स्ववियु निर्वाचन फागुन २८ मा गर्ने त्रिविको तयारी

हिमाल प्रेस ७ पुष २०७९ २०:२०
56
SHARES
स्ववियु निर्वाचन फागुन २८ मा गर्ने त्रिविको तयारी

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही वर्षको फागुन २८ गते हुने जानकारी दिएको छ। उक्त मितिमा स्ववियु निर्वाचन सम्पन्न गर्ने त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसालले बताए। स्ववियु निर्वाचनका लागि विश्वविद्यालयका पदाधिकारी र डिनबीच छलफल भइसकेको र फागुन १४ गते सम्भव नभए पनि २८ गते निर्वाचन गर्ने तयारीमा जुटेको उनको भनाइ छ।

‘हामी स्ववियू निर्वाचनको पक्षमा छौं। यसका लागि छलफल पनि भइसकेको छ। विशेष कारणवश नरोकिए फागुन २८ मा स्ववियु निर्वाचन हुन्छ,’ उनले भने। राजनीतिक दलनिकट विद्यार्थी संगठनले स्ववियु निर्वाचन गर्न दबाब दिएपछि त्रिवि निर्वाचन मिति घोषणा गर्ने पक्षमा देखिएको हो।

नेता जन्माउने ‘नर्सरी’का रूपमा मानिएको स्ववियु निर्वाचन प्रत्येक दुई/दुई वर्षमा सम्पन्न गर्ने भनिए पनि ०६५ चैतयता नियमित रूपमा हुन नसकेपछि राजनीतिक दलसम्बद्ध विद्यार्थी संगठनले त्रिविसँग निर्वाचन माग गर्दै आएका छन्।त्रिविमा नियमित रूपमा स्ववियु निर्वाचन नभएकाले भर्खरै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दलहरूबाट ताजा युवा नेताको उपस्थिति कम देखिएको बताइएको छ।

दलबाट युवा उम्मेदवार नभएपछि जनतामा देखिएको वितृष्णाले स्वतन्त्र उम्मेदवारहरू उदाएको पनि ठूला दलका नेताहरूले बताउने गरेका छन्। राजनीतिक दलका विद्यार्थी संगठनले विश्वविद्यालय प्रशासनलाई फागुन १४ मा नै निर्वाचनको मिति घोषणा गर्न दबाब दिएको त्रिवि प्रशासनले जनाएको छ।

०६५ यता ०७३ फागुन १४ मा स्ववियू निर्वाचनको मिति घोषणा भए पनि निर्वाचन हुन सकेन। सोही वर्षको चैतमा त्रिविका आंगिक २६ वटा क्याम्पसमा मात्र निर्वाचन भएको थियो। त्यसयता राजनीतिक दल र त्रिविले स्ववियू निर्वाचन सम्पन्न गर्न पहलकदमी नलिएपछि पुरानै नेतृत्वले विद्यार्थी संगठन सम्हाल्दै आएका छन्।

निर्वाचन नियमित नहुँदा विश्वविद्यालयसभादेखि क्याम्पसहरूका महत्त्वपूर्ण निकायमा विद्यार्थीको प्रतिनिधित्व हुन सकेको छैन। कार्यकारी परिषद्ले निर्वाचन मिति घोषणा गरेपछि क्याम्पस प्रमुखले निर्वाचन अधिकृत र सहयोगी तोकेर निर्वाचन सम्पन्न गराउने विश्वविद्यालयले जनाएको छ।

प्रकाशित: ७ पुष २०७९ २०:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 8 =