यी हुन् मत परिणाममा पछाडि रहेका चर्चित अनुहार

हिमाल प्रेस ७ मंसिर २०७९ १६:५९
244
SHARES
यी हुन् मत परिणाममा पछाडि रहेका चर्चित अनुहार

काठमाडौँ- प्रतिनिधिसभा निर्वाचनको नतिजा आउने क्रम जारी छ। प्रत्यक्षतर्फको २८ सिटको नतिजा आउँदा कांग्रेसले १३ सिटमा जितेर अग्रता लिइरहेको छ। यस्तै एमालेले पाँच, राष्ट्रिय स्वतन्त्र पार्टीले चार, माओवादी केन्द्रले दुई, एकीकृत समाजवादीले एक, राप्रपाले एक, नागरिक उन्मुक्ति पार्टीले एक, राष्ट्रिय चनमोर्चाले एक स्थानमा चुनाव जितेका छन्।

चुनावमा केही नयाँ नेताले संसद् प्रवेशको अवसर पाएका छन् भने केही नेताहरूको संसद् यात्रा आगामी चुनावसम्मका लागि रोकिएको छ। केही नेता भने मतगणनामा पछाडि परेका छन्। यसरी पछाडि पर्नेमध्ये एक हुन् कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला। झापा–३ मा सिटौलालाई राप्रपाका राजेन्द्र लिङ्देनले चुनौती दिइरहेका छन्। सिटौलाको १६ हजार ८७० मत आउँदा लिङ्देनको १९ हजार ६३३ मत आएको छ।

मतगणनामा पछाडि रहेका अर्का नेता सुनसरी ३ बाट चुनाव लडेका कांग्रेसका विजय गच्छदार हुन्। उक्त क्षेत्रमा एमालेकी भगवती चौधरीले दुई हजार ७११ मत ल्याउँदा एक हजार ७६२ मतसहित गच्छदार तेस्रो स्थानमा छन्। दोस्रो स्थानमा रहेका राप्रपाका कमलबाबु मैनालीको दुई हजार ३६७ मत छ।

सञ्चारमन्त्रीसमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र कार्की सुनसरी–४ मा पछाडि परेका छन्। एमालेका जगदीशप्रसाद कुसियैतको सात हजार ५९१ मत आउँदा कार्कीको छ हजार ६६७ मत आएको छ। यस्तै सुनसरी–२ मा एमालेका भीम आचार्यलाई राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापाले पछाडि पारेका छन्। थापाको चार हजार ५९ मत आएको छ भने आचार्यले तीन हजार १४७ मत ल्याएका छन्। आचार्य प्रदेश १ का पूर्वमुख्यमन्त्री हुन्। धनकुटामा कांग्रेसका सनिलबहादुर थापा १७ हजार ४४७ मतसहित दोस्रो स्थानमा भने एमालेका राजेन्द्रकुमार राई १८ हजार ३७१ मतसहित अगाडि छन्।

महोत्तरी–१ मा माओवादी केन्द्र गिरिराजमणि पोखरेल पनि पछाडि परेका छन्। उनीभन्दा अगाडि एमालेका लक्ष्मीमहतो कोइरी छन्। उनले पाच हजार ७६३ मत ल्याएका छन्। बारा–१ मा कांग्रेसका उमाकान्त चौधरी पनि दोस्रो स्थानमा छन्। उनले १६ हजार २७६ मत ल्याउँदा एमालेका अच्युतप्रसाद मैनालीले २० हजार ३०८ मत ल्याएका छन्।

काभ्रे–२ मा एमालेका गोकुल बाँस्कोटाले १३ हजार ४६१ मत ल्याउँदा कांग्रेसका शिवप्रसाद हुमागाईँले १३ हजार ८१५ मत ल्याएका छन्। भक्तपुर–२ मा एमालेका महेश बस्नेतविरुद्ध दुर्लभ थापा क्षेत्रीले अग्रता लिइरहेका छन्। थापाले २२ हजार २४८ मत ल्याउँदा बस्नेतले २१ हजार ६४३ मत ल्याएका छन्।

मकवानपुरमा राप्रपाका दीपकबहादुर सिंहले आठ हजार ५४३ मत ल्याएर अग्रता लिँदा राप्रपा अध्यक्ष कमल थापा तेस्रो स्थानमा छन्। कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले दुई हजार ४८४ मत ल्याएकी छन्। लमजुङमा माओवादी नेता देवप्रसाद गुरुङ र एमालेका पृथ्वी सुब्बाबीच प्रतिस्पर्धा भइरहेको छ। पृथ्वीसुब्बाले २२ हजार ४३८ मत ल्याउँदा देवले २२ हजार १३० मत ल्याएका छन्।

एमालेबाट निकट नपाएपछि रुपन्देहीबाट स्वतन्त्र लडेका घनश्याम भुसाल पनि दोस्रो स्थानमा छन्। उनलाई एमालेका छविलाल विश्वकर्माले पाँच हजार ३४८ मतसहित अग्रता लिइरहेका छन् भने भुसालको चार हजार ११४ मत छ।

यस्तै सोही निर्वाचन क्षेत्रमा कांग्रेसका बालकृष्ण खाण र राप्रपाका दीपक बोहराबीच प्रतिस्पर्धा भइरहेको छ। खाणले १३ हजार ३५६ मत ल्याउँदा बोहराले ११ हजार ८८२ मत ल्याएका छन्। अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीले २६ अजार ८०६ मतसहित अग्रता लिँदा कांग्रेसकी पुष्पा भुसालले २४ हजार ९६५ मतका साथ पछ्याइरहेकी छन्।

प्युठानमा गठबन्धनबाट उम्मेदवार बनेकी दुर्गा पौडेलविरुद्ध एमालेका सूर्य थापाले अग्रता लिइरहेका छन्। पौडेलको २३ हजार ९२३ मत छ भने थापाको २७ हजा ९८९ मत छ। दाङ–२ मा एमाले महासचिव शंकर पोखरेल पनि पछाडि परेका छन्। उनले १५ हजार ४७ मत ल्याएका छन्र। जारी मत गणनामा माओवादीकी रेखा शर्माको १६ हजार ५३३ मत छ।

नवलपरासी पश्चिम–१ मा कांग्रेसका विनोद चौधरीले १७ हजार २७९ मत ल्याउँदा जनता प्रगतिशीलका हृदयेश त्रिपाठीले १२ हजार ५६१ मत ल्याएका छन्। यस्तै मधेशमा पनि केही नेता पछाडि परेका छन्। मधेशलाई आधार बनाएर राजनीति अगाडि बढाइरहेका लोसपा अध्यक्ष महन्थ ठाकुरलाई पनि जित निकाल्न कठिन देखिन्छ। कांग्रेस राजनीतिबाट उचाइ पुगेका ८० वर्षीय ठाकुर ‘अन्तिमपटक’ भन्दै महोत्तरी–३ बाट मैदानमा छन्। उनलाई स्वतन्त्र उम्मेदवार रामअधार कापडले टक्कर दिइरहेका छन्। कापडको पाँच हजार २१७ मत आउँदा ठाकुरको पाँच हजार १३५ मत आएको छ।

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसले बजरंग नेपालीलाई उम्मेदवारी फिर्ता लिन लगाएर ठाकुरको जित सहज बनाइदिएको थियो। ठाकुरलाई यसपालि पनि गठबन्धनको साथ छ। उनी साझा उम्मेदवार नै हुन्। तर स्वतन्त्र उम्मेदवार कापडले अग्रता लिँदा ठाकुर दोस्रो स्थानमा छन्। उनकै पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र महतोलाई पनि जित निकाल्न सकस छ। महतोलाई आफ्नै पुराना सहकर्मी महिन्द्रराय यादवले चुनौती दिइरहेका छन्।

२०७४ सालको निर्वाचनमा एउटै दल राजपामा आबद्ध भएका बेला महतो धनुषा–३ र महिन्द्र सर्लाही–२ बाट चुनाव लडेका थिए। दुवै निर्वाचित पनि भए। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा फरक–फरक दलबाट चुनाव लडेका महतोलाई महिन्द्रले पराजित गरेका थिए। यसपालि भने दुवैको दल फरक छ। महतो लोसपाका वरिष्ठ नेता हुन् भने महिन्द्र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष।

सर्लाही–२ बाट प्रतिस्पर्धा गरिरहेका दुवै नेता सत्ता गठबन्धनमा आबद्ध छन्। माओवादीको चुनाव चिह्न हँसिया हथौडा लिएर चुनाव लडेका महिन्द्रलाई गठबन्धनले आफ्नो आधिकारिक उम्मेदवार भनेको थियो। सर्लाही–२ को पछिल्लो मतगणनाअनुसार महिन्द्रले अग्रता लिएका छन् भने महतो दोस्रो स्थानमा छन्। यादवले चार हजार ७४० मत ल्याउँदा महतोको तीन हजार ९६३ मत छ।

मतगणनामा दुवै पार्टीका अधिकांश नेताहरू दोस्रो वा तेस्रो स्थानमा छन्। धनुषा क्षेत्र नम्बर १ बाट जसपाका दीपककुमार कार्कीले अग्रता लिएका छन्। यस क्षेत्रबाट अघिल्लोपटक माओवादी केन्द्रका मातृका यादव निर्वाचित भएका थिए।

सिरहा २ मा नेपाली कांग्रेसकी चित्रलेखा यादवले अग्रता लिइरहँदा जसपाका राजकिशोर यादव दोस्रो स्थानमा छन्। धनुषा ३ मा एमालेकी जुलीकुमारी महतोले अग्रता लिएकी छन् भने लोसपाका अनिलकुमार झा दोस्रो स्थानमा छन्।

मधेश प्रदेशमा लोसपाका एकमात्र नेता शरतसिंह भण्डारीले अग्रता कायम गरेका छन्। महोत्तरी २ बाट प्रतिस्पर्धा गरिरहेका भण्डारीलाई एमालेका रामपरीक्षण यादवले पछ्याइरहेका छन्। संसद् यात्रा अवरुद्ध हुने प्रभावशाली नेताहरूमध्ये एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल एक हुन्। उनलाई काठमाडौँ–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले पराजित गरेका छन्। यस्तै माओवादीकी स्थापित नेत्री ओनसरी घर्ती काठमाडौँ–२ बाट पराजित भएकी छन्।  जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतले हराएका छन्।

प्रकाशित: ७ मंसिर २०७९ १६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + seven =