‘ब्याटल अफ ब्रिटेन’ मा इंग्ल्यान्डलाई स्तब्ध बनाउने वेल्सको महत्वकांक्षा

हिमाल प्रेस १३ मंसिर २०७९ २०:३१
8
SHARES
‘ब्याटल अफ ब्रिटेन’ मा इंग्ल्यान्डलाई स्तब्ध बनाउने वेल्सको महत्वकांक्षा

काठमाडौँ- विश्वकपको समूह चरणमा मंगलबार राति इंग्ल्यान्ड र वेल्स आमनेसामने हुँदैछन्। ‘ब्याटल अफ ब्रिटेन’ समेत भनिएको यो खेल जिते इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा पुग्नेछ। तीन अंक बटुले वेल्सको नकआउट चरण पुग्ने सम्भावना जीवित बन्नेछ।

वेल्स ६४ वर्षपछि विश्वकपमा छनोट भएको हो। त्यही उत्साहले खेलेको वेल्सले पहिलो खेलमा अमेरिकाबाट अंक खोसेको थियो। दोस्रो खेलमा भने वेल्सले इरानसँग हार व्यहोर्‍यो। यही हारका कारण वेल्सको खाडी बसाइ चाँडै सकिने हो कि भन्ने संशय उत्पन्न भएको छ। यो संशयलाई चिर्न वेल्सले इंग्ल्यान्डलाई हराउनु पर्नेछ।

विश्व फुटबलमा इंग्ल्यान्ड र वेल्सबीचको प्रतिद्वन्द्विता विश्वकै पुरानोमध्येको हो। यी दुई टिम सन् १८७९ यता देखिका प्रतिद्वन्द्वी हुन्। उनीहरू एक सय चार पटक भिडेका छन्। जसमध्ये वेल्स जम्मा १४ पटक मात्र विजयी भएको छ। वेल्सले इंग्ल्यान्डलाई हराउन नसकेको ३८ वर्ष भइसकेको छ।

वेल्सको नकआउट चरणमा स्थान इंग्ल्यान्डमाथिको जितले मात्र पक्का गर्नसक्ने छैन। इरान र अमेरिकाबीचको खेल बराबरीमा टुंगिनु पर्नेछ। यदि इरान र अमेरिकामध्ये एक विजयी भए, वेल्स घर फर्कनेछ। इरान र अमेरिकाबीचको नतिजाले फर्कन नपार्नका लागि वेल्सले इंग्ल्यान्डलाई ४–० ले पन्छाउनु पर्नेछ।

गणतीय सम्भावनाले उत्साहित भएर खेल्दा वेल्सका लागि कप्तान ग्यारेथ बेलले निर्णायक प्रदर्शन गर्नु पर्नेछ। उनले अमेरिकासँगको बराबरीमा पेनाल्टी गोल गरेका थिए। तर इरानविरुद्ध भने शान्त रहे। रियल म्याड्रिड तथा टोटनहमका पूर्वविंगर बेल क्लब करियरको उत्तराद्र्धमा छन्। ३३ पुगिसकेका उनका लागि यो अन्तिम विश्वकप खेल हुनसक्छ।

उता इंग्ल्यान्डले भने पहिलो खेलमा इरानमाथि ६–२ को जित निकालेको थियो। यही लयलाई निरन्तरता दिने आश गरिएको इंग्लिस टिम दोस्रो खेलमा अमेरिकासँग बराबरीमा रोकियो। विश्वकप सुरु हुनुअघि नै इंग्ल्यान्डलाई उपाधि दाबेदारका रुपमा प्रस्तुत गरिएको थियो। झन् पहिलो खेल ठूलो अन्तरले जितेपछि त इंग्लिस समर्थक उत्साहित भइहाले। तर दोस्रो खेलको नतिजाले भने उनीहरूलाई तुरुन्तै निराश बनायो। त्यहीभएर उनीहरूले आफ्नै खेलाडीविरुद्ध हुटिङ गरे।

सुरुका दुई खेलमा ग्यारेथ साउथगेटले उही पहिलो एघार चयन गरेका थिए। तेस्रो खेलमा भने उनले टिममा परिवर्तन गर्ने सम्भावना छ। यस्तोमा उनले ज्याक ग्रिलिस र क्यालुम विल्सनलाई अवसर दिन सक्छन्।

वेल्ससँगको खेल कप्तान तथा स्ट्राइकर ह्यारी केनका लागि गोल लयमा फर्कने मौका हुनसक्छ। उनले पहिलो खेलमा दुई असिस्ट दर्ता गरेका थिए। तर विश्वकप २०१८ का गोल्डन बुट विजेता केनले यसपालि गोलको खाता खोल्न सकेका छैनन्।

प्रकाशित: १३ मंसिर २०७९ २०:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =