‘मतदानपूर्व बम विस्फोटमा तीन घाइते, एक ठाउँमा झडप’

हिमाल प्रेस २ मंसिर २०७९ ५:०६
‘मतदानपूर्व बम विस्फोटमा तीन घाइते, एक ठाउँमा झडप’

काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदानपूर्व बम विस्फोटमा तीन जना घाइते भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ। आयोगको टोलीले अनुगमनका क्रममा दार्चुलाको नौगाडमा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच झडप भएको अनुगमनका क्रममा पाएको हो।

निर्वाचनका क्रममा आयोगको उच्चस्तरीय अनुगमन टोलीसहित ३२ वटा  टोलीले सातै प्रदेशका ६७ जिल्लामा मतदानपूर्वको मानव अधिकार अवस्थाको अनुगमन गरेका छ।।

आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘बाँकेको नेपालगन्ज र भोजपुर जिल्लामा बम विस्फोट हुँदा ३ जना घाइते भएका, दार्चुलाको नौगाड गाउँपालिकामा सत्ता गठबन्धन र एमाले कार्यकर्ता बिच झडप हुँदा एकजना गम्भीर घाइते भएको, चितवनको भरतपुरमा स्वतन्त्र उम्मेदवार र कांग्रेसका उम्मेदवारको सवारी साधनमा आक्रमण गरिएको लगायतका घटना भएको पाइएको छ।’

दाङ, प्युठान, रसुवा, नुवाकोट, रामेछाप, डोटी, काठमाडौँलगायतका ७२ जिल्लामा ठूला दलका उम्मेदवारले नै निर्वाचन गतिविधिमा बालबालिकालाई प्रयोग गरेका १ सय ६५ वटा सूचना प्राप्त भएको आयोगले जनाएको छ। दलहरूले टिकटक बनाउन, प्रचार प्रसारको क्रममा नाचगान र विद्यालयमा प्रचार सामग्री टाँस्न बालबालिकाको प्रयोग गरेका छन्। यस्तै मतदाता नामावलीमा नाम नभएका कारण कारागारमा रहेका धेरै कैदी बन्दीहरुले मतदान गर्न नपाउने अवस्था देखिएको आयोगको अनुगमन प्रतिवेदनमा उल्लेख छ।

निर्वाचनमा असहमति र अवज्ञा जनाएका समूहका कार्यकताले जाजरकोट, रुकुम, रोल्पा, सल्यान लगायतका जिल्लामा स्थानीय नागरिकलाई मतदान नगर्न दबाब दिँदै सभा तथा कार्यक्रम गरिरहेको आयोगले जनाइको छ।

निर्वाचनका दिनमा मानव अधिकार अवस्था अनुगमनका लागि आयोगका माननीय अध्यक्ष, माननीय सदस्यहरु, सचिव, सहसचिव, आयोगका पूर्व पदाधिकारीहरु नेतृत्वको १० वटा अनुगमन टोलीले काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, नुवाकोट, धादिङ जिल्लाहरुमा अनुगमन गर्ने आयोगको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २ मंसिर २०७९ ५:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eighteen =