देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा आईएस्‌सी पढ्दै थिए गगन थापा

हिमाल प्रेस ५ पुष २०७९ १७:४९
580
SHARES
देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा आईएस्‌सी पढ्दै थिए गगन थापा

काठमाडौँ-  नेपाली कांग्रेसको संसदीय दलमा पहिलोपटक दुई पुस्ताबीच प्रतिस्पर्धा भइरहेको छ। संसदीय दलको नेताका लागि ७६ वर्षीय शेरबहादुर देउवा र ४६ वर्षीय गगनकुमार थापा मैदानमा छन्। संसदीय दलमा यसअघि समकालीन नेताहरूबीच प्रतिस्पर्धा हुँदै आएको थियो।

संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने प्रावधानबमोजिम कांग्रेस संसदीय दलको नेताको चुनाव बुधबार हुँदैछ। देउवा पहिलोपटक २८ वर्षअघि २०५२ सालमा संसदीय दलको नेता चुनिँदा गगनकुमार थापा त्रिचन्द्र क्याम्पसमा आईएसी पढ्दै थिए। त्यतिबेलै देउवा कांग्रेसको प्रभावशाली नेताका रूपमा स्थापित भइसकेका थिए।

२०५१ को मध्यावधि निर्वाचनपछि पार्टीमा गिरिजाप्रसाद कोइराला जस्ता शक्तिशाली नेता हुँदा हुँदै पनि देउवा संसदीय दलमा सर्वसम्मत चुनिएका थिए। नेकपा एमालेले अल्पमतको सरकार बनाएपछि देउवा संसद्‌मा प्रमुख प्रतिपक्षी दलको नेता बने। सोही बेला थापा त्रिचन्द्रको स्ववियु सदस्य थिए।

देउवा बहुदलीय व्यवस्था पुनर्स्थापनापछि २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा गृहमन्त्री थिए। २०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि पहिलोपटक संयुक्त सरकारको प्रधानमन्त्री बनेका देउवा छैटौँपटक प्रधानमन्त्री बन्ने दाउमा छन्। २०५६ सालमा डडेलधुराबाट निर्वाचित देउवा २०५८ साल साउनमा दोस्रोपटक प्रधानमन्त्री बनेका थिए। २०६१ साल जेठमा देउवा तेस्रो पटक प्रधानमन्त्री बने।

देउवा २०७४ सालमा चौथो पटक प्रधानमन्त्री बने। २०७४ मा बनेको केपी शर्मा ओली नेतृत्वको करिब दुई तिहाइ बहुमतको सरकार ढलेपछि देउवा पाँचौँपटक प्रधानमन्त्री बने। २०७२ फागुनमा भएको पार्टीको १३ औँ महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति चुनिएका देउवा चौधौँ महाधिवेशनमा पनि सभापति चुनिए।

शेरबहादुर देउवा

देउवा पहिलोपटक प्रधानमन्त्री बन्दा थापा विद्यार्थी राजनीतिमा बामे सर्दै थिए। तत्कालीन विद्यार्थी नेता बद्री अर्यालका अनुसार बास्केट बलमा विशेष रुची राख्ने थापालाई राजनीतिमा ल्याउँदा नेविसंघलाई केही भोटको आश थियो। थापाको बास्केट बलको टिम थियो। जसमा उनी जस्ता जुझारु युवा थिए।

थापा राजाको निरंकुश शासन व्यवस्थाको विरोधमा पार्टीको नीति विपरीत सुरुमै सडकमा उत्रिएका थिए। सडक आन्दोलनमा गणतन्त्रको नारा उराल्दै उत्रिएका थापाले बिस्तारै आफ्नो राजनीतिक उचाइ बढाउँदै गए। २०६२/०६३ को जनआन्दोलन थापालाई राष्ट्रिय राजनीतिमा स्थापित गर्ने सशक्त माध्यम बन्यो।

त्यसअघि २०५१ सालमा एमालेको ९ महिने शासनकालमा मूल्यवृद्धिको विरोधमा उत्रिएका बेला पक्राउ परेका थापा बिस्तारै विद्यार्थी राजनीतिमा सक्रिय हुँदै गए। त्रिचन्द्रमै स्ववियु सचिव, सभापति हुँदै नेविसंघ महामन्त्री बनेका थापा ०५९ सालमा आइपुग्दा आशालाग्दा युवा नेताका रूपमा स्थापित भइसकेका थिए। उनले गणतन्त्रको नारा उराल्दा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले ‘दरबारबाट परिचालित’ भनेका थिए।

२७ वर्षको अवधिमा देउवा छैटौँपटक प्रधानमन्त्रीमा दाबी गर्दै संसदीय दलमा चुनिन खोजेका छन्। देउवा पहिलोपटक प्रधानमन्त्री बन्दा विद्यार्थी राजनीतिमा बामे सर्दै गरेका थापा आज उनैको चुनौति र प्रतिस्पर्धी बनेर उभिएका छन्।

०६१ साल माघमा तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिँदा थापा नेविसंघको महामन्त्री थिए। त्यति बेला थापा विद्यार्थी राजनीतिमा स्थापित भइसकेका थिए। शाही सत्ताको विरोधमा लागेका महामन्त्री थापा र अध्यक्ष गुरुराज घिमिरे आन्दोलनका पर्याय नै थिए। पार्टीले गणतन्त्रको पक्षमा निर्णय नगर्दै थापा गणतन्त्रवादीका रूपमा परिचित भइसकेका थिए।

२०६३ सालको आन्दोलनपछि पार्टी राजनीतिमा सक्रिय भएका थापा आफ्नो भूमिका बढाउँदै लगेको नेताका रूपमा चिनिन्छन्।

२०६४ सालको संविधानसभामा समानुपातिकतर्फबाट सभासद् निर्वाचित थापाले मौलिक अधिकार समितिमा रहेर काम गरेका थिए। २०७० सालको संविधानसभा निर्वाचन, २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचन र २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट निर्वाचित थापा २०७३ सालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री बनेका थिए। नौ महिना मन्त्रालयको नेतृत्व गर्दा स्वास्थ्य क्षेत्र सुधारका काम गरेको भन्दै थापाको प्रशंसा गर्ने गरिएको छ।

गगनकुमार थापा

थापा २०६७ सालमा सम्पन्न पार्टीको १२औँ महाधिवेशनमा सर्वाधिक मत ल्याएर कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। एक वर्षअघि भएको पार्टी महाधिवेशनमा थापा महामन्त्रीमा निर्वाचित भएका छन्।

कांग्रेसको इतर पक्षको नेतृत्व गरिरहेका डा. शेखर कोइराला समूहबाट महामन्त्री बनेका थापा अहिले कोइरालाकै प्रस्तावमा संसदीय दलको नेतामा चुनावी मैदानमा छन्। थापालाई पार्टी उपसभापति धनराज गुरुङ, अर्का महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेलको समर्थन छ।

कहिले कोकोबीच प्रतिस्पर्धा?

२०७४ मा प्रकाशमान र देउवा :  २०७४ सालमा कांग्रेस संसदीय दलमा देउवाले ४४ मत प्राप्त गरेका थिए। उनका प्रतिस्पर्धी प्रकाशमान सिंहले १९ मत पाएका थिए। त्यति बेला कांग्रेसका ६३ जना सांसद थिए।

२०७० मा कोइराला र देउवा :  २०७० सालमा कांग्रेस संसदीय दलको नेताका लागि देउवा र तत्कालीन पार्टी सभापति सुशील कोइरालाबीच प्रतिस्पर्धा भएको थियो। १ सय ९४ मत खसेकामा कोइरालाका पक्षमा १ सय ५ र देउवाका पक्षमा ८९ मत खसेको थियो।

२०६४ मा देउवा र पौडेल : पहिलो संविधानसभा निर्वाचन २०६४ मा देउवालाई हराएर रामचन्द्र पौडेल संसदीय दलको नेता बनेका थिए।

२०५६ मा भट्टराई सर्वसम्मत :  २०५६ सालमा कृष्णप्रसाद भट्टराई संसदीय दलको नेता सर्वसम्मत भएका थिए।

२०५१ मा देउवा सर्वसम्मत : कांग्रेसभित्रको गुटबन्दीमा कतै नखुलेका, कोइरालाले गृहमन्त्री बनाइसकेका र भट्टराईको पनि स्नेह प्राप्त भएका देउवा सर्वसम्मत निर्वाचित भएका थिए।

२०४८ मा कोइराला सर्वसम्मत  : २०४८ सालमा तत्कालीन पार्टी सभापति कृष्णप्रसाद भट्टराई र नेता गणेशमान सिंहको प्रस्ताव र समर्थनमा गिरिजाप्रसाद कोइराला दलको नेता चयन भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − ten =