बुटवल उपमहानगरले ल्यायो नीति तथा कार्यक्रम, पर्यटकीय विश्रामस्थल बनाउने संकल्प (पूरा पाठ)

हिमाल प्रेस ५ असार २०८१ १९:१३
20
SHARES
बुटवल उपमहानगरले ल्यायो नीति तथा कार्यक्रम, पर्यटकीय विश्रामस्थल बनाउने संकल्प (पूरा पाठ)

लुम्बिनी- बुटवल उपमहानगरपालिकाले पर्यटकीय विश्रामस्थल बनाउने संकल्पसहितको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

बुधबार नगरसभाको १५औँ अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई सबै जातजातिले अपनत्व गर्न सक्ने साझा सांस्कृतिक सहरका रुपमा स्थापित गर्ने र पर्यटकीय विश्रामस्थल बनाउने गरी नीति तथा कार्यक्रम ल्याएका हुन्। उनले यसका लागि आवश्यक नीति अगाडि सारिएको बताए।

‘बुटवललाई उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रूपमा स्थापित गर्न कालिकापथ, ट्राफिक चोक, अमरपथ र अन्य आवश्यक स्थानमा रात्रिकालीन बजार सञ्चालन गरिनेछ,’ नीति तथा कार्यक्रममा उल्लेख छ, ‘रात्रिकालीन बजार सञ्चालन गर्दा स्थानीय परम्परा, संस्कृतिलाई प्राथमिकता दिँदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न प्रोत्साहित गरिनेछ।’ बुटवल भ्रमण वर्ष घोषणा गरी ‘घुमौं बुटवल’ अभियान सञ्चालन गरी पर्यटक आगमनलाई वृद्धि गर्ने नीति अगाडि सारिएको छ।

नीति तथा कार्यक्रममार्फत बुटवलले शिक्षा, स्वास्थ्य र सीप तथा रोजगारको क्षेत्रलाई मूख्य प्राथमिकतामा राख्दै कृषि, पर्यटन, उद्योग, व्यापारजस्ता क्षेत्रको समुन्नतिमा जोड दिने मूल रणनीतिको रुपमा अगाडि सारेको छ।

यस्तै उज्यालो, सफा, सुन्दर र हरियालीसहितको सुरक्षित र समुन्नत सहरको रूपमा विकास गर्ने, सूचना तथा सञ्चार प्रविधिको उच्चतम उपयोग गरी सहरलाई जीवन्त बनाउने, सेवाप्रवाहलाई जनउत्तरदायी, पारदर्शी र सुशासनयुक्त बनाउने र मौलिक भाषा, संस्कृति र सम्पदाको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने बुटवलका मूल रणनीति हुन्।

बुटवलले माध्यमिक तहका प्रधानाध्यापकहरूको हरेक ३–३ वर्षमा आन्तरिक सरुवा गर्ने, विद्यालयहरुलाई समान तहको स्तरमा पुर्‍याउन अन्तरविद्यालय अनुभव आदानप्रदान गर्ने, प्रधानाध्यापक र व्यवस्थापन समितिबीच नियमित छलफल सञ्चालन गर्ने नीति अगाडि सारेको छ।

यस्तै ‘छोरी पढाऔं समाज बनाऔं’ कार्यक्रम अन्तर्गत बुटवल टेक्निकल इन्स्टिच्युटमा छात्राहरूलाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने, असहाय र विपन्न वर्गलाई विद्यालयमा नियमित गर्न नगरप्रमुख शैक्षिक सुधार कोष स्थापना गर्ने नीति बुटवलले अगाडि सारेको छ।

प्राविधिक जनशक्ति उत्पादन गर्ने संस्था बुटवल टेक्निकल इस्टिच्युट आर्थिक संकटमा रहेकाले आवश्यक कानुन निर्माण गरी उपमहानगरपालिकाको मातहतमा ल्याउने, अटो भिलेजमा अटो इन्जिनियरिङ कलेज सञ्चालन गर्ने र आम्दामा पारामेडिकल अध्ययनलाई थप व्यवस्थित बनाउने नीति अगाडि सारेको प्रमुख पाण्डेयले बताए।

विद्यालय खाजा कार्यक्रममा १० रुपैयाँ थप गरी २५ रुपैयाँ बनाउने नीति लिएको बुटवलले निजी विद्यालयहरूले सबै कक्षामा १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउनुपर्ने र हरेक शैक्षिक सत्रको अन्तमा विवरण सार्वजनिक गर्न अनिवार्य गरेको छ।

विद्यार्थीहरूलाई पाठ्य सामग्री माथिको बोझ कम गर्न हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप तथा सिर्जनशील कार्यक्रमका माध्यमबाट संस्कार, संस्कृति, सीप तथा नैतिक शिक्षा, खेलकुद, विज्ञान प्रविधि, पर्यटनजस्ता विषयहरुप्रति आकर्षण बढाउने नीति बुटवलले लिएको छ।

स्वास्थ्यतर्फ बुटवलले २ वटा अस्पताल सञ्चालन गर्ने, हरेक ४–४ महिनामा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण शिविरका लागि बाआमासँग नगरप्रमुख कार्यक्रम सञ्चालन गर्ने, महिलाहरुको पाठेघर, स्तन क्यान्सर, भिडियो एक्सरे तथा अन्य स्वास्थ्य परीक्षणका लागि शिविरहरु सञ्चालन गर्ने नीति अगाडि सारेको छ।

बुटवलले यसअघिदेखि उपलब्ध गराउँदै आएको विपन्न वर्गलाई जटिल रोग उपचारमा जनही १७ हजार, एचआईभी संक्रमित बालबालिकालाई मासिक ३ हजार र सुत्केरी पोषण खर्चवापत् २ हजार रुपैयाँ दिने कार्यक्रमलाई निरन्तरता दिएको छ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख पाण्डेयले सार्वजनिक निजी साझेदारीमा बुटवल ११ मा १ सय बेडको सुविधासम्पन्न अस्पताल सञ्चालन गर्ने नीति अगाडि सारेको बताए।

लुम्बिनी बस टर्मिनललाई यात्रु सेवामैत्री बनाउन विद्युत, शुद्ध खानेपानी, व्यवस्थित खाजा घर, सफा शौचालय र स्नानघर, निःशुल्क वाईफाई, सुरक्षित विश्रामस्थल निर्माण गरी सुविधासम्पन्न बसपार्क बनाउने नीति बुटवलले लिएको छ।

मुख्य राजमार्ग क्षेत्र र चोकहरूमा स–साना पार्क, विश्राम चौतारी, सार्वजनिक शौचालय, पिउने पानीको व्यवस्था थप गरी आवश्यकता अनुसार पार्किङ क्षेत्रहरू तोक्ने नीति तथा कार्यक्रममा उल्लेख छ।

गृहिणी महिलाहरूलाई स्वरोजगार बनाउन नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रमअन्तर्गत उत्पादित वस्तुको बिक्री गर्न कोशेली घर स्थापना गर्ने र नगरको चिनोका रुपमा स्थापित गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

छाडा चौपाया व्यवस्थापनका लागि शिवनगरमा रहेको गौशालालाई थप व्यवस्थित गर्ने र नगरभित्र अर्को गौशाला स्थापना गर्ने तथा प्रदेशभरका छाडा चौपाया व्यवस्थापनका लागि गाई राष्ट्रिय निकुञ्ज स्थापनामा पहल गर्ने नीति तथा कार्यक्रममा भनिएको छ।

बुटवलले सहकारी संस्थाहरुको एकीकृत लगानीमा सस्तो पसल, कृषि उत्पादन बिक्री केन्द्र, कोशेली घर, स्थानीय तथा रैथाने सामग्री बिक्री केन्द्र, स्वच्छ मासु बिक्री केन्द्र र शीतभण्डार गृहहरु सञ्चालनका लागि प्रोत्साहन गर्ने नीति अगाडि सारेको छ।

सहकारी ठगी गर्नेहरूलाई नियमन र नियन्त्रण गर्न बुटवलले संघ र प्रदेशमा दर्ता भई बुटवलभित्र कार्यालय स्थापना गर्ने सहकारीहरुलाई व्यवस्थित गर्नका लागि अनिवार्य सूचीकृत हुने व्यवस्था गर्दै सहकारी क्षेत्रको बेथिति र ठगी रोक्नका लागि सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने नीति ल्याएको छ।

प्रकाशित: ५ असार २०८१ १९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 8 =