हराए तीजका पुराना भाका

रमा केसी १ असोज २०८० १८:४५ | Monday, September 18, 2023
हराए तीजका पुराना भाका

‘अछाममा त्रिशूली गंगा बग्यो सलल

जन्म दिने आमासित कठै अब भेट कहाँ होला बरिलै

पाटन चर्ने कस्तुरीको मासु चाम्रो चाम्रो

यस्तरी बाँच्नुभन्दा मरिजानु राम्रो बरिलै

‘के र नि फूल लाउने हो

भेट नहुने मायाको केको माया लाग्ने हो।’

वीरेन्द्रनगर-२ की ८० वर्षीया बिस्ना विक (पाङ्कोटी)ले गुनगुनाएको यो गीत तीजको पुरानो भाका हो। तर अहिले यी भाकाहरू हराउँदै गएकोमा उनलाई चिन्ता छ।

‘दुःख सुखका वेदना पोख्ने यो चाडका पुराना भाकाहरू हराउँदै गएका छन्,’ उनी भन्छिन्, ‘गाउँ घरमा अहिले कतै यी भाकाहरू सुनिँदैनन्।’

दैलेख दुल्लु नगरपालिका–९, गमौडीकी ७८ वर्षीया जमुना थापा पनि पुराना तीज गित गाउँदा र सुनाउँदा आँखा भरिएर आउने बताउँछिन्।

सानो उमेरमा विवाह गर्नुपर्ने, झन् माइत जान नपाउँदा माइतीको सम्झनामा गाइने गीत उनले यसरी सुनाइन्।

‘शिर लाउने शिरफूल बाकसैमा राखेको

उगारी हेर्दा छैन बरिलै

बार र बस्रौँमा भैइया लिन आएको

शिरलाउने शिरफूल छैन बरिलै

शिरै लाउने शिरफुल पसलैमा किनौँला

हिँड मेरो दिदै भान्जा बोकेर

चौतारीमा बसौली भान्जा काखा हालौली

म त जाउँला मेरो दिदै शिरफूल किनन्।

यो गीत गाउँदा उनलाई पुराना दिनहरू याद आउँछन् रे। ‘गाउँका सबै दिदिबहिनी, दाजुभाइ तथा आमाबुबा एकै ठाउँमा जम्मा भएर हार्मोनियम, तबला, मादल, खाकल र मजुरा बजाएर निकै रमाइलो गरिन्थ्यो,’ उनले भनिन्।

उनले आफन्तका घरमा आलोपालो गरी बोलाउने र मीठोमीठो खानुका साथै नाचगान गरी रमाउने गरेको बताइन्। ‘पहिले तीजका गीतमा निकै वेदना भरिएको हुन्थ्यो, कसैले केही भाका निकाल्यो भने आफ्नो दिनचर्यामा मिल्दोजुल्दो हुने भएकाले गाउँदागाउँदै रोएको थाहा हुन्थेन,’ उनी भन्छिन्, ‘अहिलेका तीज गीत मकैको फुला उठेझैँ हुन्छन्, के हो बुझ्न सकिन्न।’

प्रकाशित: १ असोज २०८० १८:४५ | Monday, September 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast