माओवादी गठबन्धनबाट बाहिरिने संकेत

हिमाल प्रेस ९ पुष २०७९ २२:०१
56
SHARES
माओवादी गठबन्धनबाट बाहिरिने  संकेत फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रले गठबन्धनबाट बाहिरिने संकेत गरेको छ। प्रधानमन्त्री पदसहित सत्ता समीकरणका विषयमा कुरा नमिलेपछि माओवादी नेताहरू गठबन्धनबाट बाहिरिने मनस्थितिमा पुगेका हुन्।

निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमोर्चा गठबन्धन बनाएर गएका थिए। निर्वाचनअघि यी दलबीच गठबन्धनलाई नै निरन्तरता दिने सहमति थियो।

निर्वाचन परिणाम सोचेअनुरूप नआएपछि गठबन्धनको अंकगणित पनि ‘फेल’ खाएको छ। कांग्रेस पहिलो दल बनेको छ भने माओवादी तेस्रो दलमा सीमित भएको छ। कांग्रेस जनमत आफ्नो पक्षमा आएकाले प्रधानमन्त्री पद नछाड्ने अडानमा छ।

संसद्‌मा तेस्रो दल भए पनि माओवादीले प्रधानमन्त्री पाउनुपर्ने बताउँदै आएको छ। गठबन्धनका बेला आलोपालो प्रधानमन्त्री भन्ने सहमति भए पनि पहिला को भन्ने भन्ने विषयमा सहमति भएको थिएन। अहिले माओवादी अध्यक्ष दाहालले आफूले प्रधानमन्त्री बन्न पाउनुपर्ने अडान राखेपछि सहमति जुट्न नसकेको हो।

‘हामी त्यसबाट बाहिर जाने पक्षमा छैनौँ’, गठबन्धनको शनिबार बसेको बैठकपछि माओवादीका एक नेताले भने। ती नेताका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री बनाउन नसकिएमा गठबन्धनमा रहिरनुको औचित्य छैन।

यसबारे आइतबार बिहान बस्ने बैठकले टुंगो लगाउने ती नेताले बताए। उनले भने, ‘आइतबार अन्तिम चरणको बैठक बस्दैछौँ। कुरा नमिलेमा त्यही बैठकबाट हामी गठबन्धनबाट अलग हुनेछौँ।’

प्रकाशित: ९ पुष २०७९ २२:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =