छेन्दुमा सामान्य भेटघाटपछि बेइजिङ लागे उपप्रधानमन्त्री श्रेष्ठ

हिमाल प्रेस २९ असोज २०८० २०:५१ | Monday, October 16, 2023
छेन्दुमा सामान्य भेटघाटपछि बेइजिङ लागे उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ- उपप्रधान एव‌ं गृहमन्त्री नारायणकाजी श्रेष्ठ जनवादी गणतन्त्र चीनको सिचुवान प्रान्तको छेन्दु पुगेका छन्। उपप्रधानमन्त्री श्रेष्ठ चीनका सार्वजनिक सुरक्षा र आपत्कालीन मन्त्री एवम् चिनियाँ कम्युनिस्ट पार्टीका सचिव वाङ सियाओहङको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा गएका हुन्।

उनी चीनको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को तेस्रो सम्मेलनमा सहभागी हुनेछन्। मन्त्री श्रेष्ठलाई छेन्दुस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्तीय पर्यावरण तथा वातावरण विभागका महानिर्देशक वाईयू वियान र त्यहाँस्थित नेपाली महावाणिज्य दूतावासका निमित्त महावाणिज्यदूत मनहरि दंगालले स्वागत गरेका थिए।

छेन्दुको महावाणिज्यदूत त्यति प्रभावकारी छैन। त्यहाँ ट्रान्जिटमा रहेका र घुम्न आउने नेतालाई स्वागत गर्न मात्रै महावाणिज्यदूतावासको भूमिका रहेको छ। ल्हासामा वाणिज्यदूतावास खोल्न नपाएका मुलुकले छेन्दुमा खेलेका हुन्। नेपालको त ल्हासामा हुँदाहुँदै पनि छेन्दुमा खोलिएको छ।

छेन्दुमा महावाणिज्यदूतावास खोल्न चीन सकारात्मक थिएन। नेपाली नेताहरूले पटकपटक अनुनय गरेपछि  चीनले छेन्दुमा महावाणिज्यदूतावास खोल्न अनुमति दिएको थियो।

श्रेष्ठ छेन्दुबाट बेइजिङतर्फ प्रस्थान गरेका छन्। उपप्रधानमन्त्री श्रेष्ठले बीआरआई सम्मेलनमा सहभागी हुनुका साथै असोज ३० र कात्तिक १ गते आयोजना हुने ‘हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्च’को नीति र प्रगतिबारे छलफलमा मुख्य वक्ताका रूपमा सम्बोधन गर्ने कार्यतालिका छ। उनले उच्चस्तरीय राजनीतिक भेटघाट पनि गर्नेछन्।

पूर्व परराष्ट्रमन्त्री समेत रहेका हुनाले उनको भेटघाटलाई चीनले थप महत्त्व दिनेछ।  नेपालमा परराष्ट्रमन्त्री जस्तालाई पनि बनाउने चलन रहे पनि अन्य मुलुकमा परराष्ट्रमन्त्रीलाई वेटिङ प्रधानमन्त्रीका रूपमा हेरिन्छ। चीनले पनि परराष्ट्र मन्त्रालयलाई निकै महत्त्व दिएको हुन्छ। उपप्रधान तथा गृहमन्त्री श्रेष्ठलाई चीनलाई पूर्व परराष्ट्रमन्त्रीको हैसियतमा समेत भेटघाट मिलाएको छ।

प्रकाशित: २९ असोज २०८० २०:५१ | Monday, October 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast