कोणसभासहित सकियो इटहरीमा सद्‍भाव र्‍याली

विवेक विवश रेग्मी ९ भदौ २०८० १६:२८
46
SHARES
कोणसभासहित सकियो इटहरीमा सद्‍भाव र्‍याली

इटहरी- धरानमा गोवध प्रकरणको विरोध गर्दै शनिबार निकालिएको सद्भाव र्‍याली कोणसभा गर्दै सकिएको छ। शनिबार बिहान करिब ९ बजेदेखि इटहरीमा भेला भएर हिन्दुवादीहरूले प्रदर्शन गरेका थिए।

धरानमा केही साताअघि गोरु काटेर सामूहिक भोज गरिएको भनेर दाबी गरिएको भिडियो सामाजिक सञ्जालमा फैलिएपछि हिन्दुवादीहरूले सद्भाव र्‍याली निकालेका हुन्। र्‍यालीका कारण हुने सम्भावित जोखिमलाई दृष्टगत गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले शनिबार धरानमा निषेधाज्ञा गरेको थियो।

शनिबार बिहानैदेखि धरान प्रवेश गर्ने विभिन्न नाकामा प्रहरीको बाक्लो उपस्थिति बनाइएको थियो। जसकारण प्रदर्शनमा उत्रिएकाहरू धरान जानबाट बञ्चित भएका थिए। उनीहरूले इटहरी २० स्थित पानीपिया क्षेत्रमा कोणसभा गर्दै र्‍याली समापन गरेका छन्।

यद्यपि, यो सद्‍भाव र्‍याली अब दैनिक जारी रहने उनीहरूले बताएका छन्। कोणसभामा बोल्दै प्रथम जगतगुरु बालसन्त मोहनशरण देवनाचार्यले प्रशासनले निषेधाज्ञा गर्नुले सरकार डराएको दाबी गरे। ‘हाम्रो शान्तिपूर्ण र्‍याली थियो, तर प्रशासनले निषेधाज्ञा गर्नुले सिंगो सरकार नै डराएको अनुभूत गरेका छौँ,’ उनले भने, ‘हाम्रा दबाबमूलक कार्यक्रम निरन्तर रहिरहन्छ, यो सुरुवात मात्रै हो।’
उनले आफूहरूले हरेक तवरबाट शान्तिपूर्ण र अहिंसासहितको आन्दोलन जारी राख्ने बताए।

कोणसभामा राधिका दासीले यो आन्दोलनको सुरुवात मात्रै भएको बताइन्। ‘हामीले शान्तिपूर्ण र्‍याली निकाल्दा नेपाल सरकारले कर्फ्यु लगाउनुपर्छ भने क्रान्ति र्‍याली गर्दा कस्तो अवस्था आउँछ,’ उनले भनिन्, ‘आज धरान जान बन्देज लगाउनुले सनातनमाथिको प्रहार हो, यो आन्दोलन रोकिँदैन। अब भोलिदेखि ७७ वटै जिल्लामा यो आन्दोलनको अर्को दिन सुरुवात हुन्छ।’
उनले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराउने बताइन्।

कार्यक्रममा प्रकाश सुब्बाले सद्भाव र्‍याली राज्यले नै विथोलेको बताए। ‘धरानमा केही घटना नै भएको छैन भनेर जसरी प्रचार गरिएको छ यो आश्चर्यजनक हो,’ सुब्बाले भने, ‘धरानमा गाईगोरु काट्नुले संविधानको उल्लंघन भएको छ, धरान धार्मिक पर्यटकीय हिसाबले अब्बल मानिन्छ। तर, यहाँको गतिविधिका कारण धार्मिक पर्यटकहरू आउने अवस्था रहेन, यसले धरानलाई ठूलो क्षति हुँदैछ।’

उनले धार्मिक पर्यटक धरान आउन बञ्चित हुँदा व्यापार घाटा भइरहेको बताए। कार्यक्रममा रामकृष्ण उपाध्यायले हिंसाले कसैलाई कहीँ नपुर्‍याउने तर्क गरे। उनले किराँत धर्मगुरु तथा ज्योतिर्बिद डा.चन्द्रकुमार शर्माको उदाहरण दिँदै हिंसा कुनै धर्ममा पनि उल्लेख रहेको बताए। कोणसभामा विभिन्न ठाउँका १ हजार बढीको सहभागी थियो। कतिपय भने प्रशासनको निषेधाज्ञाका कारण बाटोमै अलपत्रसमेत परेका थिए।

प्रकाशित: ९ भदौ २०८० १६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 4 =