पदयात्रामा बाटो बिराउँदा

राजाराम बर्तौला ९ पुष २०७९ ८:५२
44
SHARES
पदयात्रामा बाटो बिराउँदा

कहिलेकाहीँ अनपेक्षित घटनाले मानिसलाई फाइदा पुर्‍याउँछन्। यसपालि त्यस्तै अपेक्षा नगरिएको घटनाबाट हामी पनि लाभान्वित भयौँ।  बाटो बिराउँदा पुग्नुपर्ने ठाउँमा नपुगेर अन्तै पुगियो। अर्थात्, काठमाडौँ उपत्यकाको डाँडा हाइकिङ गर्न हिँडेका हामी मकवानपुर जिल्लाको इन्द्र सरोवर गाउँपालिकाको ५ नं. वडामा पर्ने चखेल पुग्यौँ। हामी त्यहाँ संयोगले पुगेका थियौँ।

सात समुद्रपारिका देश घुमेको मान्छेले आफ्नो जन्मभूमि नटेकेको पनि हुन सक्छ वा त्यहाँका धेरै ठाउँ नदेखेको हुन सक्छ। त्यस्तै मानिसमध्ये एक हुँ म।

मेरो जन्म मकवानपुर जिल्लामा भएको हो। जन्मस्थानका धेरै ठाउँमा अझै पुग्न सकेको छैन। चखेल पनि त्यस्तै एउटा ठाउँ हो, सुनिएको तर नदेखिएको। त्यहाँ पुगेपछि चखेल आँखाको डिलैमा रमायो।

चिसो बढेसँगै उपत्यकालाई अबेरसम्म हुस्सुले छोप्छ। पुसको बिहानीमा काठमाडौँ कुहिरोमा हराउँछ। जाडो छल्न हामी न्यानो लुगा लगाएर घरबाहिर निस्कियौँ।

सप्ताहन्तको हाइकिङका लागि भृकुटीमण्डपबाट बस चढेर खार्पा पुग्दा बिहानको ८ बजिसकेको थियो। योजना थियो- खार्पाबाट उकालो लागेर बाडासुर र भष्मासुर हुँदै डाँडीखेल पुगेर पुनः खार्पा झर्ने। दिनभरि १४-१५ किलोमिटरको पदयात्रा गर्ने।

योजना यही भए पनि भइदियो अर्कै। खार्पा, फर्पिङबाट फाखेल जाने बाटोको केही किलोमिटर पश्चिम गएर सहायक बाटो हुँदै उत्तर लागेपछि तीनतिरबाट पहाडले घेरिएको बाडासुर र भष्मासुर डाँडाको फेदीमा रहेको छ।

हामी पुग्दा बिहानको हुस्सु उघ्रिएर पारिलो घामले न्यानो दिइरहेको थियो। किसान आफ्नो दिनचर्यामा व्यस्त थिए। उनीहरू बारीमा काम गरिरहेका थिए। कोही कुखुराका चल्लालाई दाना हाल्दै थिए भने कोही बाख्रालाई घाँस खुवाउँदै थिए। यहाँ लप्सीका रूख देखिँदैनन् तर सयपत्री फूलको खेती गरिएको चाहिँ देखिन्छ।

यहाँबाट सुरु भएको पदयात्रा बाडासुर डाँडाको टुप्पैमा पुगेर रोकिने थियो। अरू ठाउँमा पानी वा खाजाका लागि रोकिन उपयुक्त ठाउँ थिएन। तल फेदीदेखि बाडासुर डाँडा पुग्न ढुंगाको भर्‍याङ बनाइएको छ।

डेढ-दुई घण्टाको ठाडो हिँडाइमा कतै बाटो बिराउने वा हराउने सम्भावना छैन। तर जब ढुंगाको भर्‍याङ सकिएर एकधरो रेखाको डोबमात्र देखिएको बाटो आउँछ, त्यहीँबाट बाटो बिराउने सम्भावना सुरु हुन्छ।
जंगली काँडाले बाटो छेक्छन्। ती तिखा काँडाले हामीलाई चिथर्नुसम्म चिथोरे। खरैखरले छोपेको बाटो बिराएर हामी बाडासुरको उकालो लाग्नुपर्नेमा भष्मासुरको उकालो लागेछौँ। बाटो बिराएको आभास हुनासाथ भष्मासुर डाँडाबाट तल झर्‍यौँ, जहाँबाट बाटो छुट्टिएको थियो।

हामीभन्दा अघि जानेहरूले रूखको हाँगोमा रातो कपडा बाँधेर गएका रहेछन्। उनीहरूलाई थाहा थियो होला, यहाँबाट बाटो बिराउने सम्भावना प्रबल छ। हामीले बाटो बिरायौँ तर फेरि फर्किएर सही बाटो समाएर उकालो लाग्यौँ।

बाडासुर पुगेपछि जे देखियो त्यसले अलिकति चिन्तित पनि तुल्यायो। स्थानीय सरकार र संघीय वन मन्त्रालयको उदासीनता र अकर्मण्यता त्यहाँ प्रस्ट देखिन्थ्यो। जंगलको बीचबीचमा ससाना खाल्टा बनाइएका थिए।

उकालो लाग्दै जाँदा माथि भञ्ज्याङमा पुगिन्छ। यहाँबाट एउटा बाटो भष्मासुर डाँडातिर लाग्छ। दक्षिण लागे बाडासुर, उत्तरतर्फ ओरालो लागे छापडाँडा आउँछ।

हामी त भष्मासुरको डाँडा टेकेर पनि ओरालो झरेर फेरि भञ्ज्याङ पुगेका थियौँ।

बाडासुर र भष्मासुर काठमाडौँको दक्षिणपूर्वमा फूलचोकी र पश्चिममा चन्द्रगिरि पारेर बीचमा ठस्स बसेका छन्। भष्मासुरको उचाइ २५०० मिटर छ भने बाडासुर योभन्दा केही अग्लो छ। अर्थात् त्यसको उचाइ २५६० मिटर छ।

यी दुवैको डाँडाको टुप्पोमा टेक्दा खुसी लाग्यो। तर जंगली काँडाले चिथोरेर बनेका खाटा अझै ताजा छन्।

बाडासुर डाँडासम्म पुग्न ढुंगाको सिँढी बनाइएका छन्। त्यहाँसम्म सहजै पुग्न सकिन्छ। पूर्वयोजनाअनुसार बिहानको खाना बाडासुर डाँडामा खाइयो। सामूहिक भोजनका लागि झोलाबाट तयारी खाना निकाल्यौँ। अनि खायौँ।

एकै ठाउँमा गोलबन्द भएर भोजन गर्ने ठाउँ थिएन। झारले छोपेका भिरपाखामा जसोतसो बसेर खाना खाइयो। बाडासुर यस्तो बिन्दु हो, जहाँबाट काठमाडौँ, ललितपुर, भक्तपुर र मकवानपुरका मनोरम पहाडी दृश्य अवलोकन गर्न सकिन्छ।

बाडासुर पुगेपछि जे देखियो त्यसले अलिकति चिन्तित पनि तुल्यायो। स्थानीय सरकार र संघीय वन मन्त्रालयको उदासीनता र अकर्मण्यता त्यहाँ प्रस्ट देखिन्थ्यो। जंगलको बीचबीचमा ससाना खाल्टा बनाइएका थिए।

पहिला त लाग्यो ती खाल्टा कुनै परोपकारीले जंगलमा रहने जीव र चराचुरुंगीका लागि पानी सञ्चय गर्न बनाएको होला। तर जब खस्रे रूखमा आगो लगाइएको र त्यस वरिपरिका बोटबाट दाउरा निकालिएको देख्यौँ मानिसका गलत नियत बुझ्न बेर लागेन हामीलाई।

यी खस्रेका रूखलाई निमिट्यान्न पारेर काटिने, सुकाइने र त्यसबाट कोइला बनाएर काठमाडौँका सुन व्यापारीलाई बेचिने रहेछ। एक बोरा कोइलाको पाँच हजार रुपैयाँसम्म पाइन्छ रे!

यसरी खस्रेका रूखको वंशविनाश भइरहेको छ। जसले गर्दा अहिले नै भष्मासुर र बाडासुरका केही भाग रित्तिइसकेका छन्। केही वर्षभित्र यी दुवै डाँडा फुस्रे डाँडामा परिवर्तन हुने सम्भावना प्रबल छ।

जंगलमा हिँड्दा भेटिएका जंगली फल नचाख्नु भन्छन्। तर हामीले जंगली फल अंगेरीले जिब्रो कालो पार्‍यो। समूहका साथीले चिनेर आफँैले पनि खाएर अगाडि तेस्र्याएपछि चाख्नै पर्‍यो।

हिँड्दै गर्दा सुत्केरीका लागि उपयोगी जडीबुटी पनि देखियो। समूहमा रहेका जानकारले भनेपछि त्यो पनि नचाख्ने कुरा भएन। खस्रेको बोटमा जापानी सितेच्याउ देखेपछि भने यो च्याउ विशुद्ध नेपाली रैथाने भएकोमा शंका रहेन। उनीहरूले ‘माल पाएर चाल पाए’। हामी अल्झेर बस्यौँ। त्यसैले उनीहरूको नाममा ब्रान्ड दरियो।

यसपछिको यात्रा हाम्रा लागि कष्टकर थियो। सरकारी योजनाबमोजिम केही वर्षअघि अर्बौँ खर्च गरेर यी डाँडामा पदमार्ग निर्माण नभएका होइनन्। तर पदमार्गमा बिछ्याइएका ढुंगाका भर्‍याङ उचित मर्मतसम्भार अभावमा जंगली काँडाले घेरिएका र छोपिएका छन्। घाँसदाउरा गर्नेले छुट्टै गोरेटा बनाएका छन्। ढुंगाका भर्‍याङ छोडेर ती गोरेटालाई पछ्याउँदा बाटो बिराइने रहेछ।

बाडासुरको शिखरपछि यसको दक्षिणमा रहेका अरू तीन चुली चढेपछिमात्र डाँडीखेल पुगिने रहेछ। त्यहाँबाट ओरालो झरेपछि खार्पा पुगेर पदयात्रालाई विश्राम दिने योजना थियो हाम्रो। तर बाटोले यति भ्रमित गर्‍यो कि समय, गति र दिशा सबै गोलमाल भयो।

यात्रा भनेको गायिका तारा देवीको गीत ‘सोचे जस्तो हुन्न जीवन..’ जस्तै रहेछ भन्ने लाग्यो। यात्रामा निस्किएपछि पदमार्गले जताजता डोर्‍याउँछ, खुट्टा त्यता-त्यतातिर लम्किन्छन्। त्यसो हुँदा कहिले बाटो बिराइन्छ, कहिले भेट्टाइन्छ। ‘येनकेन प्रकारेण’ अन्ततः गन्तव्यमा पुगिन्छ।

काँडाले घोचेर ज्यान छियाछिया पार्‍यो। कुरोले कपडामा छिरेर सास्ती दियो। यी सबै हुँदाहुँदै पनि मनमा एक किसिमको अनौठो सन्तुष्टि थियो। आनन्दको अनुभूति थियो।

सन्तोष पौडेल यो पदयात्राका पथप्रदर्शक थिए। उनले सुरुमै यस पदमार्गबारे जानकारी गराएका थिए। पदयात्रामा हराउन सक्ने सम्भावना भएकाले समूहमा हिँड्न सुझाएका थिए।
तर यात्रामा सबै उस्तै हुँदैनन्। सबैको आआफ्नै सुर, ध्यान र गति हुने गर्छ। त्यसो हुँदा कोही अगाडि, कोही पछाडि पर्नु स्वाभाविक हो।

हामी होस सम्हालेर हिँड्दै थियौँ। हुडो डाँडाबाट गन्तव्य नजिकिँदै थियो। आँखैअगाडि एउटा ससानो चुली थियो। पदमार्गका लागि कोरिएका डोब र ढुंगाका सिँढी गायब थिए।
स्थानीय हिँड्ने गोरेटोको डोबलाई पछ्याउँदै जाँदा अनकन्टार जंगलको बीचबाट ओराली लाग्न थालियो। हुडो डाँडाबाट हामीले बाटो बिरायौँ।

‘काशी जाने कुतीको बाटो’ भनेजस्तो एकातिर जानुपर्ने हाम्रा पाइला अरू नै दिशातर्फ अगाडि बढे। अब त उही बाटो बिराएको ठाउँमा फर्कन पनि असम्भव थियो। घाम डाँडाबाट ओरालो लाग्दै थियो। लाग्त त हामी पनि ओरालो लाग्दै थियौँ।

बाटो बिराएर अन्ततः हामी चखेल पुग्यौँ। त्यो सुन्दर बस्ती, कुनै समय चल्ती बाटो थियो। यही बाटो भएर पथिक छापडाँडा हुँदै काठमाडौँ प्रवेश गर्थे। महेन्द्र राजमार्ग निर्माणपछि गुमनाम बनाइएको यो बस्ती आज हामी पुगेका थियौँ।

प्रदूषणरहित स्वच्छ, शान्त र प्राकृतिक मनोरम दृश्य रहेको चखेल। महालक्ष्मीखोला, फाखेलबाट छापडाँडा हुँदै मच्छेगाउँसम्म जोड्ने गरी पुरानो पदमार्गलाई राजमार्गका रूपमा सडक निर्माण कार्य धमाधम भइरहेको छ। यो बाटो जम्मा २० किलोमिटरको छ। मच्छेगाउँसम्म जोडिँदा काठमाडौँबाट हेटाँैडा जाने बाटोको कुल लम्बाइ २० किलोमिटरले छोटिन्छ।

साँझ पर्दै थियो। हामी त्यही निर्माणाधीन सडकमा लखरलखर हिँड्दै थियौँ। महालक्ष्मीखोला आइपुग्दा साँझ परिसकेको थियो। महालक्ष्मीखोला फर्पिङ-कुलेखानी सडकखण्डको बीचतिर पर्छ। यहाँबाट हुमाने २० किलोमिटर टाडा थियो। हुमाने काठमाडाैँ र मकवानपुर जिल्लाको सिमाना। जहाँ हामीलाई लिन बस कुरिरहेको थियो।

महालक्ष्मीखोलामा तरकारी ढुवानी गर्ने टाटाको मालवाहक मिनी भ्यान योद्धाको पछाडि २५ जना पदयात्री खाँदिएर बस्यौँ। त्यहाँदेखि हुमानेसम्मको यात्रा गर्‍यौँ। अन्ततः बससम्म पुग्यौँ।

काठमाडाैँ उपत्यका बत्तीको उज्यालोले झलमल्ल भइसकेको थियो। भृकुटीमण्डप आइपुग्दा घडीमा साढे ८ बजेको थियो। फिफा विश्वकप २०२२ मा तेस्रो स्थानका लागि मोरक्को र क्रोसिया भिड्दै थिए। ८ः४५ मा सुरु हुने खेलका लागि मन घर पुगिसकेको थियो। खुट्टा भने भृकुटीमण्डपमा चक्कर काट्दै थिए।

यात्रा भनेको गायिका तारा देवीको गीत ‘सोचे जस्तो हुन्न जीवन..’ जस्तै रहेछ भन्ने लाग्यो। यात्रामा निस्किएपछि पदमार्गले जताजता डोर्‍याउँछ, खुट्टा त्यता-त्यतातिर लम्किन्छन्। त्यसो हुँदा कहिले बाटो बिराइन्छ, कहिले भेट्टाइन्छ। ‘येनकेन प्रकारेण’ अन्ततः गन्तव्यमा पुगिन्छ।

प्रकाशित: ९ पुष २०७९ ८:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 8 =