पहिलो चुनावमा निर्वाचित सांसद कोको थिए? निकटतम प्रतिद्वन्द्वीसहित

हिमाल प्रेस ५ मंसिर २०७९ ७:०४
248
SHARES
पहिलो चुनावमा निर्वाचित सांसद कोको थिए? निकटतम प्रतिद्वन्द्वीसहित

हामी यति बेला प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणामको प्रतीक्षामा छौँ। मुलुकभर आइतबार एकै चरणमा सम्पन्न मतदानको मतगणना प्रारम्भ भएको छ। केही ठाउँमा भने मतदान रोकिएकाले छिटै निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ। यति नै बेला पहिलो आमनिर्वाचन २०१५ मा निर्वाचित नेताहरु, उनीहरुका प्रतिद्वन्द्वीसहितको नामावली दिइएको छ। उक्त निर्वाचन एक महिनाभन्दा बढी समय लगाएर सम्पन्न भएको थियो। पहिलो चरणमा विजयी नेताको नामावली यसअघि नै प्रकाशित गरिसकेका छौँ।

२०१५ साल फागुन ७ सुरु भएको निर्वाचनमा पहिलो दिन १८ वटा निर्वाचन क्षेत्रमा मतदान भएको थियो। निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार फागुन ११ गते ८ वटा निर्वाचन क्षेत्र, फागुन १४ गते ३, फागुन १५ गते ११, फागुन १६ गते ३, फागुन १९ गते ६, फागुन २१ गते ९, फागुन २३ गते ५, फागुन २५ गते ३, फागुन २६ गते ४, फागुन २८ गते ५, चैत २ गते १०, चैत ५ गते ६, चैत ७ गते ३, चैत ११ गते ६, चैत १३ गते ३, चैत १७ गते ३, चैत २१ गते ३ वटा निर्वाचन क्षेत्रमा मतदान भएको थियो।

एउटा मात्रै निर्वाचन क्षेत्र भएको झापामा निर्वाचनका लागि २०१५ साल चैत ११ लाई मिति तोकिएको थियो। तर उक्त दिन त्यहाँ फागुपूर्णिमा रहेको र स्थानीय जनताले मतदान गर्ने दिन सारी पाऊँ भनी निवेदन दिएकाले त्यहाँ १३ गते निर्वाचन भएको थियो।

चैत २१ अन्तिम चरणका लागि तोकिएको बागलुङ निर्वाचन क्षेत्र नम्बर ८७ बागलुङ उत्तरमा अवस्थित एक मतदान केन्द्र छार्केमा त्यस दिन निर्वाचन हुन सकेन। त्यहाँ हिमपातका कारण कर्मचारी खटिन नसकेका कारण निर्वाचन हुन सकेको थिएन। उक्त मतदान केन्द्रमा वैशाख २५ मा मात्र निर्वाचन सम्पन्न भएको थियो र त्यसको नतिजा सोही २७ वैशाखमा मात्र सार्वजनिक गरिएको थियो। चैत २१ गते सम्पन्न उत्तर बागलुङको एक मतदान केन्द्रबाहेक १०८ वटा क्षेत्रको निर्वाचन परिणाम वैशाख १ गतेसम्म सार्वजनिक भइसकेको थियो।

एउटा निर्वाचन क्षेत्रको एक मतदान केन्द्रमा निर्वाचन नभएकाले सम्पूर्ण मतपरिणाम भने सार्वजनिक भइसकेको थिएन। मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष एवं नेपाली कांग्रेसका नेता जनरल सुवर्णशमशेरले तीनवटा निर्वाचन क्षेत्रबाट निर्वाचन लडेर तीनवटै क्षेत्रमा जित हासिल गरेका थिए। ती तीनवटा क्षेत्रमा क्षेत्र नम्बर ५२ (बारा मध्य उत्तर), क्षेत्र नम्बर ५३ (बारा पर्सा पूर्वान्त) र क्षेत्र नम्बर ९१ (गुल्मी दक्षिण–पश्चिम) बाट निर्वाचन जितेका थिए। उनले २०१५ साल चैत ३१ गते क्षेत्र नम्बर ५३ कायम राखेर ५२ र ९१ बाट राजीनामा गरेका थिए। (जनचेतना २०१६ वैशाखका अंकहरू काठमाडौँ नगरपालिकाको मुखपत्र)

 फागुन ११ गते सम्पन्न निर्वाचनमा विजयी

उपत्यकाको क्षेत्र नम्बर ३ ललितपुर उपत्यकाबाट नेपाल कम्युनिस्ट पार्टीका तुल्सीलाल अमात्य ७,९५९ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आशाराम शाक्यले ७,७१६ मत प्राप्त गरेका थिए। एकजना महिला स्वतन्त्र उम्मेदवार कमल शाहले ७८८ मत प्रप्त गरेकी थिइन्। ३९,७०२ मतदाता रहेको उक्त क्षेत्रमा त्यहाँ कुल २६, १६७ मत खसेको थियो।

उपत्यकाको अर्को क्षेत्र नम्बर ४ भक्तपुर उपत्यकाबाट नेपाली कांग्रेसका जगन्नाथ आचार्य ६,०६८ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल राष्ट्रवादी गोरखा परिषद्का बलध्वज खड्काले २,७३९ मत प्राप्त गरेका थिए। एकजना महिला स्वतन्त्र उम्मेदवार रानी शारदाले ३८१ मत प्रप्त गरेकी थिइन्। ४१,५२८ मतदाता रहेको उक्त क्षेत्रमा त्यहाँ कुल २२,१७६ मत खसेको थियो।

क्षेत्र नम्बर ३१ मोरङ विराटनगर पूर्वबाट नेपाली कांग्रेसका चेतुलाल चौधरी ८,०९४ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली राष्ट्रिय कांग्रेसका नगेन्द्रप्रसाद रिजाल (पछि २०३० सालमा प्रधानमन्त्री) ले २,८२८ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ३५ सप्तरी पूर्वान्तबाट नेपाल राष्ट्रवादी गोरखा परिषदका  दुर्गानन्दप्रसाद थारु ४,७९६ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वीरबलले ४,५३४ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ४१ खेस्राहा महोत्तरी दक्षिण पूर्वबाट नेपाली कांग्रेसका सरोजप्रसाद कोइराला १०,०९० मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार जमुनाप्रसाद सिंह राजपुतले ४,१३० मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ५३ बारा पर्सा पूर्वान्तबाट नेपाली कांग्रेसका जनरल सुवर्णशमशेर जबरा ८,८६४ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल राष्ट्रवादी गोरखा परिषद्का श्रीशमशेर जबराले ५,६४१ मत प्राप्त गरेका थिए। उक्त निर्वाचन क्षेत्रमा दुईजना राणाकै टक्कर थियो। त्यस्तै यो सुवर्णशमशेरले जितेका ३ निर्वाचन क्षेत्रमध्येको एक थियो र पछि सुवर्णले अन्य दुईबाट राजीनामा गरी यसैलाई कायम राखेका थिए।

निर्वाचन क्षेत्र नम्बर ६० खजहनी पूर्वबाट संयुक्त प्रजातन्त्र पार्टीका वासुदेव तिवारी ६,९६२ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पद्मबहादुर सिंहले २,२१० मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ६३ बाँकेबाट नेपाली कांग्रेसका ललित चन्द ७,२२३ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रामगोपाल चौधरीले ३,४२९ मत प्राप्त गरेका थिए।

 फागुन १४ गते सम्पन्न निर्वाचनमा विजयी

निर्वाचन क्षेत्र नम्बर १९ भोजपुर मध्यबाट नेपाली कांग्रेसका खड्गबहादुर कार्की ७,२९६ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल राष्ट्रवादी गोरखा परिषदका कर्णबहादुर राईले ४,२३५ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ८२ सल्यान उत्तर पूर्वबाट नेपाली कांग्रेसका टेकबहादुर घर्ती क्षेत्री ५,४२८ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र लोकजंगबहादुर शाहले ४,१९४ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ९१ गुल्मी दक्षिण पश्चिमबाट नेपाली कांग्रेसका जनरल सुवर्णशमशेर जबरा १३,५०७ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी संयुक्त प्रजातन्त्र पार्टीका इन्द्रलाल जोगी कँुवरले ३,१२८ मत प्राप्त गरेका थिए। सुवर्णशमशेरले उक्त क्षेत्रबाट राजीनामा दिएपछि रिक्त स्थानमा उपनिर्वाचन हुँदा नेपाली कांग्रेसकै पुष्करनाथ पोखरेल निर्वाचित भएका थिए।

 फागुन १५ गते सम्पन्न निर्वाचनमा विजयी

निर्वाचन क्षेत्र नम्बर १० पूर्व १ नम्बर चौतारा मध्यपूर्वमा नेपाल राष्ट्रवादी गोरखा परिषदका हर्षजित लामा ८,०३१ मत सहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनकुमार श्रेष्ठले १,६४१ मत प्राप्त गरेका थिए।

पूर्व २ नम्बर निर्वाचन क्षेत्र नम्बर १४ रामेछाप दक्षिणमा नेपाल राष्ट्रवादी गोरखा परिषद्का उम्मेदवार बेनीबहादुर कार्की ३,२१९ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यप्रसाद उपाध्यायले २,८४० मत प्राप्त गरेका थिए। नेपाली कांग्रेसका प्रभावशाली नेता उपाध्याय रामेछाप दक्षिणसहित काठमाडौँ क्षेत्र नम्बर ५ बाट समेत उम्मेदवार भई दुवै क्षेत्रबाट पराजित भएका थिए। पछि उनी महासभामा निर्वाचित भई बीपी कोइरालाको नेतृत्वमा गठन भएको पहिलो जननिर्वाचित सरकारमा गृह र कानुनमन्त्रीसमेत भए।

पूर्व ४ नम्बर निर्वाचन क्षेत्र नम्बर २६ धनकुटा मध्यमा नेपाली कांग्रेसका तेजमान तुम्वाहाम्फे ४,३९८ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गणेशबहादुर प्रसाईँले २,६२१ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ३३ मोरङ विराटनगर पश्चिमोत्तरमा नेपाली कांग्रेसका ज्ञानचन्द्र सरदार ५,४५५ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टीका दिव्यराज आचार्यले ५,३०७ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ४३ जनकपुरमा नेपाली कांग्रेसका  महेन्द्रनारायण निधि १०,१२० मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी तराई कांग्रेसका उम्मेदवारले ३,६५८ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ५६ चितवन चिसापानीमा नेपाली कांग्रेसका विश्वबन्धु थापा ६,८२९ मतसहित निर्वाचित भएका थिए। कुल ४३,९०१ मतदाता रहेको उक्त क्षेत्रमा १५,७१४ मत खसेको थियो। थापाका निकटतम प्रतिद्वन्द्वी संयुक्त प्रजातन्त्र पार्टीका टेकबहादुर गुरुङले ३,९५५ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ५९ पाल्ही माझखण्ड पश्चिममा संयुक्त प्रजातान्त्रिक पार्टीका काशीप्रसाद श्रीवास्तव १४,१५६ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल प्रजातान्त्रिक महासभाका  विष्णुप्रसाद चौधरीले २,२७५ मत प्राप्त गरेका थिए। उक्त निर्वाचनमा सबैभन्दा बढी मतसहित विजयी हुने उम्मेदवार श्रीवास्तव नै हुन्।

निर्वाचन क्षेत्र नम्बर ७१ डोटी दक्षिणमा नेपाली कांग्रेसका शिवराज पन्त ७,२२६ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी संयुक्त प्रजातन्त्र पार्टीका उम्मेदवार डा केआई सिंह (पूर्व प्रधानमन्त्री एवं सोही पार्टीका अध्यक्ष) ले ३,९६६ मत प्राप्त गरेका थिए। पन्त अर्को निर्वाचन क्षेत्र नम्बर ७० बाट पनि निर्वाचित भएका थिए।

निर्वाचन क्षेत्र नम्बर ९५ नुवाकोट दक्षिण पूर्वबाट नेपाली कांग्रेसका जमानसिंह गुरुङ १३,८१० मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल राष्ट्रवादी गोरखा परिषद्का जिमु शोभाकान्त शर्माले २६८६ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ९९ पोखरा पश्चिमामा नेपाली कांग्रेसका मीनबहादुर गुरुङ ९,४७९ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी ज. हरिशमशेर जबराले ४,४८५ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर १०८ नुवाकोट उत्तरमा नेपाल राष्ट्रवादी गोरखा परिषद्का देववीर पाण्डे ४३५४ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बद्रीराम उपाध्याय भण्डारीले ४,१३७ मत प्राप्त गरेका थिए।

 फागुन १६ गते सम्पन्न निर्वाचनमा विजयी

निर्वाचन क्षेत्र नम्बर ३७ सप्तरी पश्चिममा स्वतन्त्र उम्मेदवार हरिलाल चौधरी ६,१३२ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टीका कृष्णराज बर्माले ६,०५२ मत प्राप्त गरेका थिए। उक्त निर्वाचनमा ४ जना स्वतन्त्र उम्मेदवारले निर्वाचन जितेका थिए।

निर्वाचन क्षेत्र नम्बर ५२ बारा मध्ये उत्तरमा नेपाली कांग्रेसका जनरल सुवर्णशमशेर जबरा ७,२२१ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल राष्ट्रवादी गोरखा परिषद्का मनमोहन मिश्रले ५,९४८ मत प्राप्त गरेका थिए। सुवर्णले उक्त क्षेत्रबाट राजीनामा दिएपछि भएको उपनिर्वाचनमा उनै नेपाल राष्ट्रवादी गोरखा परिषद्का मनमोहन मिश्र निर्वाचित भएका थिए।

निर्वाचन क्षेत्र नम्बर ७५ दैलेख पश्चिममा नेपाल राष्ट्रवादी गोरखा परिषदका इन्द्रसिंह रावल ५६०८ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी संयुक्त प्रजातन्त्र पार्टीका टेकबहादुर रावलले ३,०५३ मत प्राप्त गरेका थिए।

फागुन १९ गते सम्पन्न निर्वाचनमा विजयी

पूर्व १ नम्बर निर्वाचन क्षेत्र नम्बर ८ चौतारा मध्य पश्चिमा नेपाल राष्ट्रवादी गोरखा परिषदका सुरेन्द्रप्रसाद उपाध्याय ५,२०० मत सहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका आशाकाजीले २६७२ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ४४ महोत्तरी प्रगन्ना पूर्वमा नेपाली कांग्रेसका रामनारायण मिश्र ११,६४३ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल प्रजापरिषद मिश्र गुटका सुन्दरलालले ६५८७ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ५८ पाल्ही पश्चिम माझखण्ड मध्यमा संयुक्त प्रजातन्त्र पार्टीका त्रिवेणी कुर्मी ९,२८२ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अनगमान श्रेष्ठले २,५३४ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ७६ दैलेख मध्यमा नेपाली कांग्रेसका भक्तबहादुर शाही २,२८२ मत सहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार केशवबहादुर शाहले १,०१७ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ६२ देउखुरी दाङ दक्षिण पूर्वमा नेपाली कांग्रेसका परशुनारायण चौधरी १२,७३७ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टीका नारायणप्रसाद शर्माले २,८३६ मत प्राप्त गरेका थिए।

पश्चिम १ नम्बर निर्वाचन क्षेत्र नम्बर १०६ धादिङ दक्षिणमा नेपाल राष्ट्रवादी गोरखा परिषद्का  ललितबहादुर घले ६,०५० मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भरतप्रसाद उप्रेतीले २,५१८ मत प्राप्त गरेका थिए।

फागुन २१ गते सम्पन्न निर्वाचनमा विजयी

पूर्व ४ नम्बर निर्वाचन क्षेत्र नम्बर २१ भोजपुर उत्तर पूर्वमा नेपाली कांग्रेसका दिवानसिंह राई ६,३०१ मत सहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सुरेन्द्रबहादुर बस्नेतले ३,३१९ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर २७ धनकुटा दक्षिणमा नेपाली कांग्रेसका दगलसिं सेन लिम्बुले राई ५,२०२ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल राष्ट्रवादी गोरखा परिषदका राजनारायणले १,४५८ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ३८ सप्तरी पश्चिम धनछ्वारमा नेपाली कांग्रेसका सूर्यनाथ दास यादव ७,३८२ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टीका चन्द्रेश्वरलाल दासले ६,७१३ मत प्राप्त गरेका थिए।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर ५१ बारा मध्यदक्षिणमा नेपाली कांग्रेसका भागवत यादव ८,०९५ मतसहित निर्वाचित भएका थिए।

निर्वाचन क्षेत्र नम्बर ५५ चिसापानी मकवानपुरमा नेपाल राष्ट्रवादी गोरखा परिषदका ताराप्रसाद उपाध्याय ८,९७३ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामलालले २,६२२ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ७८ सल्यान पश्चिमोत्तरमा नेपाली कांग्रेसका राजा स्वयंप्रकाश विक्रम शाह १०,२८१ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल राष्ट्रवादी गोरखा परिषदका सुदर्शनले २,४५४ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ९० गुल्मी उत्तर पश्चिमा नेपाली कांग्रेसका नीलाम्बर शर्मा ९,४८४ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल राष्ट्रवादी गोरखा परिषदका प्रेमबहादुर मल्लले ७,०२५ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ९६ नुवाकोट दक्षिण पश्चिममा नेपाली कांग्रेसका येमबहादुर ठकुरी ११,३०२ मतसहित निर्वाचित भएका थिए।

निर्वाचन क्षेत्र नम्बर १०२ पोखरा दक्षिण पश्चिमा नेपाली कांग्रेसका पद्मबहादुर १२,२३७ मत सहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल राष्ट्रवादी गोरखा परिषदका तरवीरजंग शाहीले ५,०४४ मत प्राप्त गरेका थिए।

फागुन २३ गते सम्पन्न निर्वाचनमा विजयी

पूर्व १ नम्बर निर्वाचन क्षेत्र नम्बर ७ चौतारा उत्तरपूर्वमा नेपाली कांग्रेसका चन्द्रलाल श्रेष्ठ ३,८४४ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल राष्ट्रवादी गोरखा परिषदका लेफ्टिनेन्ट जनल युवराज शमशेरले ३,५५८ मत प्राप्त गरेका थिए।

पूर्व २ नम्बर निर्वाचन क्षेत्र नम्बर १३ रामेछाप उत्तरमा नेपाल राष्ट्रवादी गोरखा परिषद्का विष्णुप्रसाद उप्रेती ५,४१३ मतसहित निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर २५ धनकुटा पूर्व मध्यमा नेपाली कांग्रेसका प्रेमराज आङदम्बे ८,६१४ मत सहित निर्वाचित भएका थिए।

निर्वाचन क्षेत्र नम्बर ४५ महोत्तरी प्रगन्ना पश्चिममा नेपाली कांग्रेसका वेणीमाधव सिंह १०,३६० मतसहित निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर ६६ डडेल्धुरामा नेपाली कांग्रेसकी द्वारिकाचन्द ठकुरानी निर्वाचित भएकी थिइन्।

उक्त आमनिर्वाचनमा राजनीतिक दलका तर्फबाट एउटै महिला उम्मेदवार उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी संयुक्त प्रजातन्त्र पार्टीका उम्मेदवार लक्ष्मीदत्त भट्टलाई २,०६४ मतको फराकिलो मतान्तरले पराजित गरेकी थिइन्। त्यहाँ खसेको ८,१४४ मतमध्ये उनले ३,९०३ मत प्राप्त गरेकी थिइन्। यसरी उनले नेपालको पहिलो निर्वाचित महिला सांसद संगसंगै पहिलो महिला मन्त्री भएर इतिहाससमेत रचेकी थिइन्।

फागुन २४ गते सम्पन्न निर्वाचनमा विजयी

निर्वाचन क्षेत्र नम्बर ५७ पाल्ही पूर्वमा नेपाली कांग्रेसका पृथ्वीराज कँडेल ६,८११ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र भवनी शंकरले ४,०९५ मत प्राप्त गरेका थिए। निर्वाचन क्षेत्र नम्बर ८५ प्युठान पूर्व दक्षिणमा नेपाली कांग्रेसका पं. पुरुषोत्तम शर्मा ३,९८७ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टीका मोहनविक्रम घर्ती क्षेत्रीले २,५४९ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर १०७ धादिङ उत्तरमा नेपाल राष्ट्रवादी गोरखा परिषदका भरतशमशेर जबरा ८,८८० मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जगतप्रकाशजंग शाहले ३,६०४ मत प्राप्त गरेका थिए। भरतशमशेर पहिलो संसद्मा प्रतिपक्षी दलका नेता थिए।

फागुन २६ गते सम्पन्न निर्वाचनमा विजयी

निर्वाचन क्षेत्र नम्बर २८ इलाम पश्चिम पाँचथर दक्षिणमा नेपाली कांग्रेसका गणेशप्रसाद उपाध्याय ६,७१० मतसहित निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर ३९ सिरहा मध्यमा नेपाली कांग्रेसका देवनाथ दास ११,७७० मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र बुन्निलाल महतो ४४४६ मत प्राप्त गरेका थिए। निर्वाचन क्षेत्र नम्बर ४८ रौतहट पश्चिम दक्षिणमा नेपाल प्रजापरिषद् आचार्य गुटका शेख इद्रिस ७,४९० मतसहित निर्वाचित भएका थिए।
क्षेत्र नम्बर १०३ पोखरा दक्षिण पूर्वमा नेपाली कांग्रेसका श्रीभद्र शर्मा ६,२४० मतसहित निर्वाचित भएका थिए।

फागुन २८ गते सम्पन्न निर्वाचनमा विजयी

निर्वाचन क्षेत्र नम्बर ४६ असिभौ कोद्राहमा स्वतन्त्र उम्मेदवार रामदुलार राय यादव ४,५५० मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका भोजराम उपाध्यायले ३,९९३ मत प्राप्त गरेका थिए।

निर्वाचन क्षेत्र नम्बर ७२ अछाम बाजुरामा नेपाली कांग्रेसका दिलबहादुर बुढाथापा ९,६०५ मतसहित निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर ७९ सल्यान मध्यपश्चिममा नेपाली कांग्रेसका नेवबहादुर मल्ल ६,०१६ मतसहित निर्वाचित भएका थिए।

निर्वाचन क्षेत्र नम्बर ८९ गुल्मी उत्तर पूर्वमा नेपाली कांग्रेसका गिरिप्रसाद बुढाथोकी ८,३६२ मतसहित निर्वाचित भएका थिए। पश्चिम ४ नम्बर निर्वाचन क्षेत्र नम्बर ९७ नुवाकोट मध्यमा नेपाली कांग्रेसका डिकबहादुर गुरुङ १०,११४ मतसहित निर्वाचित भएका थिए।

चैत २ गते सम्पन्न निर्वाचनमा विजयी

पूर्व १ नम्बर निर्वाचन क्षेत्र नम्बर ६ चौतारा उत्तर पश्चिममा नेपाल राष्ट्रवादी गोर्खा परिषदका गुणनिधि ५,४९० मत सहित निर्वाचित भएका थिए। त्यस्तै पूर्व २ नम्बर निर्वाचन क्षेत्र नम्बर १२ दोलखा मध्यमा नेपाल राष्ट्रवादी गोर्खा परिषदका उम्मेदवार मेजर जनल मृगेन्द्रशमशेर जबरा ६,१४५ मतसहित निर्वाचित भएका थिए।

पूर्व ३ नम्बर निर्वाचन क्षेत्र नम्बर १६ ऎसेलुखर्कमा नेपाली कांग्रेसका उम्मेदवार मणिराम शास्त्री ६,९४६ मतसहित निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर २४ धनकुटा उत्तर पूर्वमा नेपाली कांग्रेसका उम्मेदवार कुलमान लिम्बु ४,८५१ मतसहित निर्वाचित भएका थिए।

निर्वाचन क्षेत्र नम्बर २९ इलाम मध्यपूर्वमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णबहादुर भट्टराई ८,१७० मतसहित निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर ४० सप्तरी पश्चिमा नेपाली कांग्रेसका माधवप्रसाद रेग्मी ७,५०० मतसहित निर्वाचित भएका थिए। क्षेत्र नम्बर ४९ रौतहट मध्य पूर्वमा नेपाल कम्युनिस्ट पार्टीका शेख फर्मान ४,९८४ मतसहित निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर ६७ बैतडी पूर्व दक्षिणमा नेपाली कांग्रेसका दुर्गादत्त जोशी ५,२६४ मतसहित निर्वाचित भएका थिए।

निर्वाचन क्षेत्र नम्बर ८४ प्युठान मध्यपूर्वमा नेपाली कांग्रेसका अनिरुद्र उपाध्याय ७,८८८ मतसहित निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर ९३ पाल्पा पश्चिममा नेपाली कांग्रेसका अच्युतराज रेग्मी ६,२८२ मतसहित निर्वाचित भएका थिए।

चैत ५ गते सम्पन्न निर्वाचनमा विजयी

निर्वाचन क्षेत्र नम्बर ४७ सर्लाही पश्चिममा नेपाल प्रजापरिषद् मिश्र गुटका निस्तार राय ४,५२० मतसहित निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर ७४ जुम्ला दक्षिणमा स्वतन्त्र उम्मेदवार जयबहादुर महत क्षेत्री ३,००१ मत सहित निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर ८० सल्यान फालावाङ राज्य दाङ उत्तर पश्चिममा नेपाली कांग्रेसका गणेशकुमार शर्मा ८,८७७ मतसहित निर्वाचित भएका थिए।

निर्वाचन क्षेत्र नम्बर ८८ बागलुङ दक्षिण पूर्वमा नेपाल राष्ट्रवादी गोर्खा परिषद्का हरिदत्त पाध्या ८,८७० मत सहित निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर १०१ पोखरा पूर्वमा नेपाली कांग्रेसका नरेन्द्रजंग गुरुङ ८,३६७ मत सहित निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर १०५ गोरखा दक्षिणमा नेपाल राष्ट्रवादी गोर्खा परिषदका कोमलबहादुर कँुवर ३,२३२ मत सहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका लालध्वज गुरुङले १,६२९ मत प्राप्त गरेका थिए।

चैत ७ गते सम्पन्न निर्वाचनमा विजयी

निर्वाचन क्षेत्र नम्बर ५० बारा, पर्सा रौतहट उत्तर दोस्तियामा नेपाल कम्युनिस्ट पार्टीका हरदयाल महतो ५,२५० मत सहित निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर ७० थलारा डोटी उत्तरमा नेपाली कांग्रेसका शिवराज पन्त ५,१९९ मत सहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्दी नेपाल प्रजापरिषद पार्टीका नन्दलाल जोशीले ३,२३१ मत प्राप्त गरेका थिए। ७० र ७१ दुवै निर्वाचन क्षेत्रबाट विजयी शिवराज पन्तले ७० बाट राजीनामा गरेपछि त्यहाँ उपनिर्वाचन भएको थियो। उपनिर्वाचनमा नेपाली कांग्रेसका नवराज जोशी निर्विरोध निर्वाचित भएका थिए।

निर्वाचन क्षेत्र नम्बर ९८ नुवाकोट उत्तरमा संयुक्त प्रजातन्त्र पार्टीका धीरबहादुर गुरुङ ४,५१८ मतसहित निर्वाचित भएका थिए।

चैत ११ गते सम्पन्न निर्वाचनमा विजयी

निर्वाचन क्षेत्र नम्बर ११ दोलखा उत्तरमा नेपाली कांग्रेसका गृहबहादुर बस्नेत ३,९१८ मत मत सहित निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर १८ माने भञ्ज्याङमा नेपाली कांग्रेसका बलबहादुर राई ७,१२९ मत सहित निर्वाचित भएका थिए।

निर्वाचन क्षेत्र नम्बर २३ धनकुटा उत्तर पश्चिममा नेपाली कांग्रेसका पदमनाथ रेग्मी ८,३७० मत मत सहित निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर ३४ उदयपुरमा नेपाली कांग्रेसका अम्बरसिंह बस्नेत क्षेत्री ५,६५३ मतसहित निर्वाचित भएका थिए।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर ८३ प्युठान उत्तर पश्चिममा नेपाली कांग्रेसका खडानन्द उपाध्याय ४।६०४ मत मत सहित निर्वाचित भएका थिए।

चैत १३ गते सम्पन्न निर्वाचनमा विजयी

निर्वाचन क्षेत्र नम्बर ३० झापामा ९,४०९ मत सहित नेपाली कांग्रेसका फत्तेबहादुर बुढाथोकी निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर ६८ बैतडी उत्तर पश्चिममा नेपाली कांग्रेसका कृष्णलाल लेखक ५,७६१ मत सहित निर्वाचित भएका थिए।
निर्वाचन क्षेत्र नम्बर ९४ पाल्पा पूर्वमा नेपाल कम्युनिस्ट पार्टीका कमलराज रेग्मी ६,५६३ मत सहित निर्वाचित भएका थिए।

निर्वाचन क्षेत्र नम्बर १०४ गोरखा उत्तरबाट नेपाल राष्ट्रवादी गोर्खा परिषदका विश्वनाथ सुवेदी ३,१३३ मत सहित निर्वाचित भएका थिए। उक्त क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद भट्टराई (निर्वाचनमा पराजित भए पनि उनी उक्त संसदको सभामुख भए र पछि ०४८ र २०५६ मा प्रधानमन्त्री समेत भए।)

चैत १६ गते सम्पन्न निर्वाचनमा विजयी

निर्वाचन क्षेत्र नम्बर ९९ बझाङमा नेपाली कांग्रेसका मीनबहादुर गुरुङ ९,४७९ मत सहित निर्वाचित भएका थिए। त्यस्तै निर्वाचन क्षेत्र नम्बर ८६ बाग्लुङमा नेपाली कांग्रेसका राजा भरत बम मल्ल ८,२२२ मत सहित निर्वाचित भएका थिए। निर्वाचन क्षेत्र नम्बर १०० पोखरा मध्यमा नेपाली कांग्रेसका श्रीकान्त अधिकारी १०,१०६ मत सहित निर्वाचित भएका थिए।

चैत २१ गते सम्पन्न निर्वाचनमा विजयी

निर्वाचन क्षेत्र नम्बर १७ ओखलढुंगामा नेपाली कांग्रेसका पेशलकुमार पोखरेल ६,५०१ मत सहित निर्वाचित भएका थिए। र्वाचन क्षेत्र नम्बर ७३ जुम्ला उत्तरमा स्वतन्त्र उम्मेदवार भीमप्रसाद श्रेष्ठ २८६४ मतसहित निर्वाचित भएका थिए। जुम्लाका दुव निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारले जितेका थिए।

निर्वाचन क्षेत्र नम्बर ८७ बाग्लुङ उत्तरमा नेपाली कांग्रेसका योगेन्द्रमान शेरचन १०,६११ मत सहित निर्वाचित भएका थिए। यही निर्वाचन क्षेत्रको एउटा मतदान केन्द्रमा मतदान हुन नसक्दा समग्र निर्वाचन परिणाम ढिला भएको थियो।

प्रकाशित: ५ मंसिर २०७९ ७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 2 =