समयमै कर्मचारी उपस्थित नभएको गुनासोपछि मन्त्री माेदी किताबखानाको अनुगमनमा

हिमाल प्रेस ४ साउन २०८० १६:४५
14
SHARES
समयमै कर्मचारी उपस्थित नभएको गुनासोपछि मन्त्री माेदी किताबखानाको अनुगमनमा

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राष्ट्रिय (निजामति) किताबखानाको अनुगमन गरेका छन्। कार्यालय समयमा कर्मचारी उपस्थित नभएको गुनासो बढेपछि मन्त्री मोदीले बिहीबार किताबखानाको अनुगमन गरेका हुन्।

सो क्रममा उनले किताबखानामा सेवाग्राहीका रूपमा आउने कर्मचारीलाई पनि विभेदरहित ढंगले सेवा प्रवाह गर्न निर्देशन दिए। उनले सेवा वितरणमा विभेद गर्ने र जनतालाई दुःख दिने कर्मचारीलाई कारबाही गर्ने चेतावनी पनि दिए। ‘सेवाग्राहीका रूपमा आउने सरकारी कर्मचारीलाई समेत विभेदरहित ढंगले सेवा प्रवाह गर्नुपर्छ,’ मन्त्री मोदीले भने, ‘सेवा वितरणमा विभेद गर्नेलाई कारबाही हुन्छ।’

अनुगमनका क्रममा मन्त्री मोदीले सेवाग्राहीका रूपमा किताबखानामा आएका कर्मचारीलाई सेवा वितरणमा गुनासो भए त्यसको जानकारी आफूलाई गराउन पनि निर्देशन दिए। कर्मचारी समयमै कार्यालयमा नआउने र पूरा समय कार्यालयमा नबस्ने गुनासो आएको स्मरण गराउँदै मन्त्री मोदीले पूरा समय काममा खटिन कर्मचारीलाई निर्देशन दिए।

सहरमा र सुविधायुक्त ठाउँमा मात्र रहेका कर्मचारीलाई आलोपालो दुर्गम क्षेत्रमा पनि सरुवा गरिने उनको भनाइ थियो। यसअघि मन्त्री मोदीले मन्त्रालयका सचिवलगायत कर्मचारीको पनि हाजिरी अनुगमन गरेका थिए।

किताबखानाका महानिर्देशक डा. टोकराज पाण्डेले मन्त्री मोदीलाई किताबखानाबाट धेरैजसो सेवाहरू अनलाइनमा वितरण हुने गरेको र आफ्नै भवन नहुँदा सेवा प्रवाह जटिल भएको जानकारी गराए। किताबखानाले निजामती कर्मचारीको सिटरोल दर्ता, व्यक्तिगत विवरण अद्यावधिक, पेन्सनपट्टा बनाउने र सम्पत्ति विवरण लिने काम गर्दै आएको छ।

प्रकाशित: ४ साउन २०८० १६:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast