राजधानीकै मोहनी लगाउने गाउँ डुल्दा

राजाराम बर्तौला ४ चैत २०७९ ७:२२
106
SHARES
राजधानीकै मोहनी लगाउने गाउँ डुल्दा

वसन्त ऋतु! बोटबिरुवामा पलाउँदै गरेका मुना, पातले छोपिँदै, झ्यांगिँदै गरेका रूखका हाँगा हेरेर मोहित नहुने को होला! वनै रमाइलो हुने गरी फुल्ने वनकुसुम। कोकिल कण्ठले वनै संगीतमय बनाउँछ। ‘काफल पाक्यो’ भनेर ऋतुराजको सन्देश रनवनमा घन्काउने चराहरूको भाखा सुन्न को लालायित नहोला! हाँगाहाँगामा फक्रेको, फुलेको लालीगुँरासले कसलाई आकर्षित नगर्ला!
म सबै फूलको जाति र प्रजाति चिन्दिनँ। उनीहरूको राग र पराग पनि जान्दिनँ। तर सौन्दर्य र सुगन्धमा मोहित हुन्छु। त्यस्तै चराहरूको नालीबेली जान्दिनँ। उनीहरूको नाम थर र जात पनि जान्दिनँ। तर उनीहरूको रङ र स्वरको माधुर्यमा रमाउँछु।

यसै पनि काठमाडाँै उपत्यकालाई घेरेर बस्ने यी डाँडा र यिनले संगालेका वनकुसुम, लतालहरा, वन छटाले सुशोभित, अलौकिक र आनन्दमय छन्। असंख्य वनस्पतिका जातिप्रजाति, सयौँ प्रकारमा चरा र सयौँ प्रजातिका फूलका किसिमको विविधतायुक्त सौन्दर्यले अलौकिक बनाएको छ यो काठमाडौँ उपत्यकालाई।

लालीगुराँसले सजिएको वन हेर्ने अभिलाषालाई तृप्त गराउन गुराँसे पदयात्रा गरिने भइयो। पदयात्राको नामै ‘लालिगुराँस पदयात्रा’ भनेपछि मनै लालीगुराँस भयो। त्यसको सौन्दर्यपान गर्न उत्साहित भएँ।

गुराँसका लागि प्रसिद्ध छन्, तीनजुरे, मिल्के, जलजले। तेह्रथुम, ताप्लेजुङ र संखुवासभाका यी ठाउँको ३० किलोमिटर क्षेत्रफल पूरै गुराँसले ढाकेको हुन्छ। नेपालमा पाइने ३२ किसिमको गुराँसमध्ये २८ किसिमका त यही क्षेत्रमा पाइन्छन्। तर सबैले सजिलै पहिचान गर्ने भनेको लालीगुराँस नै हो। त्यही लालीगुराँस हेर्न हामी पदयात्रा गर्दै थियौँ।

पदयात्राका लागि भृकुटीमण्डपबाट बिहान ७ बजे बस चढेर फर्पिङतर्फ लाग्यौँ। फर्पिङ पुग्दा ८ बजेको हुँदो हो। हाम्रो यात्रा फर्पिङको खोँचबाट सुरु भयो। लखरलखर हिँड्दै, गाउँको गोरेटो र पहाडको ठाडो उकालो पार गर्दै हामी लामा गाउँ पुग्यौँ।

लामागाउँ भनेपछि नामैले बोलिरहेछ, यो तामाङ बस्ती हो भनेर। सुख्खा डाँडो रहेछ। न्यूनतम आधारभूत सुविधा पुगे पनि जनजीविका खेतीमा नै आश्रित रहेछ। पानीको अभाव दुःख रहेछ। सायद सरकारी अनुदान अभिपे्ररित भएर हो, ‘वाटर हार्भेस्टिङ’ अर्थात् वर्षाको पानी सञ्चय गरेर राख्ने प्रविधिको सफलतम प्रयोग भएको देख्यौँ।

केही साथीले त्यही सञ्चित पानीले हातमुख धोए। यसरी सञ्चित गरेर राखेको पानी खाने प्रयोजनभन्दा अन्य घरायसी काममा प्रयोग हुने रहेछ।

हामीले अझै जंगलभित्र प्रवेश गरिसकेका थिएनौँ। किसान भिरालो बारी, कान्लाकान्लीमा झिक्रा, काठका डन्डी राखेर लहरे तरकारी फलाउने मेसो मिलाउँदै थिए। आफ्नो जीविकाको जोहो गर्दै थिए।
काठका काप्चा, हाँगामा तुर्लुङ झुन्डिने चिचिन्डा, घिरौँला, काँक्रा र भुँइमा असरल्ल लड्ने फर्सीमा उनीरूले आफ्ना सपना देख्छन् होलान्। त्यही सपनालाई समेट्न मेहनत गरिरहेका छन्। पसिना बगाउँदै छन् किसान।

तरेली परेको गाउँ बस्तीको गोरेटोबाटो हिँड्दै गर्दा आरूका बोटमा पलाएको मन्जरी पालुवा, फक्रँदै गरेका कोपिला र फुलेर ढकमक्क गम्किएका बोटले गाउँकै सौन्दर्य बढाएका थिए।

‘जीवन यसै गरी फुल्दछ दुःख,कष्ट झेलेर पनि’ यी फूलले भनिरहेका थिए। माघको चिसोले कठ्यांग्रिँदा पनि जीवन सहन नै हुने रहेछ। पर्खन सके, धैर्य गर्न सके, सहन सके, त्यो कठिन समय पनि जान्छ भन्ने सन्देश दिइरहेका थिए ती फूलले।

राकस खोला तरेर जंगल प्रवेश गर्दा उकालो त धेरै नै चढिसकेका थियौँ। राताम्मे गुराँस हेर्ने चाहना झन्झन् बढ्दै थियो। फाट्टफुट्ट गुराँसका रूख देखिन थालिए। ती रूखको हाँगामा गुराँसका थुँगा देखेर सन्तुष्टि मिल्यो तर साह्रै प्रफुल्ल हुन सकिएन। फाट्टफुट्ट देखिएका गुराँसले मन भर्न सकेन।

गत वर्ष यो जंगल लालीगुराँसले ढकमक्क थियो। त्यही दृश्य आँखामा सजाएर यो पदयात्रामा निस्किएका थियौँ। तर यसपालि हिँउदमा पानी परेन र फूल पनि समयभन्दा अगाडि नै फुले।
डाँडाको थुम्कोमा हामी पदयात्री जम्मा भयौँ। सहभोज गर्‍यौँ। पेट भरिएपछि केहीबेर नाचेर मनोरञ्जन गर्‍यौँ। अनि बाटो लाग्यौँ जंगलैजंगल। गुराँस हेर्दैै। प्रकृतिमा रमाउँदै। सहयात्रीहरूसँग गफिँदै।

ओरालो लाग्दै गर्दा फाखेल गाउँ देख्यौँ। माथिबाट हेर्दा फाखेलको सौन्दय रमणीय देखिन्छ। फाखेल यसै पनि तरकारी खेती र फूल खेतीको लागि प्रसिद्ध छ। फूल खेती गर्ने र फूल फुल्ने ठाउँका मानिसको मन पनि फूलजस्तै उदार र सुन्दर हुन्छ होला। यो गाउँ देख्दै मोहनी लाग्ने खालको थियो।

हामी यात्रा गर्दै फाखेल निक्लियौँ। केहीबेर सडकैसडक हुमाने भञ्ज्याङतर्फ लागेपछि पुनः सडक छोडेर ओरालो लाग्यो र फेरि उकालो। अघि माथि मूलमा भेटेकोे राकस खोला यहाँ पुछारमा पनि देखियो। हुमानेबाट भने सडकको बाटो छोडेर गाउँको ओराली गोरेटो बाटोबाट तलतल झर्दै ओर्लियौँ। निरन्तर ओरालो लाग्दै गर्दा फुल्चोक, दक्षिण मनकामना आइपुग्यौँ। यहाँबाट तल झर्दै दक्षिणकालीसम्म आइपुग्दा ६ बजिसकेको थियो। हामीलाई लिन बस कुरिरहेको थियो।

प्रकाशित: ४ चैत २०७९ ७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 15 =