नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदै, जुट्ला त सहमति?

हिमाल प्रेस १० पुष २०७९ ७:३७ | Sunday, December 25, 2022
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमा आज सकिँदै, जुट्ला त सहमति?

काठमाडौँ- राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समयासीमा आज (आइतबार) अपरान्ह ५ बजे सकिँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ३ गते नयाँ सरकार गठनका लागि सात दिनको समय दिएकी थिइन्।

तर, दलहरू सहमति जुट्न नसक्दा सरकार गठनको विषय अन्योल बनेको छ। दलहरूका गतिविधि हेर्दा राष्ट्रपतिले दिएको समयसीमाभित्र प्रधानमन्त्रीका लागि कसैले पनि दाबी पेस गर्ने अवस्था देखिँदैन।

यद्यपि सहमति जुटाउन गठबन्धनको बैठक आज (आइतबार) बिहान फेरि बस्ने भएको छ। शनिबारको बैठकमा आलोपालो सरकार चलाउने विषयमा सहमति जुटे पनि कसले पहिले नेतृत्व गर्ने भन्ने विषयमा सहमति जुट्न सकेन। विशेष गरी नेपाली कांग्रेस र माओवादी केन्द्रबीच पहिलो दुई वर्ष कसले नेतृत्व गर्ने भन्ने विषयमा सहमति जुट्न नसकेको हो।

कांग्रेसले शेरबहादुर देउवा र माओवादी केन्द्रले पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो दुई वर्षका लागि प्रधानमन्त्री बन्नुपर्ने अडान राखेका छन्। यता दोस्रो ठूलो दल एमाले भने तत्काल सरकारमा जानुभन्दा गठबन्धन भत्काउने रणनीतिमा छ।

निर्वाचनमा माओवादी केन्द्र खुम्चिए पनि अध्यक्ष दाहाल सरकारको नेतृत्वका लागि जिद्दी गरिरहेका छन्। कांग्रेसबाट प्रधानमन्त्री बन्ने संकेत नपाएपछि उनले एमालेसँग पनि वार्ताको ढोका खोलेका छन्। उनले गठबन्धन छाड्न सक्ने पनि संकेत गरेका छन्।

२०७७ पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि दाहाल-ओली सम्बन्ध पानी बारबारजस्तै थियो। निर्वाचनपछि भने यी नेताहरूबीच सम्बन्ध सुधार हुन थालेको छ। यद्यपि दाहाल र ओलीबीचको वार्ता कुन स्तरमा पुगेको छ भन्ने विषय सार्वजनिक भइसकेको छैन।

ओलीले भने दाहाल तत्काल प्रधानमन्त्री बन्न नसक्ने अभिव्यक्ति दिइसकेका छन्।

प्रकाशित: १० पुष २०७९ ७:३७ | Sunday, December 25, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast