काठमाडौँ- अविरल वर्षापछि आएको पहिरोमा पुरिँदा स्याङ्जामा एकजनाको मृत्यु भएको छ। पहिरोले गोठ पुरिँदा दुई चौपायामा समेत क्षति पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिहीबार बिहान गल्याङ नगरपालिका–६ बनपालेका ६५ वर्षीय धनबहादुर थापा आफ्नै गोठमा काम गरिरहेका बेला माथिबाट अचानक पहिरो खसेको थियो । ढुंगामाटोले बनेको खरले छाएको एकतले कच्ची गोठमाथि पहिरो खस्दा थापा गोठसहित पुरिएका थिए ।
प्रहरी बिहान नै घटनास्थल पुगेपछि स्थानीयवासीसँग मिलेर पहिरो पन्छाउने काम सुरु गरेको थियो । उद्धारका क्रममा धनबहादुर थापा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए।
पहिरोले गोठमा बाँधिएको एक भैंसी पनि मरेको छ । त्यस्तै एउटा बंगुर घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।लगातारको वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढेकाले सतर्क रहन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।


