ओलीका महत्त्वाकांक्षी योजनामाथि पार्टीभित्रै अनेक तगारा

किरण पौडेल २१ कार्तिक २०७९ १२:०४
ओलीका महत्त्वाकांक्षी योजनामाथि पार्टीभित्रै अनेक तगारा

काठमाडौँ- आसन्न प्रतिनिधिसभा निर्वाचनमा १ सय ५० सिट जित्ने दाबी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गरिरहेका छन्।

उनी प्रत्यक्षबाट एक सय सिट र समानुपातिकमार्फत ५० सिट ल्याउने दाबी गरिरहेका छन्। एमालेको बहुमत आउने र सरकार निर्माण गर्ने ओलीको योजना छ।

स्थायी सरकार दिने ‘ललिपप’ देखाउन एमालेले ओलीलाई भावी प्रधानमन्त्रीको निर्णय गरेको छ। तर कतिपयले यो निर्णय हास्यास्पद भन्दै आएका छन्।

ओलीको अभिव्यक्तिलाई हावादारी भन्दै निर्वाचनपछि एमाले सरकार नबन्ने राजनीतिक विश्लेषकको भनाइ छ। तर ओलीको यो योजना र अभिव्यक्तिमाथि उनीभित्रकै समस्याले तगारो ल्याउने कतिपयको बुझाइ छ।

सत्तारुढ गठबन्धन एक भएमा एमाले हार्ने भए पनि ओलीले गठबन्धनको कमजोरीमा खेलेर आफू जित्न खोजेको देखिन्छ। तर ओली र एमालेभित्रकै समस्याले पार्टीले हार्न सक्ने नेताहरूको भनाइ छ।

पार्टीभित्रको असन्तुष्टि तीव्र
पछिल्लो समय एमालेभित्र व्यापक असन्तुष्टि छ। टिकटमा असन्तुष्ट हुँदै घनश्याम भुसाललगायतले पार्टी परित्याग गरिसकेका छन्।

यसको प्रभाव पनि चुनावमा पर्ने देखिन्छ। भुसाल एमालेबाट बाहिरिएर सत्तागठबन्धनको समर्थनमा रुपन्देही १ बाट चुनाव लडिरहेका छन्। भुसालले एमालेको सक्दो विरोध र ओलीको नेतृत्व शैलीप्रति तीव्र असन्तुष्टि देखाएका छन्।

उनी ओलीकै कारण आफू एमाले छाड्न बाध्य भएको र यही गतिले एमाले अघि बढेमानिकट भविष्यमै सिद्धने दाबी गरिरहेका छन्।

उनले एक अन्तर्वार्तामा एमाले पार्टीजस्तो नभएको र ओलीले ‘एमाले सिद्ध्याउन उद्दत’ रहेको बताएका छन्। भुसालमात्र होइन एमालेका अर्का नेता प्रभु साहले पनि केही समयअघि पार्टी छाडेका छन्।

जसपासँग गठबन्धन गरेकै कारण आफू एमाले बाहिरिएको बताए पनि उनले एमालेकै विरोध गरिरहेका छन्। ‘एमालेमा ओलीको रजगज चल्छ। दुःखमा साथ दिनेलाई नै ओलीले नकरात्मक दृष्टिले हेरे,’ उनले भने,‘यसरी पार्टी चल्न सक्दैन।’

साहलाई रौतहट ३ बाट एमालेले टिकट दिएको थियो। तर एमालेको टिकट खल्तीमा राखेर उनी स्वतन्त्रबाट चुनावमा होमिए। उनलाई हाल सत्तागठबन्धनले साथ दिएको छ।

साह मधेशमा बलिया जनाधार भएका नेता मानिन्छन्। साहले टिकट अरूलाई नदिँदा उक्त क्षेत्र एमालेविहीन भएको छ। जसले गर्दा एमालेको एक सिट गुम्ने पक्का छ।

‘अब एमालेले त्यो क्षेत्रमा जित्दैन। हामीले एक सिट त्यहाँ गुमायौँ,’ एमाले उपमहासचिव विष्णु रिमालले स्वीकारेका छन्। पछिल्लो समय मधेशमा साहको अनुपस्थितिमा धेरै सिट गुम्ने खतरा छ। रौतहट, सिराह र सप्तरी र बारामा एमाले कमजोर हुने अनुमान छ। टुटफुटकै कारण सिट गुमाउने एमालेनिकट नेताकै भनाइ छ।

‘प्रभु साह आफूमात्र गएनन्। एमाले पनि बिगारेर गए। अहिले कमजोर अवस्था छ,’ मधेश प्रदेशकी एमाले नत्रृ रेखा झा भन्छिन्,‘ रौतहटको त कुरै नगरौँ। यहाँ त जिल्ला अधिवेशन पनि पुनः गर्नुपर्ने अवस्था छ।’ यस्तै एमालेकै नेता रामवीर मानान्धरले पनि एमालेभित्र तीव्र असन्तुष्टि देखाउँदै पार्टी छाडेका छन्।

पूर्वमाओवादी र ‘दसबुँदे’को असन्तुष्टि
नेकपा विभाजनपछि एमालेमा रहेका पूर्वमाओवादी र माधव नेपाल बाहिरिँदा एमालेमा रहेका ‘दसबुँदे’ नेताको अहिले असन्तुष्टि पोख्दै आएका छन्।

पूर्वमाओवादीहरू एमालेमा ओलीले ‘स्पेस’ नदिएको भन्दै असन्तुष्ट छन्। प्रत्यक्षमा अपेक्षाअनुसार सिट ओलीले नदिएको र समानुपातिकमा जोसुकैलाई उम्मेदवार सिफारिस गरेको गुनासो उनीहरूको छ। ओलीले आफूहरूलाई किनारा लगाउन खोजेको दुःखेसो पूर्वमाओवादीहरूले गरेका छन्।

‘हामीलाई आफ्नो घर छाडेर छिमेकीको घरमा गएजस्तो भान भएको छ। ओलीले सोधखोज गर्न छाडेका छन्,’ पूर्वमाओवादीका एक नेताले भने। त्यसो त नेतृत्वको आलोचना गर्न वातावरण नभएको र पार्टीको बैठकमा पनि बोल्ने ‘स्पेस’ नदिने गरेको उनीहरूको गुनासो छ। यता दसबुँदे नेताहरूले पनि यस्तै गुनासो गर्दै आएका छन्।

पहिले एमालेमा माधव नेपालनिकट रहेका र नेपाल बाहिरिँदा एमालेमै रहेका नेतालाई दसबुँदे नेता भनेर चिनिन्छ। निर्वाचनका लागि टिकट नदिएका कारण भीम रावल असन्तुष्ट छन्। अछाम-१ बाट सर्वसम्मत सिफारिस रावलको मनोनयनमा एमाले नेतृत्वकै कारण टिकट पाएनन्। यसैकारण उनले सार्वजनिक स्थान र सामाजिक सञ्जालमार्फत ओलीको तीव्र विरोध गरिरहेका छन्।

‘एमाले सक्न ओली उद्दत रहे। उनले राजावादीसँग साँठगाँठ गरे भने सूर्य चिह्नको लापारवाही गरे,’ रावलले भने। रावललाई ओलीले टिकट नदिएर झपट बोहोरालाई दिइएको छ। बोहोरा पूर्वमाओवादी नेता हुन्। पूर्वमाओवादी र दसबुँदे नेता भिडाएर एमालेमा ओलीले राज गर्न खोजेको उनीहरूको दुःखेसो छ।

रावललाईमात्र कति टिकट दिने भन्दै गर्दा आफूले लिएको टिकट उनी स्वयंले भूलेको तर्क सामाजिक सञ्जालमा भाइरल थिए। एमालेमा अहिले पनि यी दुई समूहबीच एकअर्काको अस्तित्व स्वीकार्न सक्ने वातावरण छैन।

दसबुँदेले पूर्वमाओवादीलाई ‘एमालेमा लगानी नभएको’ आरोप लगाउँछन्। यता पूर्वमाओवादीले पनि ‘दसबुँदे’ले राजनीतिक ‘सेभ’ गर्नकै लागिमात्र एमालेमा रहेको आरोप लगाउँछन्।

ओलीनिकट खेमामै असन्तुष्टि
पछिल्लो समय ओलीनिकट ‘कोर टिम’ मै असन्तुष्टि छ। यसको असर स्थानीय निर्वाचनमा पनि देखिसकिएको छ। अन्तर्घातका कारण एमालेमा ५० सिट घटेको अध्यक्ष ओलीको गुनासो छ।

एमालेकै दोस्रो दर्जाका नेता विष्णु पौडेल र शंकर पोखरेलबीच पनि असन्तुष्टि पैदा भएको एमालेका नेताको भनाइ थियो। यस्तै पृथ्वी सुब्बा गुरुङ र खगराज अधिकारीबीच पनि गुटका कारण एमालेले सिट गुमाएको बताएको थियो।

‘अहिले हामीबीच असन्तुष्टि छैन। पहिले पनि उहाँ (पृथ्वीसुब्बा) र म बीच समस्या थिएन। हाम्रो नाम लिएर जिल्ला नेताले खेमा निर्माण गरे,’ एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले भने,‘अब त्यस्तो हुँदैन। विगतमा नजानेर समस्या देखियो।’ खगराज-पृथ्वीसुब्बामा भने अर्को समस्या देखिन सक्ने कतिपयको बुझाइ छ। गएको प्रतिनिधिसभा निर्वाचनमा पृथ्वीसुब्बा प्रदेशमा लडेका थिए। मुख्यमन्त्री भए। अहिले पनि मुख्यमन्त्री बन्ने तयारीमा थिए। तर पार्टीले संघको टिकट दियो।

यता खगराज संघ ताक्दै थिए। कतिपय ठाउँमा मत पनि मागे। तर पार्टीले मुख्यमन्त्रीको आश्वासन दिएर प्रदेशको टिकट दियो। परिस्थिति फेरिपछि कस्तो नतिजा निस्किएला भन्ने हेर्न बाँकी छ।

अन्य प्रदेशमा पनि एकभन्दा बढी व्यक्ति एकै पदका आकांक्षी छन्। त्यसका कारणनिकट निर्वाचनमा अन्तर्घात हुन सक्ने एमाले नेताहरूको बुझाइ छ।

यसपटक एमालेले नेता व्यवस्थापन गर्न नसकेको बढेको छ। कतिपय ठाउँमा लोकप्रिय नेताहरू छुटेको, जनाधार नभएका नेताले टिकट नपाएको गुनासो छ।

‘हामीले टिकटका लागि रस्साकस्सी गर्‍यौ तर पार्टीले टिकट दिएन। हामीलाई महिला भनेर नपत्याएको हो कि भन्ने लागेको छ,’ एमाले नेत्रृ रचना खड्का भन्छिन्,‘तर पद सबैथोक होइन। पार्टीका लागि खटिराखेकी छु।’ अन्य एमाले नेतृको भनाइ पनि यस्तै छ। टिकट वितरणमा अन्य नेताको भनाइ पनि यस्तै छ।

भाँडभैलोमा पनि ओलीका ‘ठूलो सपना’का अभिव्यक्ति
ओली र ओलीनिकट नेताहरू आउँदो निर्वाचनमा १५० सिट जित्ने दाबी गर्दै आएका छन्। अहिले एमाले आफै कमजोर छ। एमाले फुटेर अर्को पार्टी बनेको छ।

पार्टीभित्रकै असन्तुष्टि रहँदा पनि सत्तागठबन्धनलाई ‘पत्तासाफ’ लगाउने अभिव्यक्ति दिइरहेका छन्। गएको प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी गठबन्धन बनेको थियो। त्यसबेला पनि एमालेले प्रत्यक्षमा ७७ र समानुपातिकमा ४१ सिट जितेको थियो।

अहिले ओली एमाले एक्लैले प्रत्यक्षमा एक सय र समानुपातिकमा ५० सिट ल्याउने दाबी गरिरहेका छन्। सत्तागठबन्धन बलियो बनेमा एमाले ३९मात्र जित्ने जित्ने प्रक्षेपण एमालेकै थियो।

त्यसमा अहिले एमालेले एक सय ४१ स्थानमामात्र उम्मेदवार उठाएको छ। तर एमाले नेतृत्व भने जित्ने उम्मेदवार उठाएकाले यसपटक बहुमत आउने दाबी गर्छन्।

‘मैले सबै क्षेत्रमा जित्छौ भन्न पनि मिल्थ्यो तर एक सय ठाउँमात्र जित्छौ भन्नुको अर्थ हामी त्यति क्षेत्रमा बलियो छौ भनेको हो,’ एमाले उपमहासचिव विष्णु रिमालले भने। एमालेको अंकगणित समीकरण भने अलि फरक छ।

‘माओवादीले १२ सिट जित्छ होला माओवादीले ४५ ठाउँ उठाएको छ। १२ पछाडि अरू सिट हाम्रै हो। यस्तै एकीकृत समाजवादीको पनि ३/४ सिट जित्छ होला त्यसबाहेकको सिट हाम्रै हो। त्यो सबै गणना गर्दा त हाम्रो एक सय सिट आइहाल्छ नि,’ रिमालको भनाइ छ।

लोकप्रिय भोट स्थानीय तहको निर्वाचनमा ३५ प्रतिशत आएको र आउँदो निर्वाचनमा छ प्रतिशत बढाएर ४१ बनाउने उनको भनाइ छ। ४१ प्रतिशत लोकप्रिय मत बहुमत ल्याउन योग्य मत भएको एमालेको प्रक्षेपण छ।

‘एमालेको दाबी हास्यास्पद’  
एमालेले यस्तो दाबी गरिरहँदा राजनीतिक विश्लेषकहरू भने ओलीले कार्यकर्ता रिझाउने प्रयास भएको राजनीतिक विश्लेषकको भनाइ छ।

‘हार निश्चित’ भए पनि ओलीले कार्यकर्तालाई हौस्याउन खोजेको राजनीतिक विश्लेषक कृष्ण पोखरेलको भनाइ छ। गएको स्थानीय तहमा पनि कांग्रेस पहिलो (३१५ सिट), दोस्रो एमाले (२१० सिट) ल्याएको थियो।

अहिले पनि एमाले दोस्रो बन्ने कतिपयको बुझाइ छ। ‘एमालेको मत गएको प्रतिनिधिसभामा जस्तो आउँदैन। साख घटेको छ,’ विश्लेषक पोखरेल भन्छन्,‘ ओलीकै कुरा त पत्याउन कसरी सकिन्छ र!’

प्रकाशित: २१ कार्तिक २०७९ १२:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =