कालीगण्डकी गाउँपालिकामा एक दिन केराका परिकार अनिवार्य

हिमाल प्रेस २ भदौ २०८० ६:५८ | Saturday, August 19, 2023
कालीगण्डकी गाउँपालिकामा एक दिन केराका परिकार अनिवार्य

स्याङ्जा- स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले हप्ताको एक दिन केराको फलबाट बनेका परिकार अनिवार्य गरेको छ।

गाउँपालिकाले प्रत्येक हप्ताको बुधबार गाउँपालिकाको कार्यालय, कालीगण्डकी अस्पताल, वडा कार्यालय र विद्यालयमा रहेका चमेना गृहमा केराबाट बनेका परिकार प्रयोगलाई अनिवार्य गरेको गाउँपालिकाका अध्यक्षखिम बहादुर थापाले जानकारी दिए।

गाउँपालिकाले दिएको तालिम लिएपछि यहाँका किसानले केराको खेरा जाने कच्चा पदार्थबाट हस्तकलाका सामग्री बनाउँदै आएका छन्। उनले उत्पादित केराको खपत पालिकाभित्रै गर्ने, उपभोक्ताका रूपमा पालिकाभित्रकै नागरिकलाई प्राथामिकता दिने उद्देश्यसहित पालिकाले यस्तो निर्णय गरेको जानकारी दिए।

‘गाउँपालिकाको निर्णय सबैका लागि स्वरोजगारको माध्यम बन्ने छ’, उनले भने। गत साउन ३२ गतेको पालिकाको निर्णय अनुसार केरा खेतीको प्रोत्साहन र कृषकको बजारको सहज पहुँचका लागि यो निर्णय गरिएको उनको भनाइ छ। थापाले केरा खेती गर्ने कृषकलाई यो निर्णयले उत्प्रेरणा र सहजीकरण गर्ने बताए।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले भदौको पहिलो बुधबारदेखि यो कार्यक्रम तोकिएका स्थानमा लागू गरिने जानकारी दिए। उनले सम्बन्धित कार्यालयलाई हरेक बुधबार केराका परिकार खुवाउनुपर्ने परिपत्र बठाइएको बताए।

पाण्डेले पहिलो चरणमा केराको सेल रोटी, पकौडा, आचार, चुकौनी, ससेजलगायतका परिकार बन्ने बताए।

‘आउने बुधबारदेखि गाउँपालिका र कालीगण्डकी अस्पतालको चमेना गृहबाट सुरुआत गर्नेछौँ, क्रमशः वडा कार्यालयमा, विद्यालयमा र विद्यालयमा संचालित दिवाखाजा कार्यक्रममा समेत यसलाई समेट्ने छौँ’, उनले भने, ‘हामीले पालिकाभित्रका सम्पूर्ण होटल, खाजाघर, घरवासलगायतका भान्सेलाई यससम्बन्धी तालिम दिने योजना बनाएका छौँ, त्यस पश्चात अझ धेरै केराका परिकार बन्ने छन्।’

गाउँपालिकाले केराजन्य कच्चा पदार्थबाट जुस र हस्तकलाका सामग्री बनाएर रोजगार दिने योजना अगाडि बढाएको छ । यसअघि ‘एक घर एक रोजगार’ सिर्जना गर्ने उद्देश्यसहित पालिकाभित्रका नागरिकलाई हस्तकलाका सामग्री बनाउन तालिम दिइएको थियो ।

 

प्रकाशित: २ भदौ २०८० ६:५८ | Saturday, August 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast