फाइल तस्बिर
काठमाडौँ- नेकपा माओवादी केन्द्रले आगामी फागुन-चैतमा विशेष महाधिवेशन गर्ने तयारी गरेको छ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको बैठकबाट केन्द्रीय कमिटीको बैठकमा विशेष महाधिवेशन आउँदो फागुन-चैत महिनामा गर्नेबारे प्रस्ताव लैजाने निर्णय गरिएको एक नेताले बताए।
अन्य पार्टीसँग एकता गर्ने माओवादीको तयारी छ। एकतापछि पार्टीलाई चलायमान बनाउनका लागि यही वर्ष महाधिवेशन गरेर जाने माओवादीको तयारी छ।
माओवादी नेतृत्वका अनुसार अहिले पार्टी चलायमान नभएको र कार्यकर्तासम्म पार्टीका कार्यक्रम पुर्याउन नसकिएको गुनासो छ। केन्द्रले खटाएका स्थानमा नेताहरू परिचालित नहुने र पार्टी कार्यक्रम ठप्प हुने स्थिति माओवादीमा आएको निष्कर्ष छ।
‘विप्लवजी र बाबुरामजीसँग पनि एकता गर्ने र नयाँ संरचना बनाएर जाने विषयमा छलफल भइरहेको छ।’ माओवादीका एक नेताले भने,‘अहिलेको पार्टी संरचनाबाट पार्टी चल्न सकेन। नयाँ केही गर्नुपर्ने देखियो।’
माओवादी केन्द्रले आगामी मंसिरमा विधान सम्मेलन गर्ने भएको छ। माओवादीको विधान संशोधन गर्नेगरी अघि बढ्नका लागि विधान सम्मेलनको तयारी गरिएको हो।
सोमबार बिहान बसेको पदाधिकारी बैठकले साउन १७ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्दै सो निर्णय गरेको हो।
यस्तै पदाधिकारी बैठकले नेताहरुको कार्यविभाजन प्रस्ताव पनि तय गरेको छ। जसअनुसार देशभरका सबै पालिकाका वडा तहसम्म पुग्न तीनमहिने कार्यक्रम पनि तय गरिएको छ।
आउँदो १७ साउनबाट केन्द्रीय समिति बैठक तोकेको छ। बैठकमा समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल हुनेछ। चुनावी समीक्षा, सरकारको अवस्था र आगामी दिनका विषयमा छलफल हुने एजेन्डा छन्।




