म्यानचेस्टर युनाइटेडमा फाटो : टेन हागले युवा खेलाडी छान्दा रोनाल्डोलाई धोका !

हिमाल प्रेस २८ कार्तिक २०७९ ४:४९
म्यानचेस्टर युनाइटेडमा फाटो : टेन हागले युवा खेलाडी छान्दा रोनाल्डोलाई धोका !

काठमाडौँ- अलेहान्द्रो गारनाचोले ९० मिनेट कटेपछि गरेको गोलले आइतबार राति म्यानचेस्टर युनाइटेड फुलहममाथि २–१ ले विजयी भयो। फुलहमको मैदानमा क्रिस्टियन एरिक्सनले १४ औँ मिनेटमा युनाइटेडलाई अघि बढाएका थिए।

तर दोस्रो हाफमा मैदान प्रवेश गरेका डानियल जेम्सले पूर्वक्लबविरुद्ध गोल गरेपछि फुलहम खेलमा फर्कियो। त्यसपछि गोल गर्ने पालो आयो १८ वर्षीय गारनाचोको। अर्जेन्टिनाका यी युवा स्ट्राइकरले एरिक्सनको पासमा गोल गर्दै युनाइटेडलाई तीन अंक दिलाए।

विश्वकप २०२२ अघि युनाइटेडले खेलेको यो अन्तिम खेल हो। इंग्लिस प्रिमियर लिगमा १४ खेल खेलेको युनाइटेडले २६ अंक बटुलेको छ। जुन उसको प्रतिद्वन्द्वी लिभरपुलको भन्दा चार अंकले बढी हो। शनिबार राति साउथह्याम्पटनलाई ३–१ ले पराजित गरेको लिभरपुल छैठौँ स्थानमा छ।

विश्वकपको विश्रामअघि युनाइटेड शीर्ष पाँचमा रहनुलाई प्रशिक्षक एरिक टान हागले प्रगति मानेका छन्। फुलहमसँगको खेल सकिएपछि टेन हागले आफ्नो टिममा एकता रहेको प्रतिक्रिया दिए। सायद उनको यो प्रतिक्रिया क्रिस्टियानो रोनाल्डोप्रति लक्षित थियो। जसको केही घण्टापछि क्लब र प्रशिक्षकविरुद्ध अभिव्यक्ति सार्वजनिक भएको थियो।

लगातार दोस्रो खेलमा टिमबाहिर राखिएका रोनाल्डोको एक टेलिजिनसँगको अन्तरवार्तामा आफूलाई युनाइटेडले धोका दिएको र टेन हागप्रति कुनै सम्मान नरहेको बताएका छन्।

पछिल्लो अभिव्यक्तिका कारण रोनाल्डोको युनाइटेडसँग सम्बन्ध थप बिग्रिनेमा शंका छैन। उनले अब युनाइटेडका लागि खेल्न पाउँछन् वा पाउँदैनन्, यसै भन्न सकिने अवस्था छैन। जनवरीमा सरुवा बजार खुल्ने भएकाले रोनाल्डो अर्को क्लबतर्फ स्थान्तरण हुने सम्भावना छ।

यदि यस्तो भइहाले टेन हाग चिन्तित हुने छैनन्। किनभने उनका लागि रोनाल्डो पहिलो एघारमा पर्ने खेलाडी होइनन्। यसै पनि टेन हागले रोनाल्डोलाई यो सिजन कम खेलमा खेलाएका छन्।

पछिल्लो समय युनाइटेडमा टेन हागको स्थान बलियो बन्दै गइरहेको छ। यसको मुख्य कारण सुधारिएको प्रदर्शन हो। त्यो पनि कयौँ खेलाडी घाइते भएर मैदानबाहिर रहेकै अवस्थामा।

नयाँ सिजनको सुरुवातमा युनाइटेडले लगातार दुई खेल हारेको थियो। कठिन सुरुवातको बाबजुद टेन हाग आत्तिएनन्। बरु युनाइटेडलाई विस्तारै लयमा फर्काउन सफल भए। हाल युनाइटेड चौथो स्थानबाट बस तीन अंकले मात्र पछाडि छ।

‘युनाइटेडको जग बलियो बनेको छ। हामी सही दिसामा छौँ। क्लबभित्रको संस्कृति पनि फेरिएको छ। खेलाडीको स्वाभावमा परिवर्तन आएको छ। आजकै खेल पनि हामीले अन्तिममा पुगेर जित्यौँ। युनाइटेड फेरिएको छ भन्ने एउटा उदाहरण हो यो,’ टेन हागले भनेका छन्।

गारनाचो जस्ता युवा खेलाडीको हिम्मतिलो प्रदर्शनले टेन हागलाई उत्साहित बनाएको छ। यी किशोर खेलाडीले युरोपा लिगमा रियल सोसिडाडाविरुद्ध निर्णायक गोल गरेका थिए। अभ्यासमा मेहनत नगर्ने भन्दै विगतमा गारनाचोको आलोचना हुने गरेको थियो। तर टिमका लागि लगातार निर्णायक साबित हुँदै गएपछि उनको प्रशंसा हुन थालेको छ।

‘गारनाचो कति प्रतिभावान् छन् भन्ने कुरा हामीलाई थाहा छ। प्रत्येक दिनको अभ्यासमा उनलाई मेहनत गरेको देखिरहेका छौँ। उनी सिकिरहेका छन्। मलाई लाग्छ उनी यो क्लबका लागि असाध्यै महत्त्वपूर्ण खेलाडी हुनेवाला छन्,’ एरिक्सनले गोलकर्ता साथी गारानाचोबारे भने।

गत साता एस्टन भिल्लासँग अप्रत्याशित पराजय भोगेपछि दबाबमा परेको युनाइटेडका लागि फुलहममाथिको जितले राहत दिएको छ। उपाधि होडमा मिसिने लक्ष्यमा रहेको युनाइटेड लिग लिडर आर्सनलभन्दा ११ अंकले पछि छ। तर सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीभन्दा ६ अंकले मात्र तल छ।

आगामी खेलमा युनाइटेडका खेलाडीले सकारात्मक मानसिकतासहित खेल्ने टेन हागको विश्वास छ। टिमभित्रको एकता सुदृढ बन्दै गइरहेकाले आफू उत्साहित बनेको टेन हागको संकेत थियो। ‘ड्रेसिङ रुम, क्लबका स्टाफ, समर्थक सबैबीच एकता छ। यो एकताले युनाइटेड बलियो बनेको छ,’ टेन हागले भने।

डच प्रशिक्षकको यो अभिव्यत्तिले युनाइटेडका अरु खेलाडी रोनाल्डोको साथमा छैनन् भन्ने संकेत पनि गरेको छ।

के भने रोनाल्डोले?
युनाइटेडले फुलहमलाई पराजित गरेको केही घण्टापछि रोनाल्डोले पियर्स मोर्गानलाई दिएको अन्तरवार्ताको ‘क्लिप’ सार्वजनिक भएको थियो। टक टिभीलाई रोनाल्डोले दिएको अन्तरवार्ताकाे आधारमा मोर्गानले बेलायती अखबार द सनमा लेख पनि लेखेका छन्।

युनाइटेडले आफूलाई जबरजस्ती क्लबबाट बाहिर निकाल्न खोजिरहेको रोनाल्डोको आरोप छ। ‘प्रशिक्षक टेन हाग मात्र होइन क्लबका अरु तीन अफिसियल पनि मलाई निकाल्ने प्रयासमा छन्। यो ममाथिको धोका हो। म निराश बनेको छु,’ रोनाल्डोले भनेका छन्।

युनाइटेडभित्र जे भइरहेको छ, आफूलाई जस्तो व्यवहार गरिएको छ, यसबारे सबैले थाहा पाउनु पर्ने रोनाल्डोको भनाइ छ। ‘यो वर्ष मात्र होइन, गएको वर्ष पनि मलाई निकाल्ने प्रयास गरिएको थियो। समर्थकले सत्य के हो भनेर बुझ्नु पर्छ,’ रोनाल्डोले भने।

रोनाल्डोले नोभेम्बर ६ मा एस्टन भिल्लाविरुद्धको खेलमा युनाइटेडको कप्तानी गरेका थिए। एफए कपमा भिल्लासँगै खेलमा रोनाल्डो टिमबाहिर रहे। आइतबार राति पनि उनलाई टिममा राखिएन। गत महिना चेल्सीसँगको खेलमा पनि उनी टिममा परेका थिएनन्। टोटनहमविरुद्धको बेन्चबाट मैदान प्रवेश गर्न नमानेकाे भन्दै कारबाही स्वरुप उनलाई तीन दिनपछि भएको चेल्सीसँगको खेलमा टिममा नराखिएको बताइएको थियो।

प्रशिक्षक टेन हाग र रोनाल्डोबीच क्रमशः यसरी नै तनाव बढ्दै गइरहेको हो। ‘यदि उनी मलाई सम्मान गर्दैनन् भने मैले उनलाई सम्मान गर्नुपर्छ भन्ने छैन,’ रोनाल्डोले भनेका छन्।

रोनाल्डोसँगको ९० मिनेट लामो अन्तरवार्ता आगामी बुधबार र बिहीबार सार्वजनिक हुने बताइएको छ। यो अन्तरवार्तामा रोनाल्डोले गत अप्रिलमा बितेका आफ्नो बच्चाबारे मुख खोलेका छन्। आफू शोकमा परेका बेला लिभरपुल समर्थकले देखाएको सम्मानले भावुक बनाएको पनि बताएका छन्।

एलेक्स फर्गुसनको संन्यासपछि युनाइटेड कमजोर बन्दै गएको रोनाल्डोको भनाइ छ। ‘फर्गुसनले छाडेपछि युनाइटेड जसरी अघि बढ्नु पर्ने थियो, त्यसरी अघि बढेको छैन। गरिनु पर्ने परिवर्तनबारे चासो दिइएको छैन,’ रोनाल्डोले भनेका छन्।

युनाइटेडको प्रशिक्षक बन्नुअघि टेन हागको नाम आफूले कहिल्यै नसुनेको रोनाल्डोको जिकिर थियो। रोनाल्डोले आफ्ना पूर्वसहकर्मी वायन रुनीबारे पनि टिप्पणी गरेका छन्। रुनीले अनावश्यक रूपमा आफ्नो आलोचना गर्ने गरेको रोनाल्डोको भनाइ छ।

‘मलाई थाहा छैन, उनी किन मेरो आलोचना गर्छन्। उनका करियर सकिइसक्यो, म अझ उच्चस्तरमा खेलिरहेको छु। सायद यही भएर उनी मेरो आलोचना गर्छन्,’ रोनाल्डोले भने।

प्रकाशित: २८ कार्तिक २०७९ ४:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =