पोखरा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिमालपारिको जिल्ला मुस्ताङ पुगेका छन्। एक्याप आयोजनामा जलवायु परिवर्तनसम्बन्धी अन्तरक्रियायामा सहभागी हुन नेपाली सेनाको हेलिकोप्टरमार्फत उनी बुधबार जोमसोम विमानस्थल उत्रिएका हुन्।
मंगलबार छातीमा केही असहज महसु भएपछि उनको नर्भिक इन्टरनेसनल हस्पिटल, थापाथलीमा परीक्षण भएको थियो। प्रधानमन्त्रीको रगत परीक्षण गर्दा ‘कार्डियाक इन्जाइम पोजेटिभ’ देखिएपछि ‘एन्जियोग्राफी’ परीक्षण गरिएको थियो।
त्यसको रिपोर्ट सामान्य आएपछि प्रधानमन्त्री प्रचण्ड भोलिपल्टै मुस्ताङ उडेका हुन् ।
प्रधानमन्त्री दाहाल कोरलानाका, गत साउनको बाढीले क्षति पुगेको कागबेनीलगायत क्षेत्रको अनुगमनमा आएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। प्रधानमन्त्री दाहालले मुुस्ताङ भ्रमणका क्रममा कोरलानाका र गत साउनको बाढीले क्षति पुुगेको कागबेनीको हवाई निरीक्षण गर्ने कार्यक्रम छ।
चार वर्षदेखि बन्द रहेको कोरलानाका सञ्चालनका लागि लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका एक हजार जनाभन्दा बढी सर्वसाधारणलाई चीन प्रवेशका लागि अनुमतिपत्र वितरण गरिएको छ।
प्रधानमन्त्री दाहालसमक्ष स्थानीयवासीले कालीगण्डकी नदीको कटान, उपल्लो मुस्ताङको पाँचवटा गाउँलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन र जग्गासम्बन्धी समस्याबारे छलफल गर्ने कार्यक्रम तय भएको नेकपा (माओवादी केन्द्र) मुस्ताङका इन्चार्ज कपिल लामाले बताए।
प्रधानमन्त्री दाहालसँगै वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतो, गण्डकी प्रदेशका स्वास्थ्य तथा सामाजिक विकासमन्त्री सुशीला सिंखडा, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायत मुस्ताङ पुगेका छन्।