राजावादी लिङ्देनविरुद्ध सिटौलाको उक्साहट, कति होला फलदायी?

हिमाल प्रेस १ मंसिर २०७९ ११:५९
राजावादी लिङ्देनविरुद्ध सिटौलाको उक्साहट, कति होला फलदायी?

झापा- कांग्रेस नेता कृष्णप्रसाद सिटौला माओवादीको हिंसात्मक राजनीतिलाई शान्तिप्रक्रियामा ल्याउन मुख्य भूमिका निर्वाह गर्ने नेतामध्ये एक मानिन्छन्। शान्तिप्रक्रियापछि मुलुकमा गणतन्त्र स्थापना भयो।

मुलुकमा राजतन्त्र अन्त्यका लागि भएको आन्दोलनमा सक्रियता देखाएका सिटौलालाई राजतन्त्रकै समर्थक राजेन्द्र लिङ्देनसँग चुनावी प्रतिस्पर्धामा छन्। २०७४ सालमा लिङ्देनसँग पराजित सिटौला अहिले फेरि उनैसँग आमनेसामने भएका हुन्।  त्यसैले  झापा निर्वाचन क्षेत्र नं. ३ लाई चासोपूर्वक लिइएको छ।

अघिल्लो वर्ष भएको महाधिवेशनमा राप्रपा अध्यक्षमा निर्वाचित लिङ्देन प्रभावशाली नेताका रूपमा चिनिन्छन्। संसद‍्मा उनले निर्वाह गरेको भूमिकाको पनि बेलाबेला प्रशंसा हुँदै आएको छ। आफ्नो निर्वाचन क्षेत्रको पूर्वाधार निर्माणमा उनको सक्रियता चासोको विषय बन्ने गरेको छ।

सिटौला यति बेला लिङ्देनले विकास निर्माणको काम गर्न नसकेको आरोप लगाउँदै मतदाता फकाउन व्यस्त छन्।  दुई दिनअघि झापा क्षेत्र नं. ३ मा पर्ने पृथ्वीनगरमा आयोजित चुनावी सभामा सिटौलाले भने, ‘०७४ को निर्वाचनमा यस क्षेत्रमा राप्रपालाई जिताइयो। तर विकासका केही पनि काम भएनन्।’

उत्साहका साथ चुनावी अभियानमा होमिएका सिटौलाले आफूले जित्ने आधार पनि मतदातासामु व्यक्त गरिरहेका छन्। उनले भने, ‘अहिले कांग्रेसकै नेतृत्वमा सरकार बनेको छ। स्थानीय तहको नतिजा हेर्दा राप्रपाले तीन पालिका जितेको छ। आगामी सरकार पनि गठबन्धनबाटै बन्दैछ। त्यसैले आगामी सरकारले यो ठाउँको विकास निर्माणका लागि हामीले जितेमात्रै सम्भव छ।’

राप्रपा संघीयताविरोधी रहेको आरोप उनको छ। सिटौला राजावादी पार्टीलाई जिताउन नहुने भन्दै कार्यकर्तालाई बेलाबेलामा उक्साउँछन् पनि। ‘राजनीतिक व्यवस्था जनताका लागि हो। जनताका लागि संघर्ष गरेर ल्याएको व्यवस्था हो,’ उनले, ‘यो व्यवस्थामा जनताको रक्षा गर्नुपर्छ। अहिले पनि राजा चाहिन्छ भन्ने विचार, एउटा विसंगति विचारमा हिँड्नेलाई कसरी मत दिने?’

एमालेले आफैँले गरेको संघर्षको अपमान हुने गरी राप्रपासँग तालमेल गरेको उनको आरोप छ। उक्त क्षेत्रमा राप्रपाका लिङ्देनलाई एमालेको साथ छ। सिटौला भने सत्ता गठबन्धनको भरमा चुनाव जित्नेमा विश्वस्त छन्।

लिङ्देन भने आफू भ्रष्टाचारविरोधी भएको र ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह’ भएको भन्दै मतदातालाई आकर्षित गरिरहेका छन्। उनले यसपटक पनि निर्वाचन जितेको अवस्थामा समग्र विकाससँगै युवालाई रोजगारीको सिर्जना गर्ने आश्वासन उनको छ।

मतदाताको बीचमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला।

लिङ्देनका पक्षमा मत माग्न अभिनेत्री मनीषा कोइराला झापा आएकी थिइन्। यस क्षेत्रका अधिकांश युवा मतदाताले मनीषालाई नेपाली राजनीतिमा योगदान पुर्‍याएको कोइराला परिवारभन्दा पनि बलिउड अभिनेत्रीका रूपमा चिन्छन्। सोही कारण पनि मनीषाको चुनावी सभाले लिङ्देनलाई फाइदा पुग्ने आकलन गरिएको छ। कांग्रेसका संस्थापक नेता एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाकी नातिनी मनीषाले लिङ्देनको जीवनशैली र राजनीतिक शैलीको प्रशंसा गरेकी छन्।

राप्रपा अध्यक्षमा कमल थापालाई पराजित गरेका कारण पनि उनको लोकप्रियता रहेको मतदाता बताउँछन्। कांग्रेस-एमालेबाट आजित भएकाहरूले विकल्पमा उनै लिङ्देनलाई मत दिन सक्ने समेत कतिपयको अनुमान छ।

यसअघि पनि एमालेकै साथले चुनाव जितेका लिङ्देन यसपटक पनि एमालेको बलकै कारण चुनाव जित्ने तयारीमा छन्। तर उनलाई एमालेकै मत नआउने डर छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले लिङ्देनलाई जिताउनका लागि कार्यकर्तालाई निर्देशन दिए पनि यस ठाउँका मतदाताले यसपटक लिङ्देनलाई मत नदिन सक्ने यहाँका मतदाता सुनाउँछन्।

‘यसअघि पनि उनै लिङ्देनलाई जिताउँदा यसपटक पनि एमालेले टिकट पाएन। फेरि पनि जिताउँदा अर्कोपटक पनि एमालेले टिकट पाउँदैन। त्यही भएर यसपटक एमालेले नै मत नहाल्ने संकेत बुझिएको छ,’ भद्रपुरका एक स्थानीयले भने, ‘लिङ्देन र सिटौलामध्ये एकले नै चुनाव जित्ने हो। यसपटक पनि राप्रपालाई जिताउँदा अर्कोपटक पनि एमालेले उनैलाई सघाउनुपर्ने हुन सक्छ। त्यही भएर एमालेले अर्कोपटक उम्मेदवारी दिनका लागि राप्रपालाई नसघाउन पनि सक्छ।’

उनले राप्रपामाथि एमालेले अन्तरघात गर्न सक्ने संकेत गरे। बिर्तामोडका एक व्यापारीका अनुसार यसपटक सिटौला समर्थितहरू बढ्दै गएका छन्। व्यापारीलाई कुनै समस्या परे सिटौलाले समाधान गर्ने भन्दै यहाँका व्यापारीहरूले सिटौलालाई सघाउने उनले सुनाए।

‘व्यापारीहरूका सानासाना समस्यामा उहाँ (सिटौला) ले सहयोग गर्नुहुन्छ,’ ती व्यापारीले भने, ‘अघिल्लोपटक जेजस्तो भए पनि यसपटक भने उहाँले सहानुभूति मत पनि पाउने अवस्था छ।’

उनका अनुसार सिटौलाले आफू अन्तिमपटक चुनावमा होमिएको बताएकाले पनि उनीप्रति सहानुभूति बढेको हो।

चुनावी सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन।

झापामा कांग्रेसभित्र सिटौला र विश्वप्रकाश शर्माको दुई गुट छ। कोइराला समूह भने शून्यजस्तै छ। संस्थापन पक्षकै दुवै नेताको जिल्लामा दुई गुट हुँदा आमनिर्वाचनमा प्रभाव पर्दै गएको छ। यसपटक भने दुवै नेता मिलेकाले गुटको प्रभाव नहुने बताइएको छ। यद्यपि झापामा सिटौलाकै दबदबा रहेको छ।

सिटौला र लिङ्देनबीच चौथोपटक प्रतिस्पर्धा हुँदैछ। ०५६ को संसदीय निर्वाचनमा दुवै नेताले झापा क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गरेका थिए। उक्त निर्वाचनमा सिटौलाले बाजी मारेका थिए। २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा झापा क्षेत्र नम्बर ३ मा उनीहरूबीच भेट भएको थियो। त्यति बेला  पनि सिटौला नै विजयी भए।

०७४ को निर्वाचनमा सिटौला र लिङ्देनबीच तेस्रोपटक प्रतिस्पर्धा भएको थियो। ०७४ मा भने लिङ्देन ‘हारको ह्याट्रिक’ हुनबाट बचे। उनले ४४ हजार ६१४ मत ल्याएर चुनाव जित्दा सिटौला ३१ हजार १७१ मतमा खुम्चिएका थिए।

लिङदेनलाई एमाले, जसपासहितको साथ छ। कांग्रेस नेता सिटौला माओवादी र नेकपा (एस) सहितको गठबन्धनको बलमा चुनाव जित्ने तयारीमा छन्।

क्षेत्र नं. ३ मा कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका, हल्दीबारी गाउँपालिका, भद्रपुर नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८ र बिर्तामोड नगरपालिका वडा नं १० लाई समेटिएको छ।

प्रकाशित: १ मंसिर २०७९ ११:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =