इटहरी– इटहरीमा मेयर र कार्यपालिका सदस्यबीच किचलो बढ्दै गएको छ। कर समायोजनको विषयलाई लिएर इटहरीका मेयर हेमकर्ण पौडेल र कार्यपालिका सदस्यबीच किचलो बढ्दै गएको हो। बिहीबार बोलाइएको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको भन्दै इटहरीमा नेकपा एमालेले असन्तुष्ट जनाएको छ। नेकपा एमाले इटहरी नगर कार्यपालिका सदस्यहरूले कात्तिक १२ गतेभित्र कार्यपालिका बैठक राख्न माग गरेका छन्।
मेयर पौडेललाई सम्बोधन गर्दै लेखिएको पत्रमा १६ जना कार्यपालिका सदस्यहरूले हस्ताक्षर गरेका छन्। इटहरीमा एमालेको बहुमत छ। तर मेयर पौडेलले कर समायोजन गर्नका निम्ति चासो नदेखाएको र गत बिहीबार बोलाइएको बैठकमा प्रवेश नै नगरी स्थगित गरिएको भन्दै एमाले थप असन्तुष्ट बनेको हो।
स्थानीय सरकार सञ्चालन ऐनमा महिनामा कम्तीमा एक पटक कार्यपालिका बैठक राख्नुपर्ने व्यवस्था रहेकोमा दुई महिनाभन्दा बढी समयसम्म बैठक नबोलाएको आरोप लगाइएको छ। विजया दशमीको बिदा सकिने दिन कात्तिक १० गतेका मितिले ४८ घण्टाभित्र कार्यपालिकाको बैठक राख्न माग गरिएको छ।
मेयर पौडेलले बैठकको अध्यक्षता गर्न नसक्ने भए उपमेयर संगीता चौधरीको अध्यक्षतामा बैठक बसिने चेतावनी दिइएको छ। मेयर पौडेल कांग्रेसबाट निर्वाचित भएका हुन् भने उपमेयर चौधरी एमालेबाट निर्वाचित भएकी हुन्।