
काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बतका सचिव वाङ जुनझेङले शिष्टाचार भेट गरेका छन्।
त्यस अवसरमा दुई देशका बीचमा आपसी हित प्रवर्द्धन, सम्बन्ध विस्तार र सहकार्यका विषयमा कुराकानी भएको अध्यक्ष तिमिल्सिनाका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले जानकारी दिए।
अध्यक्ष तिमिल्सिनाले नेपाल र चीन घनिष्ठ र सौहार्दपूर्ण सम्बन्ध रहेका देश रहेको बताउँदै चीनसँगको सौहार्दपूर्ण सम्बन्धलाई नेपालले उच्च महत्त्व दिएको कुरामा जोड दिए। उहाँले नेपाल एक चीन सिद्धान्तप्रति आफ्नो प्रतिबद्धतामा अडिग रहेकोसमेत बताए।
यसै वर्षको जुन महिनामा अध्यक्ष तिमिल्सिनाले चीनको औपचारिक भ्रमणका क्रममा राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष झाओ लेजी र चिनियाँ राजनीतिक परामर्श दातृ सम्मेलनका अध्यक्ष वाङ हु निङसँग भएको भेटको स्मरण पनि गरे। सो अवसरमा उनीसँग सचिव वाङले पनि शिष्टाचार भेटघाट गरेका थिए।