पोखरा- कास्कीको माउन्ट अन्नपूर्ण क्याम्पसले विगतमा व्यवस्थापनतर्फको स्नातकमा बीबीएस कार्यक्रम सञ्चालन गर्दै आएकोमा अहिले बन्द गरेको छ। माछापुच्छ्रे कलेजमा पनि स्नातक तहको पढाइ छैन। भरतपोखरीको सरस्वती टीका क्याम्पसले दुई वर्षसम्म बन्द गरेर चालु शैक्षिक सत्रदेखि स्नातकमा पढाइ सुरु गरेको छ।
यी त केही उदाहरण मात्र हुन्। कतिपय क्याम्पसमा अहिले स्नातक तहको मानविकी संकायमा पढाइ नै हुँदैन। कक्षा १२ सक्नेबित्तिकै बिदेसिनेको लर्कोले मानविकीमा मात्र नभई विभिन्न संकायमा विद्यार्थी संख्या घट्दो छ।
पृथ्वीनारायण क्याम्पस (पीएन) मा भने १२ हजार हाराहारी विद्यार्थी छन्। यस क्षेत्रकै सबैभन्दा पुरानो (पीएन) ले आइतबार (१७ भदौ) स्थापनाको ६४ औँ वार्षिकोत्सव मनाएको छ। यो नेपालमै सबैभन्दा धेरै विद्यार्थी पढाउने क्याम्पसमा पर्दछ।
‘गत वर्षभन्दा यस वर्ष चार/पाँच सय जति विद्यार्थी बढेका छन्,’ क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइराला भन्छन्, ‘नेपालमै सबैभन्दा धेरै विद्यार्थी पढ्ने हाम्रो कलेजमा प्रायः १२ हजार हाराहारीमा विद्यार्थी छन्।’
विद्यार्थी भर्ना हुने र पास आउट हुने क्रम सधैँ हुने गरेकाले ठ्याक्कै यति नै विद्यार्थी छन् भन्ने यकिन नभए पनि कुनै संकायमा घटेका होलान्, कुनैमा बढेका होलान् तर समग्रमा १२ हजार नघटेको प्रस्ट पार्छन् उनी। कोइराका अनुसार यीमध्ये सबैभन्दा बढी स्नातक तहमा छन्।
पीएन क्याम्पसमा पाँच संकायमा ३४ विषयमा पढाइ हुन्छ। बीए, बीबीएस, बीएडजस्ता शैक्षिक कार्यक्रममा परीक्षा फर्म भर्ने बेलासम्म भर्ना लिइन्छ। एमए तथा विशेष शैक्षिक कार्यक्रममा भने कोटाअनुसार विद्यार्थी भर्ना हुन्छन्। जस्तो- चारबर्से बीएस्सी सीएसआईटी (७२ सिट), बीए एलएलबी (७० सिट) र बीबीए (९९ सिट) को लागि प्रवेश परीक्षामार्फत विद्यार्थी भर्ना गरिन्छ।
सेती नदी किनारमा अवस्थित ७ सय १५ रोपनीमा फैलिएको विश्वविद्यालय उन्मुख पृथ्वीनारायणमा टिचिङतर्फ ४ सय ७६ र नन-टिचिङ ९४ जना गरी ५ सय ७० कर्मचारी छन्।
पोखरा विश्वविद्यालयमा घट्दैछन् विद्यार्थी
गण्डकी प्रदेश राजधानी पोखरामा पोखरा विश्वविद्यालय र गण्डकी विश्वविद्यालयको केन्द्रीय कार्यालय छ। कास्कीमा विभिन्न विश्वविद्यालयअन्तर्गत ५ आंगिक, १५ सामुदायिक र ५ निजी कलेज सञ्चालित छन्।
पोखरा विश्वविद्यालयले ४ संकायमा ६४ वटा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ। यहाँ फ्याकल्टी अफ साइन्स एन्ड टेक्नोलोजी, फ्याकल्टी आफ हेल्थ साइन्स, फ्याकल्टी अफ म्यानेजमेन्ट र फ्याकल्टी अफ ह्युमेनिटिज एन्ड सोसियल साइन्स संकायमा पढाइ हुन्छ। परीक्षा नियन्त्रक तुलसीराम भण्डारीले पहिलेभन्दा अहिले विद्यार्थी चाप घटेको बताउँछन्।
पोखरा विश्वविद्यालयका आंगिक क्याम्पसमा विद्यार्थी घटेका हुन्। प्राविधिक विषयतर्फ ५० प्रतिशतभन्दा कम प्रतिस्पर्धीले फाराम भर्ने गरेका छन्। हालै सिभिल इन्जिनियरिङमा ९६ सिटका लागि भर्ना लिने गरेकोमा पहिले २ हजारमाथि प्रतिस्पर्धी आउने गरेकोमा अहिले ८ सयबाटै छनोट गर्नुपर्ने अवस्था आएको थियो ।
पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक तुलसी भण्डारीका अनुसार पोखरा विश्वविद्यालयका ३७ हजार ६ सय ४५ विद्यार्थी छन्। कोटाअनुसार विद्यार्थी संख्या घटेको तर विषय तथा सेक्सन थप गर्दा समग्रमा भने विद्यार्थी बढेको उनी बताउँछन्। अघिल्लो पटक ३५ हजार जति विद्यार्थी थिए।
गण्डकी विश्वविद्यालयका केही विषयमा आकर्षण बढी
३ वर्ष अघिमात्र खुलेको गण्डकी विश्वविद्यालयले ब्याचलर इन इन्फरमेसन टेक्नोलोजी (बीआईटी), बीबीए, बीए एलएलबी, ब्याचर इन स्पोर्टस् म्यानेज्मेन्ट र रवि फार्मा गरी ५ संकायमा पढाउँछ। हाल यहाँ कुल ३ सय जना विद्यार्थी छन्। यहाँ बीए एलएलबी र बीआईटीमा विद्यार्थीको आकर्षण बढेको छ।
प्रवेश परीक्षाका लागि आवश्यकताभन्दा दोब्बर बढी विद्यार्थीले फाराम भरिसकेको विश्वविद्यालयले जनाएको छ।
‘गुणस्तरीय सिकाइ वातावरण भएमा विद्यार्थी बाहिर जाँदैनन्’
नेपाल पब्लिक संघका केन्द्रीय सल्लाहकार बिरञ्जी गौतम भने कलेजमा विद्यार्थी संख्या घट्नु र बिदेसिनेको आकर्षणबारे फरक तर्क राख्छन्। उनी भन्छन्, ‘विद्यार्थी विदेश पढ्न गएका हैनन्, काम गर्न गएका हुन्। मुलुकमै रोजगारीको अवसर मिलेमा उनीहरू बाहिर जाँदैनन्। त्यसका लागि सरकारले नीति ल्याउन सक्नुपर्छ।’
गौतम क्याम्पस प्रमुख रहेको पोखराको कालिका बहुमुखीमा भने गत वर्षभन्दा यो शैक्षिक सत्रमा करिब ४ सय विद्यार्थी बढी भर्ना भए। कक्षा १२ कक्षादेखि स्नातकोत्तर तहसम्म पढाइ हुने कालिकामा यसपालि विद्यार्थी संख्या बढेर १ हजार ४ सय ७५ पुगेको गौतम सुनाउँछन्।
कलेजमा कसरी विद्यार्थी बढे त? भन्ने प्रश्नमा उनले गुणस्तरीय सिकाइ वातावरण भएको दाबी गर्छन्। यो कलेज २०४८ सालमा स्थापना भएको हो। विश्वविद्यालय अनुदान आयोगले देशभरका निजी, सामुदायिक तथा सरकारी क्याम्पसमध्ये १८ कलेजलाई इन्टरप्रेनरसिप सपोर्ट कार्यक्रमअन्तर्गत छनोट गरेकोमा कालिका पनि एक हो।
सफ्टवेयर इन्जिनियरिङको पहिलो कलेज
अहिलेको युग सूचना प्रविधिको युग हो। हरेक विषयमा सफ्टवेयरको महत्त्व छ। यही महत्त्व बुझेर नेपालमै चर्चित गण्डकी बोर्डिङको भगिनी संस्थाका रूपमा गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्स (जीसीईएस) मा २५ वर्षअघि कम्प्युटर साइन्स पढाइ सुरु भएको थियो।
नेपालमै पहिलोपल्ट सन् २००२ मा सफ्टवेयर इन्जिनियरिङ पढाउन सुरु गरेको प्रिन्सिपल वीरेन्द्र खड्का बताउँछन्। उनका अनुसार कलेजले १२ पास गरेका विद्यार्थीलाई लक्षित गरी ब्याचर लेवलमा सफ्टवेयर इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङमा गरी ४८/४८ सिटमा भर्ना खुलाएको छ। पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेजमा मास्टर्समा इन्फरमेसन सिस्टम इन्जिनियरिङको पढाइ पनि हुन्छ।
शैक्षिक गुठीअन्तर्गत पढाइ हुने कलेजमा ब्याचलरतर्फ चारबर्से कोर्स पूरा गर्न झण्डै ८ लाख रुपैयाँ लाग्ने कलेजले जनाएको छ। जीसीईएस सफ्टवेयर इन्जिनियरिङतर्फ पायोनियर कलेज पनि भएकाले देशभरका विद्यार्थी यहाँ प्रवेश परीक्षाका लागि आउँछन्।
पोखरा विश्वविद्यालयका उपप्राध्यापक मणिप्रसाद डुम्रे केही प्राविधिक विषयबाहेक समग्रमा नेपालको उच्चशिक्षाको व्यवस्थाप्रति विद्यार्थी निराश रहेको विचार व्यक्त गर्छन्। ‘केही टेक्निकल विषयहरुमा भन्दा बाहेक समग्रमा नेपालको उच्च शिक्षामा भरोसा छैन,’ उनी भन्छन्, ‘पढिसकेपछि यहाँ जागिरको लागि गर्नुपर्ने संघर्ष, जागिर पछाडि हुने कमाइ, परिवार धान्न तथा शिक्षामा गरेको लगानी उठाउन गाह्रो छ।’ नेपालमै टेक्निकल विषय पढिसकेर वा पीएचडी नै गरे पनि भोलि अवसरका लागि विदेश जानुपर्ने अवस्था देखेपछि अहिले नै किन नजाने? भनी अधिकांश विद्यार्थी कक्षा १२ सक्नेबित्तिकै अवसरको लागि विदेश हान्निने गरेको उनको बुझाइ छ।
‘शैक्षिक कार्यतालिका लागु हुन नसक्नु मुख्य समस्या’
नेपालका विश्वविद्यालयमा शैक्षिक कार्यतालिका लागू नहुनु मुख्य समस्या हो। कहिले भर्ना, कहिले पढाइ, कहिले परीक्षा र रिजल्ट हुने? भन्ने यकिन छैन। मुलुक संघीयतामा प्रवेश गरेको पनि ६ वर्ष भइसकेको छ। अब नयाँ ढंगले जानुपर्छ। विद्यार्थीलाई स्वदेशमै राख्ने गरी नयाँ नयाँ कार्यक्रम ल्याउन सक्नुपर्छ।
विद्यार्थीलाई दलका नेताहरूले राजनीतिक हतियार बनाउनु हुँदैन। यसले गर्दा धेरै कुरा बिग्रेको छ। नेपालमा हातमुख जोड्ने शिक्षा अगाडि बढाउन आवश्यक छ। समय क्रमअनुसार शिक्षा नीतिमै परिवर्तन आवश्यक छ।