आर्यघाटको चितामा ब्रिटिस अधिकारीको निगरानी रहने ती दिन

सन्तोष खडेरी २९ भदौ २०७९ ९:५९
आर्यघाटको चितामा ब्रिटिस अधिकारीको निगरानी रहने ती दिन नेपाल र भारतमा रहेको सती प्रथाको अवस्था चित्रण गर्ने तस्बिर र नेपालमा सती प्रथा अन्त्यबारे बेलायतको प्रसिद्ध टाइम्स पत्रिकामा छापिएको समाचार अंश।

१०२ वर्षअघिसम्म नेपालमा  ‘सती प्रथा’ कायमै थियो। पतिको मृत्यु हुँदा जीवित पत्नी सँगै चितामा जल्नुपर्ने यो कुप्रथालाई तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरको नेतृत्वमा १०२ वर्षअगाडि आजैका दिन अन्त्य गरिएको थियो।

सती प्रथा चन्द्रशमशेरले उन्मूलन गरेको भनिए पनि एकैपटक अन्त्य भएको होइन। यसका लागि जंगबहादुर राणा, रणोद्वीप सिंह, वीरशमशेरले आआफ्नो कार्यकालमा केही न केही पहल गरेका थिए। चन्द्रशमशेरको पालामा आएरमात्र सार्थक रूप लिएको हो। उनी ऎन बनाएर सती प्रथा अन्त्य गर्न सफल भएका हुन्।

यहाँ सती प्रथा अन्त्यका लागि भएको पहल र जंगबहादुरको निधनपछि रणोद्वीप सिंहको पालामा ब्रिटिस महारानी भिक्टोरियाले नेपालको सती प्रथाबारे लिएको गम्भीर चासोका बारेमा चर्चा गरिएको छ।

जहानियाँ राणा शासनका संस्थापक जंगबहादुर श्री ३ महाराज हुनुअघि नै सती प्रथाविरोधी थिए। माथवरसिंह थापाको पालामा जंगबहादुर राणाका दाइ नाता पर्ने देवीबहादुरलाई कुनै अभियोगमा भारदारी सभाले मृत्युदण्ड दिएको थियो।

जंगबहादुरले देवीबहादुरको प्राणहरण हुनबाट जोगाउन प्रधानमन्त्री माथवरसिंहसमक्ष हरसम्भव प्रयास गरेका थिए। तर पनि उनी सफल हुन सकेनन्। त्यस्तै उनले देवीबहादुरकी पत्नीलाई सती जानबाट रोक्न पनि सम्झाई-बुझाई गरे।

देवीबहादुरकी पत्नीले मानिनन् र अन्त्यमा उनी सती गइन्। (लाइफ अफ महाराजा सर जंगबहादुर राणा बाइ पद्मजंग राणा)  यसबाट जंगबहादुर त्यतिबेला पनि सती प्रथाका विरोधी थिए भन्ने बुझ्न यो पर्याप्त छ।

जंगबहादुर राणा प्रधानमन्त्री भएपछि उनका भान्जा र एक कप्तानको निधनमा समेत उनीहरूका पत्नी सती जान चाहँदा जंगबहादुरले सम्झाएर जोगाएका थिए। (नेपालमा सतीप्रथा- सूर्यविक्रम ज्ञवाली) 

यस्तै १९१० सालमा जारी मुलुकी ऎनमार्फत पनि जंगबहादुर राणाले सतीप्रथालाई निरुत्साहित गर्ने विभिन्न प्रयास गरेका थिए। मुलुकी ऐनमा १६ नपुगेका, कान्छो छोरो १६ वर्ष र कान्छी छोरी पाँच वर्षको नभएका, एकभन्दा बढी पुरुषसँग विवाह गरेका र गर्भवती स्त्रीलाई सती नपठाउनू भन्ने प्रावधान राखिएको थियो।

त्यस्तै चितामा आगो लगाएपछि पीडा सहन नसकी भाग्ने महिलाले चाहेमा पतिया दिलाएर घर फिर्ता पठाउने व्यवस्था पनि समेटिएको थियो।

जंगबहादुरको निधन हुँदा उनका तीन रानीमध्ये जेठी जंगबहादुरको शिर आफ्नो काखमा राखेर सती गएकी थिइन्। अन्य दुई रानीसमेत उनीसँग सती गएका थिए।

सन् १८५७ मा प्रधानमन्त्रीसमेत रहेका जंगबहादुरका भाइ बमबहादुरको निधन भयो। उनले बमबहादुरकी पत्नीलाई सती जान दिएनन्। (लाइफ अफ महाराजा सर जंगबहादुर राणा बाइ पद्मजंग राणा) यी उदाहरणबाट पनि सतीप्रथा अन्त्य गर्न जंगबहादुरले प्रयास गरेको देखिन्छ।

विडम्बना! विधवा महिलालाई सती जानबाट निरुत्साहित गर्ने जंगबहादुरको निधनपछि उनका तीन रानी सती गए। सन् १८७७ को फेब्रुअरी २५ गोविन्द द्वादशीका दिन पत्थरघट्टामा जंगबहादुर राणाको निधन भएको थियो। जंगबहादुरको निधन हुँदा जंगबहादुर राणाको जीवनी लेख्ने उनका छोरा पद्मजंगसँगै थिए। पद्मजंगका अनुसार उनका तीन रानीमध्ये जेठी महारानी जंगबहादुरको शिर आफ्नो काखमा राखेर सती गइन्। अन्य दुई रानीसमेत उनीसँग सती गएका थिए।

जंगबहादुरको निधनमा उनका साथमा तीनतीन जना रानी सती गएको खबर ब्रिटिस महारानी भिक्टोरियासमक्ष पुगेपछि उनी गम्भीर भइन्। आफैँले भेटेका जंगबहादुरको निधनमा आफूजस्तै महिला जिउँदै जलेर खरानी भए भन्ने घटनाले सायद उनलाई भावविह्वल बनाएको हुनुपर्छ।

एउटा फ्रेन्च अखबारले  जंगबहादुर राणाको चितामा जलेर उनका तीन रानी सती जान लागेको अवस्था दर्शाउन सम्प्रेषण गरेको तस्बिर। तस्बिरमा एउटै चिता देखाए पनि त्यहाँ अलगअलग चिता बनाइएको थियो। 

त्यसपछि नेपालमा कोही पनि सती नजाऊन् भनी उनले गहिरो चासो लिएकी थिइन्। त्यसका लागि महारानीले कलकत्तास्थित गभर्नल जनरल र नेपालस्थित ब्रिटिस रेजिडेन्टलाई चनाखो रहन पनि निर्देशन दिएकी थिइन्।

नेपालमा पशुपति आर्यघाटमा चिता जल्दा पनि कोही सती गयो कि गएन भनी ब्रिटिस रेजिडेन्टले कलकत्तास्थित गभर्नल जनरललाई पत्र पठाउँथे। राजा वा कुनै उच्चपदस्थ अधिकारी गम्भीर बिमारी भएर पशुपतिस्थित आर्यघाटतर्फ चलाएपछि नेपालस्थित ब्रिटिस रेजिडेन्टले निगरानी बढाउँथे।

गम्भीर बिरामीलाई पनि घाटमा लगेर उपचार गर्ने चलन थियो।कुनै उच्चपदस्थ पुरुषको निधन भएमा उनीहरूका पत्नी सती नजाऊन् भनेर प्रधानमन्त्रीलाई सल्लाह दिन ब्रिटिस अधिकारीहरू उपस्थित हुन्थे। यस्तै उनीहरूले महारानी भिक्टोरियाको चासो र चिन्ता स्मरण गराउने काम पनि गर्दथे।

तत्कालीन समयका ब्रिटिस दस्तावेज अध्ययन गर्दा ती सबैको निधनमा अब कोही पनि सती नजाऊन् भनी आफ्ना प्रतिनिधिमार्फत ब्रिटिस महारानी भिक्टोरियाको चासो थियो भन्ने देखिन्छ।

जंगबहादुरपछि प्रधानमन्त्री भएका रणोद्वीप सिंहको आठ वर्ष लामो कार्यकालमा राजा राजेन्द्रविक्रम, सुरेन्द्रविक्रम र एकजना युवराजको निधन भयो। त्यस्तै दुई कमान्डर इनचिफ जगतशमशेर र धीरशमशेर पनि बिते। ती सबैको निधनमा उनीहरूका पत्नीलाई सती जानबाट जोगाउन प्रधानमन्त्री रणोद्वीप सिंहले उल्लेखनीय भूमिका निर्वाह गरे।

चन्द्रशमशेरले पहिलो सुधारवादी कामअन्तर्गत सन् १९२० जुलाई ०८ (१९७७ असार २५) का दिन ऎन जारी गरी सती प्रथाको अन्त्य गरेका थिए। त्यस्तै त्यसको पाँच वर्षपछि अर्को ठूलो सुधारवादी कामअन्तर्गत सन् १९२५ देखि लागू हुने गरी सन् १९२४ नोभेम्बरमा दासप्रथाको अन्त्य गरेका थिए।

सती जान लागेका रानीलाई रोक्नु असाध्यै चुनौतीपूर्ण थियो। तर तत्कालीन नेपालको सत्ता राजनीतिको सबैभन्दा उच्च पदमा रहेकाका विधुवा सती नजाँदा त्यसले आम रूपमा तल्लो तहका नागरिकमा पक्कै पनि सकारात्मक सन्देश पुगेको हुनुपर्छ।

वीरशमशेरको कार्यकालमा हत्या गरिएका रणोद्वीप, जर्नेल जगतजंग र नाति जर्नेल युद्धप्रताप जंगका विधुवा रानी सती गएनन्। वीरशमशेरले मुलुकी ऐनमा केही व्यवस्था थप गर्दै ‘सती प्रथा नियन्त्रण गर्ने १९४४ सालको इस्तिहार’ जारी गरे। जसमा गर्भ रहेको एक महिना मात्रै भएको अवस्थामा पतिको मृत्यु भएमा सती जान नदिनू, बच्चा जन्मेपछि सती जान्छु भनेमा जान नदिनू भन्ने जस्ता प्रावधान राखिएको थियो। उनको कार्यकालमा समेत उनका भाइ कमान्डर इनचिफको निधन हुँदासमेत उनका विधुवा पत्नी सती गएनन्।

जंगबहादुरदेखि वीरशमशेरको समयसम्म आउँदा नेपालमा सती प्रथाबारे चेतना फैलिसकेको थियो। राजा, युवराज, प्रधानमन्त्रीदेखि उच्चपदस्थ सैनिक जनरलसम्मको निधनमा उनका विधवा रानी सती नजानुले जनमानसमा सती प्रथाको विरोधमा जागरुकता जागेको थियो। ठूलाका अनुशरण गर्ने नेपाली समाजमा आममानिसको तहमा पनि कुनै पुरुषको निधन हुँदा उनका पत्नीसमेत सती नजाने वातावरण निर्माण भएको थियो।

चन्द्रशमशेरले ऎन बनाएर सती प्रथाको औपचारिक अन्त्य गर्नुअगावै त्यो अन्त्य गर्न सक्ने आधार तयार भइसकेको थियो। राणा शासनभित्र नै केही सुधारवादी काम गर्न चाहेका चन्द्रशमशेरले पहिलो सुधारवादी कामअन्तर्गत सन् १९२० जुलाई ०८ (१९७७ असार २५) का दिन ऎन जारी गरी सती प्रथाको अन्त्य गरेका थिए। त्यस्तै त्यसको पाँच वर्षपछि अर्को ठूलो सुधारवादी कामअन्तर्गत सन् १९२५ देखि लागू हुने गरी सन् १९२४ नोभेम्बरमा दासप्रथाको अन्त्य गरेका थिए।

तस्बिर स्रोत : सन्तोष खडेरीको संकलनबाट

प्रकाशित: २९ भदौ २०७९ ९:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + four =