जर्मनीमा छैन विश्वकपको उत्साह

हिमाल प्रेस ३ मंसिर २०७९ ७:२५
जर्मनीमा छैन विश्वकपको उत्साह

काठमाडौँ- विश्वकपले जर्मनीमा उत्साह ल्याउनु सामान्य हो। चार पटक विश्वकप जितेको फुटबल फगत खेल मात्र होइन, संस्कृति पनि हो। विश्वकप जहाँ होस्, जर्मनीमा त्यसको प्रभाव पर्ने गरेको छ।

तर यसपटक जर्मनीमा फरक दृश्य देखिएको छ। बर्लिन जस्तो सहरमा पनि विश्वकपलाई लिएर उत्साह छैन। विगतमा जस्तो जर्मन झण्डा फहराइएको छैन। जताततै विश्वकप सम्बन्धी केही न केही कार्यक्रम हुन्थे। यसपल्ट त्यो पनि छैन। सार्वजनिक ‘स्क्रिनिङ’ पनि राखिएको छैन।

आउँदो मंगलबार जर्मनीले आफ्नो पहिलो खेलमा जापानको सामना गर्दैैछ। तर यस्तो लाग्छ जर्मन समर्थकलाई केही मतलब छैन। कम्तीमा बाहिरबाट हेर्दा त्यस्तै देखिन्छ। जर्मनीमा किन यस्तो चकमन्न? यसको जवाफ हो विश्वकप आयोजक कतारप्रति जर्मनको असन्तुष्टि।

जर्मनीमा अहिले ‘कतार विश्वकपलाई बहिस्कार गरौँ’ अभियान चलाइएको छ। कतारले आप्रवासी कामदारलाई गरेको व्यवहार उचित नभएको भन्दै जर्मन नागरिक आक्रोशित छन्। ‘कतार जस्तो देशले आयोजना गर्ने विश्वकपमा रमाउन हामी चाहँदैनौँ। जर्मन समर्थककलाई यो विश्वकपको केही मतलब छैन। यो हाम्रा लागि कुनै उत्सव होइन,’ बहिस्कार अभियानका बन्र्ड बेयेरले अमेरिकी समाचास संस्था एपीसँग भनेका छन्।

कतार र विश्वकपको विरोधमा जर्मन समर्थकले प्रदर्शन पनि गरेका थिए। जर्मनीको पहिलो र दोस्रो श्रेणीको लिगका खेलहरू भइरहँदा समर्थकले ब्यानरसहित प्रदर्शन गरेका थिए। कतारमा मानवअधिकारको स्थिति ठिक नभएको सन्देश ती ब्यानरमा लेखिएको थियो।

विगतमा जर्मन राष्ट्रिय टिमका खेलाडी र प्रशिक्षक विभिन्न व्यापारिक इभेन्टमा देखा पर्थे। विश्वकपको बहानामा अन्तर्राष्ट्रिय तथा घरेलु ब्रान्डका वस्तु छुट दिएर बिक्री गरिन्थ्यो। यसपल्ट जर्मनीमा विश्वकपले व्यापारिक चहलपहल ल्याएको छैन। जर्मनीमा खेलकुद सम्बन्धी वस्तु बिक्री वितरण गर्नेहरुको संगठनले पहिले जस्तो व्यापार नभइरहेको बताएको छ।

‘पहिले विश्वकपको बेला सहरका स्पोर्ट्स स्टोरमा भिडभाड हुन्थ्यो। अहिले पहिलेको दाँजोमा आधा पनि भिड छैन,’ त्यस संगठनका अध्यक्ष स्टेफान हेरजोगले स्थानीय अखबार आरएनडीसँग भनेका छन्।

विभिन्न राष्ट्रिय टिमका जर्सी उत्पादन गर्ने एडिडासले जर्मन जर्सीको माग असाध्यै कम रहेको बताएको छ। विश्वकप खेल्ने ३२ टिममध्ये सातवटाको जर्सी उत्पादक रहेको जर्मन कम्पनी एडिडासले मेक्सिकन जर्सीको माग सबैभन्दा उच्च जनाएको छ।

आरएनडीका अनुसार जर्सी मात्र होइन टेलिभिजन सेटकै बिक्री पनि न्यून छ। जबकि विश्वकप लगायतका ठूला इभेन्टका बेला विश्वका अन्य बजारमा जस्तै जर्मनीमा पनि टेलिभिजनको माग उच्च हुने गथ्र्यो।

जर्मनीका सयौँ बारले विश्वकपका खेल देखाउन इन्कार गरिरहेका छन्। बर्लिनमा स्पोर्ट्स बार सञ्चालन गर्ने स्टिफ क्रुगर जर्मनी फाइनलमै पुगे पनि खेल नदेखाउन बताउँछन्। ‘हाम्रो यस्तो निर्णयमा जर्मन समर्थकको समर्थन छ। हामीले विश्वकप नदेखाउने भन्दा सबैले खुसी व्यक्त गरेका छन्,’ क्रुगरले भने।

जर्मनीले सन् २०१४ मा विश्वकप जित्दा टिमका सदस्य रहेका केभिन ग्रोसक्रेज पनि बार सञ्चालक हुन्। डर्टमन्डमा रहेको उनको बारले पनि विश्वकप बहिस्कार गरेको छ। ‘हामी फुटबललाई माया गछौँ। फुटबल हाम्रो जीवनको अभिन्न अंग हो। तर यो विश्वकपलाई लिएर हाम्रा निकै विमति छन्। हाम्रो निर्णयले कतारमा जर्मनीको प्रदर्शनमा असर परे पनि परोस्,’ ग्रोसक्रेज सञ्चालक रहेको बारले आफ्नो इन्स्टाग्राममा एकाउन्टमा लेखेको छ।

विश्वकप आयोजक कतारले भने आफूमाथि लाग्दै आएको आरोपको जवाफ दिँदै आएको छ। आप्रवाशी कामदारको सुरक्षा, मानवअधिकार लगायतका विषयमा आफूले सुधार गरिरहेको कतारको भनाइ छ। यस्तो स्पष्टीकरणका बाबजुद जर्मनी र अन्य युरोपियन देशमा कतारको आलोचना हुन छाडेको छैन।

यहीबीच जर्मनीका चान्सलर ओलाफ सोल्ज विश्वकप हेर्न कतार जालान् कि नजालान् भन्ने विषयमा चर्चा भइरहेको छ। जर्मन सरकार प्रमुख सोल्जका प्रवक्ता स्टेफन हेबेस्ट्रेटले भने कतार भ्रमणको विषय टुंगो नलागेको बताएका छन्।

‘यो विश्वकपलाई लिएर विभिन्न कोणबाट बहस भइरहेको छ। जर्मन समर्थकसँग विश्वकप बहिस्कार गर्ने अधिकार छ। किनभने जर्मनी लोकतान्त्रिक देश हो,’ बाहिस्कार अभियानमाथि हेबेस्ट्रेटको टिप्पणी छ।

फिफाले कतारलाई विश्वकप आयोजन गर्ने अधिकार दिँदा बुन्डेसलिगाका बायर्न लेभरकुजन र बोरुसिया डर्टमन्डले विरोध गरेका थिए। यी दुई क्लबले हालै मात्र विश्वकप सम्बन्धी सामग्री वेबसाइट र सामाजिक सञ्जालमा कम पोस्ट गर्ने बताएका छन्। बुन्डेसलिगकै होफनहाइमले त आफ्नो वेबसाइट र सामाजिक सञ्जाल विश्वकपरहित बनाउने घोषणा गरेको छ।

उल्फ्सबर्गका निर्देशक योर्ग सामाड्केले विश्वकप जस्तो उत्सवलाई नकारात्मक विषयले छोपेको प्रतिक्रिया दिएका छन्। ‘विश्वकपलाई लिएर म पहिले जस्तो उत्साहित छुइनँ। कुनै खेल हेर्छु वा हेर्दिनँ भन्ने पनि थाहा छैन,’ सामाड्केले आफ्नै क्लबको अखबारसँग भनेका छन्।

उल्फ्सबर्ग र कतारबीच घुमाउरो सम्बन्ध छ। उल्फ्सबर्ग प्रसिद्ध जर्मन अटोमोबाइल कम्पनी फक्सवागनको स्वामित्व भएको क्लब हो। अनि फक्सवागनमा कतारको १० प्रतिशत सेयर छ। यद्यपि यो सम्बन्धले उल्फ्सबर्गका समर्थकलाई कतारको विरोध गर्न रोकेको छैन।

जर्मनीमा यसपल्ट सार्वजनिक स्थलमा पर्दा टाँगेर विश्वकप नहेरिने अरु कारण पनि छन्। जस्तै जाडो, अन्त्य नभइसकेको कोभिड–१९ महामारी, आउनै लागेको क्रिसमसका कारण व्यस्त इभेन्ट म्यानेजमेन्ट कम्पनीहरू आदि।

यो विश्वकपलाई लिएर असन्तुष्टि व्यक्त गर्नेमा जर्मन समर्थकबाहेक अरु पनि छन्। बेल्यिजममा पनि कतारको विरोध भइरहेकै छ। त्यहाँको फुटबल संघले यसपालि ठाउँ ठाउँमा ठूला पर्दा टाँगेर खेल देखाउने योजना स्थगित गरेको छ।

पेरिस लगायतका फ्रान्सका ठूला सहरहरूमा पनि विश्वकपलाई लिएर पहिले जस्तो चहलपहल र उत्साह नरहेको बताइँदैछ। स्पेनको बार्सिलोना सहरकी मेयर एडा कोलाउले कतार जस्तो अधिनायकवादी देशमा हुन गइरहेको विश्वकप देखाउन सार्वजनिक स्थान र सम्पत्तिको प्रयोग गर्न नसकिने बताएकी छन्।

प्रकाशित: ३ मंसिर २०७९ ७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 6 =