इन्जिनियरिङ स्नातकमा भर्ना सुरु, शुल्क र सिट संख्या कहाँ कति?

हिमाल प्रेस २२ कार्तिक २०८० १३:१५
122
SHARES
इन्जिनियरिङ स्नातकमा भर्ना सुरु, शुल्क र सिट संख्या कहाँ कति? पुलचोकस्थित त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानको कार्यालय।

काठमाडौँ-  त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, डिनको कार्यालयले स्नातक तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ। कार्यालयले बीई र बीआर्क तहको कात्तिक १४ देखि २० गतेसम्म सञ्चालित प्रवेश परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो। प्रवेश परीक्षाको नतिजा प्रकाशन भएपछि कलेजहरूले विद्यार्थी भर्ना लिन थालेका छन्।

संस्थानले शैक्षिक वर्ष २०८०/०८१ का लागि स्नातक (बीई, बीआर्क) तहको प्रवेश परीक्षा सूचना प्रविधिका आधारमा कम्प्युटर विधिमार्फत सञ्चालन गरेको थियो। यसपटक इन्जिनियरिङ विषय अध्ययन गर्न चाहने देशभरका १० हजार विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए। कम्प्युटर विधिमार्फत लिइएको परीक्षामा उत्तीर्ण हुन सय वटा प्रश्नमा कम्तीमा ४० वटा मिलाउनुपर्ने थियो।

संस्थानले केन्द्रीकृत भर्ना अनुगमन समितिले प्रकाशित गर्ने कार्यतालिकाअनुसार आंगिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरूलाई भर्ना प्रक्रिया अघि बढाउन आग्रह गरेको छ। साथै शैक्षिक सत्र ०८०/०८१ को स्नातक तहको प्रवेश परीक्षा, क्याम्पस भर्नासम्बन्धी जानकारी तथा निर्देशिका २०८० अन्तर्गत बुँदा नं ६ मा उल्लेख भएको आंगिक क्याम्पसका विभिन्न कोटामा आवेदन दिन चाहने उम्मेदवारले आफू सो कोटामा योग्य हुने, नहुनेका लागि चाहिने आवश्यक कागजातसहित कात्तिक २४ गतेभित्र आईसीटीसी आईओई, पुल्चोकमा आवेदन दिन पनि सूचना जारी गरिएको छ। त्यसपछि विद्यार्थीले आफूले पढ्न चाहेको क्याम्पसमा आवेदन दिनुपर्नेछ।

स्नातक तहको चारबर्से शैक्षिक कार्यक्रमको पूर्ण शुल्क चार लाख ९० हजार रुपैयाँ तोकिएको छ। यसमा चार लाख ५० हजार रुपैयाँ शुल्क तिर्नुपर्छ भने ४० हजार रुपैयाँ धरौटी राख्नुपर्नेछ। यस्तै धरौटीसहित नियमिततर्फ ५६ हजार सात सय र विदेशी विद्यार्थीका हकमा १३ लाख १३ हजार पाँच सय रुपैयाँ शुल्क कायम गरिएको छ। नियमित भनेको छात्रवृत्तिमा अध्ययन गर्नेका लागि हो भने पूर्ण शुल्क भनेको पूरै शुल्क तिरेर पढ्ने हो।

प्रवेश परीक्षाको ढिलाइका कारण स्नातक तहको पढाइ दुई महिना पछि धकेलिएको छ। मंसिरबाट पढाई सुरु गर्ने योजना बनाएको संस्थानले शैक्षिक क्यालेन्डरमा प्रभाव नपर्ने गरी माघदेखि पठनपाठन सुरु गर्न लागेको छ।

त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत पाँच वटा आंगिक र १० वटा सम्बन्धनप्राप्त क्याम्पसका स्नातक तहमा १२ विषयको अध्ययनअध्यापन हुन्छ। त्रिविका सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, कम्प्युटर, मेकानिल, आर्किटेक्चरलगायतका विषयमा चार हजार तीन सय ४८ सिट छन्।

आंगिक क्याम्पस र जम्मा सिट संख्या

आईओई, पुलचोक, ललितपुर : ५२८
पश्चिमाञ्चल क्याम्पस, पोखरा : ४३२
पूर्वाञ्चल क्याम्पस, धरान : ४५६
थापाथली क्याम्पस, थापाथली : ३३६
चितवन इन्जिनियरिङ क्याम्पस, रामपुर, चितवन : २४ (आर्किटेक्ट मात्र)

त्रिवि सम्बन्धन प्राप्त क्याम्पस र जम्मा सिट संख्या

काठमाडौँ इन्जिनियरिङ कलेज, काठमाडौँ : ३८४
कान्तिपुर इन्जिनियरिङ कलेज, ललितपुर : २८८
हिमालय कलेज अफ इन्जिनियरिङ, ललितपुर : २४०
एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, ललितपुर : ३३६
नेसनल कलेज अफ इन्जिनियरिङ, ललितपुर : २४०
काठफोर्ड इन्टरनेसनल कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, ललितपुर : १९२
जनकपुर इन्जिनियरिङ कलेज, भक्तपुर : १९२
ख्वपः कलेज अफ इन्जिनियरिङ, भक्तपुर : १९२
सगरमाथा इन्जिनियरिङ कलेज, ललितपुर : ९६
ललितपुर इन्जिनियरिङ कलेज, ललितपुर : ४८

प्रकाशित: २२ कार्तिक २०८० १३:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + three =