घान्द्रुकमा होटलको जग बसाउने शंकरमान

हिमाल प्रेस १० असोज २०८० १२:४० | Wednesday, September 27, 2023
घान्द्रुकमा होटलको जग बसाउने शंकरमान शंकरमान गुरुङ। तस्बिर रासस

कास्की- विसं २०२० को दशकमा पोखरा-बागलुङ राजमार्ग खुलेको थिएन। पर्यटकहरू अन्नपूर्ण बेसक्याम्प पुग्न पोखराबाटै हिँड्थे। उनीहरूको एक रातको बसाइ कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ को पर्यटकीय गाउँ घान्द्रुकमा हुन्थ्यो।

ढुङ्गे गाउँले परिचित ठाउँमा पर्यटकको नजर जान्थ्यो। त्यो बाटो हिँड्ने धेरै त्यहीँ बस्न मन चाहन्थे। तर घान्द्रुकमा एउटा फिस्टेल होटलमात्रै थियो। गाउँमा अंग्रेजी भाषा जानेको मानिस भेटिन गाह्रो थियो। घान्द्रुककै शंकरमान गुरुङ भने मेश्रम बराह विद्यालयमा पढाउँथे। उनी थिए– अंग्रेजीकै शिक्षक। घान्द्रुकमा पर्यटकको आवातजावत बाक्लो भएपछि गुरुङले विद्यालय समयअघि र पछि पर्यटकलाई बाटो देखाइदिने र बास बस्ने ठाउँको व्यवस्था गरिदिन थाले।

अन्ततः गुरुङ आफैँले घरमा पाहुना राख्ने निधो गरे। घरमै सेवा दिँदा सुरुमा आफूले सित्तैमा राखेको उनलाई सम्झना छ। ‘हामीले पाहुनालाई जसरी पनि सम्मान गर्ने हो भन्ने हुन्थ्यो। त्यो बेला पैसा लिने चलन थिएन,’ उनले भने, ‘बिहान टे«किङ जाने बेला कति हो? भनेर सोध्थे। हामीलाई त कहिल्यै व्यवसाय गरे पो थाहा हुनु, ‘पर्दैन’ भन्थ्यौँ। उनीअरू आफैँले अलिअलि पैसा छाडेर जान्थे। अनि मलाई पनि व्यवसाय गर्न मन लाग्यो।’

सुरुवातका केही वर्ष घरमै पर्यटक राखेपछि उनले सुरु गरे- होटल मिलन। यो थियो २०२६ सालको कुरा। होटल सुरु गर्दा गाउँलेले नराम्रो नजरले हेरेको पनि उनलाई याद छ। ‘कूल घरानाका मान्छेले अर्काको जुठो भाँडा माझ्ने भन्थे,’ शंकरमानले भने, ‘मैले वास्ता गरिनँ। होटल चलाएर देखाएँ। राम्रो आम्दानी हुँदै गएपछि बिस्तारै सबै मेरो बाटोमा आए।’ उनको होटल मिलनमा अहिले १४ कोठा छन्। एक दिनमा ३५ जनासम्मलाई सेवा दिन सक्छन्।

अहिले घान्द्रुकमा ५५ होटल, १८ होमस्टे र यत्तिकै मात्रामा रेस्टुरेन्ट र चिया कफी पसल छन्। घान्द्रुकले होटल तथा होमस्टे गरी ७२० कोठामा एकै दिन २ हजारसम्म पाहुनालाई सेवा दिन सक्छ।

२०२६ सालतिर एक सुकामा एक कप चिया। साढे ३ रुपैयाँमा खानार बास सित्तैमा बस्न दिने चलन थियो।

एकपटक आएका पाहुना फर्कीफर्की आउने गरेको शंकरमान बताउँछन्। ‘होटलका कारण विदेशी पर्यटक साथी बने। मेरा सबैभन्दा मिल्ने साथी अमेरिकाका स्कट ब्राउन हुन्। सिंगापुर, जापान सबैतिरका साथीहरू भेट्न हरेक वर्षजसो आउँछन्,’ उनले भने। ७८ वर्षीय गुरुङ अब व्यवसायबाट टाढा हुने सोचमा छन्। ‘काम गर्ने रहर भएर मात्र नहुने रहेछ। अब नसक्ने अवस्थामा पुगेको छु,’ उनले भने।

राससकाे सहयाेगमा 

प्रकाशित: १० असोज २०८० १२:४० | Wednesday, September 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast