काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।
साथै नेपालमा हाल भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा चट्यांगसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेश प्रदेशका एक/दुई स्थानमा चट्यांगसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा चट्यांगसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
आज राति भने बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक/दुई स्थानमा चट्यांगसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।