे पनि अहिलेसम्म प्रहरीले कसैलाई पनि पक्राउ गर्न नसकेको पीडित पक्षको गुनासो छ।

ज्यान मार्ने उद्योगमा जाहेरी परेकाहरू खुलेआम घुमिरहेको उनीहरूको आरोप छ। जसमध्यका सुवर्ण लामाले अहिले पनि न्यौपानेलाई आफ्नो फेसबुकमार्फत धम्की दिइरहेको न्यौपाने परिवारले बताएका छन्। लामाले फेसबुकमा म्यासेज गर्दै न्यौपानेलाई अब फेरि प्लानिङ गरेर आक्रमण गर्ने धम्की दिएको पीडित पक्षले बताएको छ।

आरोपितहरूलाई प्रहरीले समयमै पक्राउ नगरेकोमा पिडित न्यौपाने दु:ख व्यक्त गर्छन्। ‘कानुनप्रति आसा भरोसा सबै छ। त्यसैले समयमै उजुरी दर्ता गरेको हौँ। तर, अहिलेसम्म प्रहरीले पक्राउ नगर्दा विभिन्न शंका र प्रश्नहरू उब्जिएका छन्,’ उनले भने, ‘अहिले पनि आक्रमण गर्नेहरूले फेसबुकमा म्यासेज गरेर फेरि आक्रमण गर्छु भन्ने, चरित्र हत्या गर्ने गरी स्टाटस लेख्ने गरिरहेका छन्। तर, प्रहरीले समात्न सकेको छैन्। यद्यपि प्रहरीले न्याय दिन्छ भन्ने आसा छ।’

यता मकवानपुरका प्रहरी प्रमुख एसपी वामदेव गौतम भने आरोपितहरूको खोजीकार्य भइरहेको बताउँछन्। ‘फरार भएकाहरू लोकेसन फेर्दै भागिरहेका छन्। हामीले अन्य जिल्लाका प्रहरीहरूसँग पनि समन्वय गरेर पक्राउ गरी कारबाही गर्नेछौँ,’ उनले भने।

फरार भएका लामाले सामाजिक सन्जालमा न्यौपानेको चरित्र हत्या गर्ने गरि लेखेको स्टाटसको विषयमा पनि आफू जानकार भएको बताउँदै यस विषयमा पनि कारबाहीका लागि साइबर ब्यूरोमा पत्र काटिसकेको एसपी गौतमले जानकारी दिए।

‘घटनाको प्रकृत्ति हेर्दा आक्रमणकारीहरूलाई पक्राउ गर्न प्रहरीको भूमिका सन्तोषजनक देखिँदैन। फेसबुकमा नियमित अपडेटमा रहेकाहरूलाई प्रहरीले चाहेको खण्डमा केही घण्टाभित्रै लोकेसन ट्रेस गरेर नियन्त्रणमा लिन सक्छ। तर प्रहरीले हत्यारालाई उन्मुक्ति दिइरहेका छन्,’ न्यौपाने परिवारका एक सदस्यले भने।

प्रहरीले मुख्य आरोपीहरूलाई अझै पक्राउ गरेको छैन। मंसिर २५ गते दिउँसो करिब ३ बजे बागमती प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयनजिक प्रहरीकैअगाडि स्थानीय ब्यवसायी दानिल न्यौपानेमाथि चक्कु प्रहार गरी हत्या प्रयास भएको थियो।

प्रकाशित: ९ पुष २०७९ १७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 7 =