अमेरिकाबाट ६४ वर्षअघि नै ल्याइएको थियो विमान चढाएर ८२ वटा पशु

सन्तोष खडेरी २२ फागुन २०७८ १२:१०
4
SHARES
अमेरिकाबाट ६४ वर्षअघि नै ल्याइएको थियो विमान चढाएर ८२ वटा पशु

काठमाडौँ- लामो विवाद र अन्योलका बीच अघिल्लो साता प्रतिनिधिसभाबाट बहुचर्चित अमेरिकी सहायता परियोजना सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अनुमोदन भयो। एमसीसी पारित भएकै बेला सरकारले अमेरिकाबाट उन्नत जातका सात वटा साँढे ल्याएको छ। अमेरिकाको सिकागोबाट चार्टर्ड उडानबाट तीन दिन लगाएर ती साँढे ल्याइएका हुन्।

व्यावसायिक रूपमा पालिएको वर्णशंकर जातका गाईहरूको नश्ल सुधार गरी दूध उत्पादन बढाउन अमेरिकाबाट साँढे ल्याइएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत डा. केशव भट्टले बताएका छन्।

तीमध्ये पाँच वटा जर्सी र २ वटा होल्स्टिन जातका छन्। साँढेलाई कृषि अनुसन्धान केन्द्र (नार्क) अन्तर्गतको खुमलटारस्थित प्रजनन केन्द्रमा चार दिन पशु क्वारेन्टिनमा राखिएको थियो।

अहिले उन्नत जातका साँढे ल्याउनुलाई एमसीसीको सन्दर्भसँग जोडेर अब अमेरिकी हस्तक्षेप हुने भनेर अफवाह फैलाएका छन्। केहीले नेपालमा पहिलोपल्ट यसरी साँढे भित्र्याइएको भन्ने टिप्पणी पनि गरेका छन्। तर नेपालमा अमेरिकाबाट पशु आयात गरिएको यो पहिलो घटना होइन। यसका लागि आजभन्दा ६ दशकपहिलेका अमेरिकी पत्रपत्रिकामा छापिएका समाचार नियाल्नुपर्छ। ती समाचारमा नेपालमा ६४ वर्ष पहिले नै भेडा, बाच्छा र बंगुर विमानमा चढाएर ल्याइएको उल्लेख छ।

अमेरिकाको हेफर संस्थाले सन् १९४४ देखि नै संसारका कैंयन् अल्पविकसित देशमा अमेरिकाका उन्नत जातका विभिन्न पशु पठाउँदै आएको थियो। हेफरले सन् १९५८ सम्म ५१ वटा अल्पविकसित देशलाई हजारौँ संख्यामा गाई, बाख्रा, भेडालगायतका पशु प्रदान गरिसकेको रहेछ।

सन् १९५९ को ४ अगस्टमा अमेरिकाले नेपालमा २ वटा साँढे र ६ वटा भेडा नश्ल सुधारका लागि प्रदान गरेको भनी अन्तर्राष्ट्रिय समाचार एजेन्सी ‘दी एसोसिएटेड प्रेस’ ले खबर सम्प्रेषण गरेको थियो।

यसै क्रममा अमेरिकाको न्यु विंडसरस्थित हेफर संस्थाबाट सन् १९५८ मा नेपाललाई कुल ८२ वटा पशु प्रदान गरेको थियो।
तीमध्ये ५७ वटा भेडा, २० वटा साना बाच्छा र ५ वटा साना बंगुर थिए। ती पशु अन्तर्राष्ट्रिय सहयोग प्रशासनद्वारा नेपालको कृषि विकास कार्यक्रमका लागि प्रदान गरिएको थियो। ती पशुलाई न्युयोर्क अन्तर्राष्ट्रिय विमानस्थलबाट  विमानमा चढाइएको थियो। त्यस्तै तीन रातको बासपछि मात्र नेपाल पुग्ने अनुमान गरिएको थियो।

अमेरिकाबाट एउटै विमानमा आएका पशु दिल्लीबाट दुई वटा विमानमा राखेर काठमाडौँसम्म ल्याउने योजना थियो। ती पशुलाई लिएर त्यस विमानमा सवार भएर यस क्षेत्रमा रहेका ‘युनाइटेड इभानजेलिकल एन्ड रिफर्म्ड चर्च’ का मिनिस्टर ‘जेराल्ड आर कब’ साथै आएका थिए। न्युयोर्कबाट प्रकाशित हुने अमेरिकी अखबार ‘दी न्युयोर्क टाइम्स’ को १२ मार्च १९५८ को अंकमा विमानमा पशुहरू राख्दै गरेको तस्बिरसहितको समाचार प्रकाशित भएको थियो। उता न्युयोर्कबाट नेपालका लागि हिँडेको समाचार त्यताबाट छापिएको भए पनि यता नेपालमा ती आइपुगेको वा नआइपुगेको भनी छापिएको फेला पार्न सकिएको छैन।

अर्को वर्षसमेत अमेरिकी सरकारले औपचारिक रुपमा नेपालमा थप साँढे र भेडा प्रदान गरेको थियो। सन् १९५९ को ४ अगस्टमा अमेरिकाले नेपालमा २ वटा साँढे र ६ वटा भेडा नश्ल सुधारका लागि प्रदान गरेको भनी अन्तर्राष्ट्रिय समाचार एजेन्सी ‘दी एसोसिएटेड प्रेस’ ले खबर सम्प्रेषण गरेको थियो। त्यही एजेन्सीको खबरलाई ५ अगस्टको अंकमा ‘दी न्युयोर्क टाइम्स’ ले छापेको थियो।

प्रकाशित: २२ फागुन २०७८ १२:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + fifteen =